दाहाल–नेपालको शक्ति प्रदर्शन

दाहाल–नेपालको शक्ति प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ। पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत दाहाल–नेपाल समूहले मंगलबार काठमाडौंसहित देशका ७७ वटै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गरेको छ।

उक्त समूहले उपत्यका र आसपासका जिल्लाबाट हजारौंको उपस्थिति गराएर काठमाडौं भृकुटीमण्डपमा विरोधसभा गरे। समूहका शीर्ष नेताहरूले उक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधानको हत्या गरेकाले’ संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ फेरि आन्दोलनमा उत्रनुपरेको बताए। प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक स्थिरता, जनादेश एवं जनभावनाविपरीतको स्वेच्छाचारी कदम रहेको उनीहरूको भनाइ थियो। उनीहरूले यसविरुद्ध सडकबाटै जनताको बलमा सरकारको कदम सच्याइछाडने उद्घोष गरे।

काठमाडौंको सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेका थिए। उनीहरूले ओलीले संविधानमा हँुदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको र चुनाव गराउने नियत त्यसभित्र नरहेको आरोप लगाए। उनीहरूले जनताको सार्वभौम अधिकार अपहरण भएका बेला टुलुटुलु हेरर बस्न नसकिने भएकाले कठोर संघर्षमा उत्रिएको बताए।

यो समूहका नेताहरूले बुधबार काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको छलफलबाट अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन्। ‘बुधबार नै हामी काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठक पेरिसडाँडामा बस्नेछौं, त्यसपछि थप संघर्षको कार्यक्रम घोषणा गरेर आउनेछौं,’ स्थायी समिति सदस्य योगेश भट्टराईले भने।

यो समूहले आन्दोलन परिचालन गर्न केन्द्रीय समिति बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन गरेको थियो। समितिका सहसंयोजकमा नेता भट्टराई छन्।

वैशाखउता ओली प्रधानमन्त्री रहनुहुन्न : दाहाल

अध्यक्ष दाहालले आउने वैशाखदेखि ओली प्रधानमन्त्री नरहने र उनको राजनीति पनि पत्तासाफ हुने चेतावनी दिए। ‘हुँदाखाँदाको बहुमत छाडेर यस्तो दुर्घटना गर्नेले चुनाव गराउँछन् ? कोही पनि भ्रममा नपरे हुन्छ, यो हुनेवाला चुनाव घोषणा भएकै होइन। केपी ओलीलाई कसैले गोटी बनाएका छन् भन्ने मलाई लाग्छ, उहाँ त्यस्तै हो। गोटी भएको हो’, दाहालले भने, ‘वैशाखउता उहाँ प्रधानमन्त्री पनि रहनुहुन्न। नेपालको राजनीतिक इतिहासबाट पत्तासाफ हुनेवाला छ।’

ओलीले संविधानमाथि निर्मम प्रहार गरेकाले जनतासँगै आन्दोलनमा आउनुपरेको दाहालको भनाइ थियो। उनले ओलीमा अझै अग्रगमन, परिवर्तनका एजेन्डा संस्थागत गर्ने सन्दर्भमा कुनै चिन्तन नदेखिएको र ओलीको चरित्रलाई चिन्न नसकिएको भन्दै जनतासँग क्षमायाचनासमेत गरेका थिए। 

‘केपी ओली गणतन्त्रवादी आन्दोलनको पक्षमा हुनुहुन्नथ्यो। मलाई थाहा थियो, उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो। आमनेपाली जनतालाई थाहा थियो, उहाँको सिद्धान्त माक्र्सवाद, लेनिनवाद र गणतन्त्रको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त थियो। उहाँ बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्नुहुन्थ्यो। उहाँ संघीयताविरोधी हो भन्ने थाहा थियो, धर्मनिरपेक्षताको विरोधी भन्ने पनि थाहा थियो। तर, उहाँ भन्ने गर्नुहुन्थ्यो अब आँधी आयो, हुरी आयो मैले पनि मान्दिएँ। मैले त्यसलाई विश्वास गरेको थिएँ’, दाहालले भने, ‘तर, आज घटनाक्रमले के पुष्टि गर्‍यो भने उहाँ अझै वयलगाडामै हुनुहुन्छ। ओलीजी हिजैको गणतन्त्रविरोधी, संघीयताविरोधी, धर्मनिरपेक्षताविरोधी, समावेशी र समानुपातिक सिद्धान्तका विपरीत प्रतिगमनकारी ठाउँमै हुनुहुन्छ। मैले उहाँ सच्चिनुभयो होला भन्ठानें।  प्रतिगमनविरोधी आन्दोलनमा सहभागी भइरहँदा मलाई थोरै अप्ठ्यारो महसुस भएको छ। म तपाईहरूसँग क्षमा माग्छु, हामीले केपी ओलीलाई चिन्न सकेका रहेनछौं।’

