उखु संघर्षमै गयो ज्यान

उखु संघर्षमै गयो ज्यान

तुलसी सुवेदी/उपेन्द्र अर्याल। काठमाडौं,राजकरण महतो।

बर्दिबास : सरकारसँग सोमबार सहमति भए पनि उखु किसान ६४ वर्षीय नारायण राय यादव भुक्तानी नपाइएला कि भनेर ‘चिन्तित’ थिए। यादवले अन्नपूर्ण चिनी मिलबाट झन्डै २४ लाख रुपैयाँ बक्यौता पाएका रहेनछन्। यसपटक आन्दोलनकै बेला १ लाख ६० हजार रुपैयाँ भने पाए। उनै किसान यादवको मंगलबार हृदयाघातका कारण निधन भएको छ।

सर्लाहीको धनकौल–७ छोटवलका यादवको मंगलबार बिहान करिब ९ बजे सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। उनी आन्दोलनमा सहभागी हुन मंसिर ३० गते काठमाडौं आएका थिए। काठमाडौं आएदेखि जोरपाटीस्थित कृष्ण मन्दिरमा बसेका थिए। बिहान आन्दोलन गर्न माइतीघर पुग्थे र बेलुका फर्किन्थे।

तर, मंगलबार एकैचोटि उनी बिरामी परेको खबर गौशालामा बस्ने साथीहरूलाई आएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘मंगलबार बिहान जोरपाटीबाट एक्कासि साथीहरूको फोन आयो– यादवलाई छाती दुखेर गाह्रो भयो’, संरक्षक मिश्रले भने, ‘यहाँबाट केही साथीहरू गयौं।’ उनलाई सुरुमा चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँका डाक्टरले अवस्था अलिक गम्भीर छ भनेर गंगालालमा रेफर गरेका थिए।

मिश्रले गंगालाल पुर्‍याइएको केही समयमै यादवको निधन भएको जानकारी दिए। ‘गंगालालमा पुर्‍याएपछि डाक्टरले हर्ट अट्याक्ट भन्नुभयो’, मिश्रले भने, ‘सुरुमा ठीक हुन्छ भन्नुभएको थियो। तर, उहाँ बित्नुभयो।’

संघर्ष समितिका महासचिव गोपाल यादवका अनुसार नारायणको परिवारले २० बिघा जग्गामा उखु खेती गर्दै आएको छ। बागमती नदी बगरमा उखु खेती गर्दै आएका नारायणका एक श्रीमती, २ छोरा र १ छोरी छन्। उनीहरू १९ जनाको संयुक्त परिवारमा बस्छन्। उनी रकम लिएर आउने आसमा बसेका परिवारजन मृत्युको खबर खुनेर भावविह्वल भएका छन्।

‘उहाँले अन्नपूर्ण चिनी मिलबाट २४ लाख भुक्तानी पाउन बाँकी थियो’, मिश्रले भने, ‘आन्दोलनका क्रममा केही रकम पाउनुभएको थियो। बाँकी पैसा पाउने सहमति भएको थियो। तर, नपाउँदै यस्तो दुःखद घटना भयो।’ उनीसहित किसानको बाँकी बक्यौता सरकारले तीन साताभित्र उपलब्ध गराउने सहमति जनाएको छ।

लामो समयदेखि भुक्तानी नपाएपछि उनीजस्ता उखु किसानले १६ दिनदेखि माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए। उनीहरू सोमबार दिउँसो सहमति भएसँगै मंगलबार घर जाने तयारीमा थिए। महासचिव यादवले सम्झौताअनुसार भुक्तानी पाउन चार–पाँच जनाको समूह काठमाडौंमै बसेर निरन्तर खबरदारी गरिरहने बताए। तर, एक जनाकोे हृदयघातका कारण निधन भएसँगै उखु किसान चिन्तित भएका छन्।

महासचिव यादवका अनुसार नारायण आन्दोलनको उपलब्धि हुने/नहुनेमा चिन्तित देखिन्थे। उनी कुनै बिरामी भने थिएनन्।

महासचिव यादवले सबै किसानको सल्लाहमै सोमबार सरकारसँग सहमति गरिएको बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्ताका लागि तीन जना किसान मात्रै बोलाए पनि १० जनाभन्दा बढी सहभागी थिए। तर, विशेष कारण मृतक यादव सहभागी नभएको महासचिव यादवले बताए।

मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीसहित कृषि, गृह र अर्थ मन्त्रालयका सहसचिव मृतकलाई श्रद्धाञ्जली दिन अस्पताल पुगेका थिए। मृतकको पार्थिव–शरीर दाहसंस्कारका लागि सर्लाही लगिएको मिश्रले बताए।

नेपाल उखु उत्पादक संघका सहसंयोजक राजकुमार उप्रेतीले मृतकलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग गरे। ‘उहाँले बाँचेसम्म किसानको आवाज बोल्न छाड्नुभएन’, सहसंयोजक उप्रेतीले भने। उप्रेतीले राज्यकै नीति किसानमारा रहेको गुनासो गरे। ‘यो देशमा राज्यभन्दा चिनी उद्योगी शक्तिशाली देखियो। पैसाको तागतमा उद्योगपतिले सरकारलाई किनेजस्तै छ’, उनले भने, ‘उद्योगपतिसामु सरकार निरीह छ। किसानको पसिना पिएर उद्योगपति मोटाएका छन्।’ उद्योगीलाई थुन्नुको साटो सरकारले भुक्तानी दिने २१ दिनको समय दिएको भन्दै उनले असन्तुष्टि जनाए। ‘पोहोर साल पनि त उद्योगीलाई समय दिएकै थियो। अनि फेरि किन समय दिनुपर्‍यो ?’, उनले भने।

वार्षिक ८० लाख क्विन्टलसम्म उखु उत्पादन भएको सर्लाहीमा ४०–५० लाख क्विन्टलमा झरेको छ। ‘उद्योगीले उधारोमा उखु किन्छन्। किसानलाई भुक्तानी दिँदैनन्’, उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘ऋणले किसानको जीवन लिलामीमा चढिसक्यो। सरकारले कुनै मतलब गर्दैन।’

किसानले ऋण काढेर उखु खेती गर्छन्। तर, समयमै उचित मूल्य नपाउँदा समस्यामा पर्दै गएका छन्। धेरै बिघामा उखु खेती गर्दा पनि चिनी उद्योगीले लामो समयदेखि भुक्तानी नदिएपछि कैयौं किसानको रोजीरोटीमा समस्या भएको छ। उद्योगीले भुक्तानी नदिँदा किसानले ल्याएको ऋणको मिटरसमेत बढ्दै जाने र उद्योगबाट भुक्तानी नआउँदा उखु किसान हैरानीमा पर्ने गरेका छन्। किसानले प्रतिकठ्ठा औसतमा ४० क्विन्टल उखु उत्पादन गर्छन्। एक कठ्ठाबाट औसत २२ हजार रुपैयाँ आम्दानी हुन्छ।

सरकारले आन्दोलन सुरु गरेको दोस्रो दिनमै उद्योगी र किसानलाई वार्तामा बोलाएको थियो। तर, गत वर्ष भएको सम्झौताअनुसार भुक्तानी हुन नसकेको भन्दै किसानले वार्ता बहिष्कार गर्दै आएका थिए। धेरै पटकको वार्तापछि २१ दिनभित्र भुक्तानी दिलाउने, उखु किसानका वर्षौैंदेखिका समस्या समाधान गर्ने सहमति भएको छ। समस्या समाधान गर्न एक समिति बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.