आर्थिक रूपमै संकटको वर्ष

आर्थिक रूपमै संकटको वर्ष

सन् २०२० को वर्षमा भएका घटनालाई मानवजातिले नयाँ सिकाइका रूपमा लिनुपर्ने छ


वर्ष २०२० कस्तो रह्यो भनेर सोध्दा धेरैको जवाफ हुन सक्छ, ‘यो वर्ष त लकडाउनमय भइयो।’ सायद संसारका मानिस यस वर्षलाई लकडाउनमै थुन्न चाहन्छन् वा बिर्सन चाहन्छन्। विश्वलाई प्रभावित पार्ने गरी यस्तो जटिल वर्ष यो शताब्दीमै सायदै आएको थियो। विशेषगरी विश्व शक्ति भनिने अमेरिकामा भएका केही प्रमुख घटनाले नै विश्व समुदायको ध्यान ताने। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोगदेखि ट्रम्पको पराजयसम्मका घटनाले बाँकी विश्वको ध्यान खिचे। अर्को प्रभावशाली देश बेलायत, चीन, इरान, भारत, अस्ट्रेलिया, लेबनानलगायत देशमा भएका प्राकृतिक तथा कृत्रिम घटना महिनौंसम्म प्रमुख विश्व समाचार बने। सायद ती घटना विश्व इतिहासमा बिर्सने छैनन्।

अस्ट्रेलियाको आगलागी
सन् २०२० को नयाँ वर्ष नै अस्ट्रेलियाका लागि अप्रिय बनेर आएको थियो। अस्ट्रेलियाको दक्षिणी गोलार्धस्थित झाडीबाट सुरु भएको आगलागी एक लाख ८६ हजार किलोमिटर क्षेत्रफलभन्दा धेरै भूभागसम्म फैलियो। अर्थात् अर्को सिंगो देश क्युबाको क्षेत्रफलभन्दा ठूलो अस्ट्रेलियाको भूभाग आगलागीले नष्ट गरेको छ।

मार्चमा सुरु भएको आगलागी थप केही महिनासम्म रह्यो। झन्डै ३ महिनासम्म त आगो निरन्तर रह्यो। न्यु साउथ वेल्समा मात्रै भएको आगलागीको क्षति त्यसअघि अस्ट्रेलियामा भएको आगलागीको क्षतिभन्दा धेरै भएको मापन गरिएको थियो।

अस्ट्रेलियामा आगलागीका घटना नियमितजस्तै भए पनि सन् २०२० को आगलागी विगतका भन्दा घातक नै रह्यो।

आगलागीबाट ३ बिलियनको संख्यामा त जनावर मरे वा विस्थापित भए। यसलाई अस्ट्रेलिया मात्रै नभएर विश्वकै जैविक विविधतामा परेको ठूलो नोक्सानका रूपमा लिइएको छ।

इरान–अमेरिका तनाव
इरान र अमेरिकाबीच तनाव नयाँ त थिएन। यद्यपि सन् २०२० को वर्ष दुई देशबीच थप तनावग्रस्त बन्यो।

जब इरानी सैन्य अधिकारी जनरल कसाम सुलेमानी अमेरिकी हवाई हमलाबाट मारिए त्यसपछि निरन्तर इरानमा अमेरिकी दूतावास तोडफोड गर्नेदेखि विशाल प्रदर्शन भए।

अमेरिकी अधिकारीहरूले भने इरानले अमेरिकामाथि आक्रमणको योजना बनाइरहेको दाबी गरेका थिए। सुलेमानीको हत्यालगत्तै इरानले इराकस्थित अमेरिकी दुई रकेटलाई हवाई हमलाबाट खसालिदियो।

अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको उम्मेदवारी र उपराष्ट्रपति पदमा कमला ह्यारिसको उम्मेदवारीले पनि विश्व राजनीतिलाई तान्यो। तर रोचक घटना त के भयो भने ट्रम्पले चुनावी परिणामविरुद्घ मुद्दा दायर गरे, साथै हार अस्वीकार गरिरहे।

इरानी आक्रमणबाट अमेरिकी सैनिकहरू घाइते भए। तनाव बढ्दै जाँदा अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदनविना नै इरानमा सैन्य शक्ति प्रयोग गर्ने अधिकार प्रतिबन्धित गर्ने विधेयक पास गरेको थियो।