प्रधानमन्त्री र कम्युनिस्ट पार्टीको अध्यक्षसमेत रहेको व्यक्तिले संविधानमाथि यति निर्मम प्रहार यसरी गर्लान् भन्ने आफूले सपनामा पनि नसोचेको उनको भनाइ थियो। ‘उहाँ (प्रधानमन्त्री)ले भन्ने गरेको लोकतन्त्र पनि कति निरंकुश खालको रहेछ भन्ने अहिले प्रतिनिधिसभा जसरी विघटनको सिफारिस गर्नुभयो, जसरी त्यसलाई घोषणा गरियो, त्यसबाट उहाँ लोकतन्त्रवादी होइन, निरंकुशवादी तानाशाह हो। जसले यो देशलाई भड्खालोमा हाल्न चाहेको छ भन्ने प्रमाणित भएको छ’, उनले भने। आफ्नो कमजोरी र गल्तीको पश्चाताप गरेर आफ्नो कदम सच्याउने हिम्मत नगरेसम्म जनताले ओलीलाई माफी नदिने उनको भनाइ थियो। 

उनले अहिले सुरु गरेको आन्दोलन टेलर मात्र भएको बताए। ‘यो आन्दोलन होइन, आन्दोलनको टेलर मात्र हो, यो भत्केउरो आएको मात्र हो, जन्ती आउन बाँकी नै छ। बाजा बज्नै बाँकी छ। मैले पनि आज के सोचेको छु भने संविधानमाथिको यो निर्मम प्रहारलाई यदि सच्याउने कोसिस गरिएन भने लोकतन्त्रमाथिको यो प्रहारलाई सच्याउने कोसिस गरिएन भने यो भत्केउरो मात्र सावित हुनेछ, भोलि आँधी हुरी आउनेछ,’ उनले भने, ‘ जनताले छोड्ने छैनन्। म खबरदारी गर्न चाहन्छु प्रतिगमनका पक्षपातीलाई। समयमा गल्ती सच्याउँदा जनताले क्षमा दिन सक्छन्।’

उनले आफूलाई सडकमा जनताको साथमा पुग्ने बाटो दिएको भन्दै पटक–पटक ओलीलाई धन्यवादसमेत दिए। ‘सडकमा जनताको छोरा बनाएर मलाई पठाइदिनुभयो धन्यवाद भन्छु केपी ओलीलाई। सरकारमा रहेर कता–कता बिग्रिएलाजस्तो। हात्ती र हात्तीछाप उस्तै–उस्तै भनेजस्तो भइरहेका बेला म फेरि जनताको छोराका रूपमा जनतासँगै हिँड्ने, चिसो भुइँमा बसिदिएपछि मलाई गर्व भयो’, उनले भने, ‘मौका दिनुभयो केपी ओलीले।’

प्रधानमन्त्रीले सनकका भरमा प्रतिनिधिसभा भंग गर्दैमा, चुनाव घोषणा गर्दैमा १२ सय व्यक्तिलाई केन्द्रीय सदस्य भनेर घोषणा गर्दैमा त्यसले कुनै काम नगर्ने दाहालले बताए। उनले चुनाव हुनै नसक्ने दाबी गर्दै कसैले कम्युनिस्ट विभाजन भएका वेला हुने चुनावमा आफूले जित्ने भनेर चुनावको दिवास्वप्न देखेको छ भने त्यस्तो सपना नदेख्न पनि आग्रह गरे। 

