वडाको सेवा अर्कै जिल्लाबाट
सन्धिखर्क : सरकारले सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा व्यापक बनाएको छ। तर, अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ को वडा कार्यालयको सेवा कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ।
‘वडा कार्यालय खयरभट्टीमा छ। तर, धेरै सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्छ’ वडाध्यक्ष कपिलाचन्द्र आलेले भने, ‘वडा ठूलो छ। बस्ती यत्रतत्र छरिएको छ। मानिसलाई खयरभट्टी जानुभन्दा राजमार्गमा रहेको इमिलियामा आउन सजिलो हुन्छ। त्यसैले धेरै काम यतैबाट गर्छौं। ’ कपिलवस्तुसँग सीमा जोडिएको यस वडाको मौवाबारी, दोबाटो, फोर्सल, खयरभट्टीलगायत गाउँबाट सेवाग्रही इमिलिया आउँछन्। यी गाउँबाट खयरभट्टीको कार्यालय पुग्न ५/६ घण्टा हिँड्नुपर्छ।
त्यहाँ गएर सिफारिस बनाउने र उल्टो फर्कंदा दिनभर लाग्छ। इमिलियाबाट सिफारिस लिएर एकै दिनमा नागरिकता बनाउन सदरमुकाम पुगिन्छ। सेवाग्रहीलाई सजिलोका लागि इमिलिया वडा कार्यालय राखिएको आलेले बताए। विकास बजेटलगायत अन्य छलफल पनि यहीँ हुन्छ। अधिकांश वस्तीका स्थानीयलाई सजिलो हुने भएपछि एउटा खयरभट्टी र अर्काे कपिलवस्तुको इमिलियामा वडा कार्यालय राखेर सेवा दिइरहेका छन्।
धेरै जंगल क्षेत्र, छरिएर रहेको बस्ती पैदल हिँडेर खयरभट्टी जानुभन्दा कपिलवस्तु झर्न सजिलो हुन्छ। जिल्लाकै २७ प्रतिशत भूगोल क्षेत्र ओगटेको सिद्धारा गाविसलाई नयाँ संरचनामा तीन वडामा विभाजन गरिए पनि स्थानीयले सरकारी सेवा सहजै पाउन कठिन छ।
अर्काे समस्या खयरभट्टी गाउँमा विद्युत् पुगेको छैन। पोल गाडिएको र केही स्थानमा तार तानेको पनि वर्षौं भइसक्यो। तर, बत्ती बल्ने टुंगो छैन। पञ्जीकरणका काम जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद र बसाइँसराइका घटना अनलाइन प्रणालीमा राख्नुपर्छ। तर, विद्युत् नहुँदा पनि अर्को जिल्लाबाट सेवा दिनुपरेको छ। खयरभट्टीमा विद्युत् ल्याउने भनेर पोल गाडिएको वर्षौं बिते पनि विद्युत् नपुगेको खयरभट्टीका स्थानीय बालम न्युटन आलेले गुनासो गरे।
सचिव मोदनाथ ज्ञवालीले वडा ११ र १४ हेर्छन्। इमिलियाबाट वडा १४ को कार्यालय पावरा करिब ६५ किमि दूरीमा छ। दुवैतिर हेर्नुपर्ने भएकाले दौडधुप हुने बताउँदै उनले भने, ‘सातामा तीन दिन एउटा र तीन दिन अर्काे वडाको काम गर्नुपरेको छ।’
८५ वर्षीय जीवकला सारुलाई वृद्धभत्ताका लागि बैंकको खाता खोल्न कपिलवस्तुको इमिलियामा ल्याएका उनका छोरा मणिराम सारुले भने, ‘अर्को जिल्ला भए पनि कपिलवस्तु नजिक छ। सबैको मागअनुसार यहाँ कार्यालय राखिएको हो।’ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको इमिलियाको मुख्य रोडमै वडा कार्यालय राखिएको छ।
यहाँबाट जिल्ला सदरमुकाम पुग्न करिब ७३ किमि छ। यहाँबाट खयरभट्टी रिक्सा चल्छन्। एक यात्रुको भाडा दुई सय तिर्नुपर्छ। जिप, बस जाने बाटो भए पनि दैनिक रूपमा गाडी भरिने गरी यात्रु नपाइने भएकाले सवारीसाधन भने जान मान्दैनन्।