यी दुई देशबीच यत्तिकैमा तनाव मत्थर भएन। इरानको रिभोल्युसनरी गार्डको आक्रमणबाट युक्रेनी जेट नै खसालियो। जहाँ १ सय ७६ यात्रु मारिए। तर उक्त हमलालाई गल्तीवश भएको भनिएको थियो।

नोबेल कोरोना भाइरसको संक्रमण
कोरोना भाइरसको संक्रमण अर्को विपद् र विश्व हल्लाउने घटना बनेर आयो। चीनको वुहानबाट सुरु भएको उक्त भाइरसले विश्वका लगभग सबैलाई कुनै न कुनै रूपमा प्रभावित बनाएरै छाड्यो।

चीनका केही सहरमा यो संक्रमण फैलिँदासम्म बाँकी विश्वको खासै चासो थिएन। जब युरोपका ठूला सहरमा हरेक दिन मान्छे मर्ने गरी यो भाइरस फैलियो त्यसपछि संसार नै तर्सियो। छोटो अवधिमै यसले विश्वलाई प्रभावित बनाइसकेको थियो।

अर्थतन्त्रमा धक्का
कोरोनाले विश्वको अर्थतन्त्र धराशायी बनायो। पर्यटन, खेलकुद र अन्य व्यवसाय पनि छोटो समयमै ठप्प हुन पुगे। अर्थतन्त्रमा यति तीव्ररूपमा गिरावट आएको सम्भवतः इतिहासमै पहिलोपटक थियो।

नाइट लाइफ ठप्प भयो। सबै देशको अर्थतन्त्रमा यसले तीव्र रूपमा प्रहार गर्‍यो। बेरोजगार अत्यधिक ठूलो संख्यामा बढ्न थाल्यो। देशहरूकै अर्थतन्त्र ध्वस्त बन्न थाल्यो। ठूला योजना पनि स्थगित भए वा बन्द भए।

लकडाउन जीवन
विश्व पर्यटन व्यवसाय चमत्कारिक रूपमा खस्कियो, कतिसम्म भने लकडाउनले गर्दा पानीजहाजमा महिनौंसम्म यात्रुहरू समुद्रमै बस्नुपरेको थियो।

लगभग सबै देशले क्रमशः लकडाउन लगाउन थाले। मानिसहरूलाई महिनौंसम्म घरभित्रै वा कोठाभित्रै बस्ने बानी परिसकेको थियो। मार्च महिनादेखि नै अधिकांश देशले लकडाउन लगाउन थालिसकेका थिए। फलस्वरूप मानिसहरू झोला बोकेर हजारौं किलोमिटरसम्म पैदल यात्रा गर्न बाध्य भए। विश्वका ठूला सहरहरू नै सुनसान बने।

कोरोना भाइरस आफैंमा एक समस्या थियो भने लकडाउन अर्को समस्याका रूपमा देखियो। मानवनिर्मित भए पनि ठूला सहरहरू महिनौंसम्म ठप्प पारिँदा ठूलो संख्यामा मानिस विस्थापित हुन पुगे।

लकडाउनले वायु प्रदुषणमा भने अनपेक्षित रूपमा कमी आएको विभिन्न रिपोर्टले देखाउँछन्।

बेरोजगार समस्या
कोरोना भाइरसको असरका रूपमा बेरोजगार समस्या सबैभन्दा ठूलो रुपमा देखियो। अमेरिकामा मात्रै एक महिनाको अवधिमै २ करोडभन्दा धेरै मानिसले जागिर गुमाउनुपर्‍यो, जुन अमेरिकी इतिहासमै सबैभन्दा धेरै मानिसले एकैपटक जागिर गुमाएको तथ्यांक हो।

मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोभिड– १९ लाई महामारीका रूपमा घोषणा गरेको थियो। त्यसपछि त अमेरिकामा बेरोजगार संख्या हरेक दिन तीव्र रूपमा बढ्यो।