‘कतिपय मानिसलाई कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा हामीले चुनाव जितिहालिन्छ नि भनेर सपना देख्न खोजेको पनि सुनियो। म ती साथीहरूलाई भन्छु, त्यस्तो सपना नदेख्नु, त्यो दिवास्वप्न हो। यो हुनेवाला चुनावको घोषणा भएकै होइन’, दाहालले भने, ‘यति तथ्य भन्दाभन्दै पनि भ्रममा परियो भने हामी बर्बाद हुन्छौं, नेपाल बर्बाद हुन्छ। यो चुनाव गराउनलाई घोषणा भएकै होइन। स्वयं केपी ओलीलाई पनि भरोसा छैन। अस्ति भएका कुरा मैले थाहा पाइसकेको छु। चुनाव त्यतिबेला हुँदैन, जबर्जस्ती लादियो भन्ने छ उहाँहरूको योजना। म साथीहरूलाई भ्रममा नलाग्न आग्रह गर्छु।’

पुनःस्थापनामा लाग्ने हो भने सबै कुरा बिर्सन तयार : नेपाल

अर्का अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गरेर ओलीले ‘आफ्नो आयु सक्काएको’ जिकिर गरे। ‘मैले अहिले ०६२ मंसिर ५ मा शाही शासनविरुद्ध गणतन्त्र स्थापनाका लागि बुटवलमा निस्किएको आन्दोलनमा गरेको सम्बोधन सम्झिरहेको छु। त्यसवेला भनेको थिएँ– ‘अब राजतन्त्रको आयु पुग्यो’, नेपालले भने, ‘आज म भन्न चाहन्छु– निरंकुश बाटो समात्नुभएका केपी ओली एन्ड प्रवृत्तिको पनि आयु पुग्यो।’

नेपालले ओलीसँग कम्युनिस्टमा, लोकतन्त्रवादीमा हुनुपर्ने गुण र आचरण केही पनि नरहेको आरोप लगाए। ‘ओलीले जुन तरिकाले प्रतिनिधिसभा विघटन गर्नुभयो के त्यो आवश्यक थियो ? उहाँ जुन पार्टीमा हुनुहुन्छ, त्यो पार्टीको कुनै कमिटीमा यसबारे छलफल, सहमति भएको थियो ? प्रधानमन्त्रीले पार्टीभन्दा अलग ढंगले स्वेच्छाचारी तरिकाले काम गर्न पाइन्छ ? बहुदलीय प्रणाली भनेको के हो ? पार्टी प्रणाली भनेको के हो ? पार्टी अनुशासन भनेको के हो ? विधि–पद्धति भनेको के हो ?’, उनले भने, ‘केपी ओलीलाई पार्टीसँग, पार्टी अनुशासनसँग कुनै मतलब छैन। पार्टी बैठक, छलफल, सहमति, निर्णयसँग मतलब छैन। उहाँ स्वेच्छाचारी ढंगले चल्न चाहनुहुन्छ।’

ओली सुध्रिने चरित्रको पात्र नै नभएको नेपालको भनाइ थियो। ‘केही–केही साथीलाई केपी कमरेडलाई सुधार्न सकिन्छ कि भन्ने लागेको छ। उहाँहरू अझै प्रयास गरिरहनुभएको छ। मैले त भनेको छु, त्यो प्रयास जारी राख्नुस्। बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निकाल्नुभयो भने स्याबास भनौँला’, नेपालले भने, ‘अझै पनि उहाँले पश्चात्ताप गर्नुहुन्छ, गल्ती स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ, प्रतिनिधिसभा पुनःस्थापनाका लागि अग्रसर हुनुहुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौँ। यी सबै कुराबारे टेबलमा बसेर छलफल गर्न तयार छौँ।’

उनले ०६२÷६३ मा राजतन्त्रले निरंकुश कदम चालेपछि राजतन्त्र फाल्न सडकबाट आन्दोलनको सुनामी सृष्टि गर्नुपरेको स्मरण गरे। अहिले पनि सुनामीका संकेत देखिन थालेको उनको भनाइ थियो। ‘हाम्रो यो लडाइँ एउटा व्यक्तिविरुद्ध होइन, त्यो व्यक्तिमा रहेको व्यक्तिवाद, अहंकारविरुद्धको लडाइँ हो। यस्तो प्रवृत्तिलाई हाम्रो देशका कुनै पनि जनसमुदाय, संघसंस्था, निकायले साथ दिने छैनन्’, उनले भने।

