सुदूरपश्चिममा आज ठूली रात मनाइँदै
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा बुधबार ‘ठूलीरात’ तथा ‘पुसे १५’ मनाइँदै छ। सुदूरपश्चिम प्रदेशको लोक मान्यतामा आजको रात सबैभन्दा लामो हुने भएकाले पुस १५ गते ‘ठूलीरात’ मनाउने प्रचलन छ।
रातभरि गाउँका सबै मान्छे भेला भएर कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ। साथै राती तरुल, सखरखण्ड लगायतका कन्दमुल पकाएर खाने प्रचलन रहेको जानकारहरु बताउँछन्।
'आजको दिन लामो रात दिन छोटो हुने भएकाले पुस १५ लाई सुदूरपश्चिममा ठूलीरात मनाउने चलन छ', उनले भने, 'पौष्टिक आहार पाइने कन्दमुल खाने गरिन्छ र रातभरी आगो ताप्ने देउडा खेल्ने आइना,बातै सुन्ने पचलन छ।' तत्कालीन सभ्यता अनुसार लुगा कपडा नभएको हुँदा आगो तापेर समेत चिसो छल्न सक्छौं भन्ने सन्देश दिएको उनले बताए। डोटी र कुमाउमा आजका दिनदेखि उत्तरायण सुरु हुने र आजदेखि दिन बढ्ने र रात घट्दै जाने मान्यता रहेको छ।
त्यसैगरी साहित्यकार कविराज भट्टले सुदूरपश्चिमको लोक मान्यता अनुसार पुस १५ लाई ठूली रात मनाइने प्रचलन रहेको बताए। 'आज लामो रात हुने भएकाले सबै भेला भएर आइना, बात भन्ने र कन्दमुल पकाएर खाने हाम्रो प्रचलन हो', साहित्यकार भट्टले भने, 'धेरै ठाउँमा मन्दिरमा अहोरात्र बस्ने र देउडा खेल्ने पनि गरिन्छ।' आजदेखि दिनहरु विस्तारै लम्बिँदै जाने मान्यता छ।