‘गणपति’ मा मुकुन र मेनुका
काठमाडौं : सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ निर्माण हुने भएको छ। फिल्मले भगवान् र मानिसबीचको फरक देखाउनेछ। माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन्। लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन्।
अ बिग म्यान फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव बीएल, सुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ। तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेले खिच्ने जिम्मेवारी पाएका छन्।
विक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंकर धिताल एसोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, वेदनाथ धमला र किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाकर छन्। फिल्मलाई गोविन्द शाहीले देशभर वितरण गर्नेछन्।
फिल्मको गीतमा अनिश अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज भर्नेछन्। त्यस्तै, श्रीत फिल्मस् एन्ड इन्टरटेनमेन्टले फिल्मको ओभरसिज राइट्स लिएको छ। निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे। ‘मान्छे र भगवान्बीचको फरक फिल्ममा देखाउनेछौं,’ उनले भने।
कलाकार जयनन्द लामाले फिल्मको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको बताए। अभिनेता भुसाल भने फिल्म साइन गरेपछि डराएका रहेछन्। उनले भने, ‘म टाइटल क्यारेक्टरमा छु। एउटा कलाकारलाई राम्रो क्यारेक्टरको भोक सधैं हुन्छ र त्यो क्यारेक्टर बाँचिरहोस् भन्ने लाग्छ। मैले फिल्म गर्छु त भनेँ तर क्यारेक्टरलाई बुझ्दै गएपछि डर लाग्न थाल्यो।’
त्यस्तै, निर्माता लक्ष्मण थापाले फिल्मको कथावस्तु पृथक् लागेका कारण लगानी गर्न तयार भएको बताए। फिल्मको स्क्रिप्ट पढ्दा आफू तीन पटक रोएको उनी सम्झन्छन्।