उनले प्रधानमन्त्री ओली कामचलाउ सरकारका रूपमा पुगिसके पनि उनले अझै लालच बाँडेर राजनीति गरिरहेको आरोप लगाए। ‘ओली कामचलाउ हुनुभएको छ भन्ने आधिकारिक विज्ञप्ति अहिलेसम्म सार्वजनिक भएको छैन। किनभने, उहाँलाई रहर छ पद बाँड्ने। पदको ललिपप बाँडिरहनुभएको छ। मन्त्री बनाइदिन्छु, भोलि मेयरको टिकट दिन्छु, राजदूत दिन्छु, विभिन्न नियुक्ति दिलाउँछु भन्दै लालच बाँडिरहनुभएको छ’, उनले भने।

उनले वैधानिक नेकपा र सूर्य चिह्न आफूहरूको भएको भन्दै त्यसका लागि के आवश्यक पर्छ, त्यही जाँचेर हेर्न पनि चुनौती दिए। ‘निर्वाचन आयोगलाई सबै पत्र बुझाएर हामीले भनेका छौं– हामी ज्युँदै छौँ। हामीले मुखमा मास्क लगाएका छौँ, बरु मास्क हटाइदिन्छौँ, हाम्रो अनुहारमा शंका छ भने रगतको चाँज गर्नुस्, हामी ज्युँदै छौँ। हामीले भन्यौँ– सूर्य चिह्न अरू कसैको हुन सक्दैन, यो नेकपाको हुनेछ, त्यसको बहुमतको हुनेछ। सय जनाको सेरोफेरोमा जम्मा भएका सानो गुटका मान्छेले तीन–साढे तीन सयको संख्यालाई चुनौती दिने कुनै वैधानिक आधार रहँदैन। नेकपाको नाम कसले लिने हो, सूर्य चिह्न कसको पक्षमा जाने हो भन्ने भ्रम कसैले लिनु जरुरी छैन’, उनले भने।

तीन वर्ष गफै गरेर बित्यो : खनाल

वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा बस्नेले जनादेशमाथि घात गरेको आरोप लगाए। खनालले जनताले दिएको मत नेकपालाई आएको र जित पनि नेकपाको भएको बताए। त्यो विजय ओलीको नभएको उनको भनाइ थियो।

उनले प्रधानमन्त्री ओलीले तीन वर्ष गफै गरेर बिताएको आरोप पनि लगाए। ‘उहाँँले गफै फ्याँकेर ३ वर्ष बिताउनुभयो। पानीजहाजको कुरा गर्नुभयो, खोइ कहाँ आयो पानीजहाज ? घरघरमा ग्यास चुलोको कुरा गर्नुभयो ? उहाँले आफ्नै घरमा लग्नुभयो होला, जनताको घरमा ग्याँस चुलो खोइ ?’, खनालले भने, ‘उखानले मुलुक चल्दैन। तीन वर्षमा मरीचमान, नगेन्द्रप्रसाद रिजालले जति पनि काम गर्नुभएन।’

ओली आफँैले समेत रहेर बनाएको संविधानलाई विश्वासघात गर्ने र प्वाल पार्ने काम गरेको खनालको आरोप थियो। नेकपा मात्रै होइन, नेकपाको सूर्य चिह्न पनि आफूहरूकै भएको जिकिर उनले गरे। देशव्यापी रूपमा प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनको आँधीबेहरी उठाउनुपर्ने उनको भनाइ थियो। ‘बालुवाटार पुगेकै दिनदेखि उहाँले पार्टीलाई बिर्सनुभयो। पार्टीलाई आफू कुर्सीमा पुग्ने भर्‍याङ मात्र बनाउनुभयो। सबै कुरा बिर्सनुभयो। एकलौटी ढंगले चल्न थाल्नुभयो’, उनले भने।

नेत्री अष्टलक्ष्मी शाक्यले केपी ओली ‘कमरेड’ बन्न नसकेको आरोप लगाइन्। ‘केपी कमरेड बन्न सक्नुभएन। निरंकुश शासक बन्नुभयो। सर्वसत्तावादी बन्नुभयो, सर्वसत्तावादी ओलीविरुद्ध अहिले अगाडि बढ्नुपर्ने बेला आएको छ’, शाक्यले भनिन्, ‘जनताको आन्दोलनका अगाडि राजसंस्था त टिक्न सकेन। केपी ओली के टिक्न सक्नुहोला र ?’

प्रवक्ता श्रेष्ठले प्रतिगमनविरोधी आन्दोलन विजयमा नपुग्दासम्म नरोकिने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.