कतिसम्म भने अमेरिकामा यसअघि भएका बेरोजगार दरभन्दा झन्डै १० गुणा बढी बेरोजगार दर यसपटक भएको बताइन्छ। अझै यसलाई अर्को तरिकाले हेर्दा, अमेरिकामा बेरोजगार भएको संख्या चिली वा ताइवानको सिंगो जनसंख्याभन्दा धेरै हो।

अर्को ऐतिहासिक असरका रूपमा के पनि देखियो भने तेलको मूल्यमा पहिलोपटक गिरावट आयो। यस गिरावटलाई चमत्कारिक घटनाका रूपमा लिइएको छ।

घरबाटै काम
कोरोना भाइरसको प्रभाव प्रविधिमा पनि व्यापक रूपमा देखियो। लकडाउनका क्रममा सिंगो विश्व प्रविधिको वरिपरि रह्यो। अधिकांश कार्यालय घरबाटै सञ्चालन भए। पढाइ, काम र बैठकका लागि जूम बैठकको व्यापक प्रयोग हुन थाल्यो। तर संकट हुँदाहुँदै पनि टेस्ला कम्पनीलाई भने सन् २०२० वर्ष फलदायी बन्यो। जुन महिनामा टोयोटा, भक्सवागन र होन्डालाई समेत पछि पार्दै टेस्ला कम्पनी विश्वमै महत्त्वपूर्ण अटोमेकर बन्यो।

अन्ततः टेस्लाको ‘मार्केट भ्यालु’ ३७५ प्रतिशतभन्दा धेरै पुगेको छ। टेस्लाको सम्पत्ति अहिले विश्वकै ठूला ९ अटोमेकर कम्पनीको जोड्दा पनि धेरै छ।

ब्ल्याक लाइभ्स म्याटर प्रदर्शन
‘मैले सास फेर्न सकिनँ !’ भन्ने वाक्य गएको गर्मीयाममा अमेरिका र लगभग संसारभर फैलियो। यसले एउटा विशाल आन्दोलनको रूपसमेत लियो।

सन् २०२० को मे २५ मा अमेरिकी प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोइडलाई भुइँमा लडाएर घुँडाले घाँटी थिचेर हत्या गर्न खोजिरहेका बेला जर्जले बोलेको वाक्य थियो त्यो।

तर तीनजना गोरा प्रहरीले जर्जको घाँटी छाडेनन्। अन्ततः उनी प्रहरीबाट मारिए। त्यसको प्रतिवादका रूपमा अमेरिकाभर विशाल जनप्रदर्शन फैलियो। अमेरिकाबाहेक अन्य विभिन्न देशमा पनि लकडाउन हुँदाहुँदै ठूला आन्दोलन भए।

अमेरिकामा त लामो समयपछि यति विशाल आन्दोलन भएको थियो। प्रहरीका गाडीसमेत तोडफोड गर्दै सरकारको विरोध भयो। ह्वाइट हाउसअगाडि नै ठूला प्रदर्शन भएका थिए। तर ९३ प्रतिशत प्रदर्शन शान्तिपूर्ण नै थिए। त्यसबेला संकलन 

गरिएका रिपोर्टका आधारमा विभिन्न देशमा हजारौंको संख्यामा प्रदर्शन भएको थियो।

बेरुत विस्फोट
विश्व समुदाय नै प्राकृतिक र जैविक क्षतिबाट ग्रसित भइरहँदा मानवीय त्रुटिका कारण भएको घातक विस्फोटबाट लेबनानको बेरुत बन्दरगाह नै हल्लियो।

बेरुतमा आगो बलिरहँदा विश्वभरबाट एकैपटक प्रसारण भएको थियो। यसलाई आधुनिक इतिहासमै सबैभन्दा ठूलो विस्फोटक दुर्घटनाका रूपमा लिइएको छ। यस विस्फोटमा २०४ जनाको मृत्यु हुनुका साथै ६ हजार पाँच सय घाइते भए। यसबाहेक १५ बिलियन डलरभन्दा धेरै नोक्सान भएको बताइन्छ।

अमेरिकी डढेलो
अमेरिकी जंगलमा लागेको डढेलोले  धेरै असर निम्तियो। उत्तर अमेरिकाको दक्षिण तटीय आकाश लामो समयसम्म सुन्तला रंगमा बदलियो। यसलाई लिएर विश्वभर समाचार छापिए। त्यसले निकै ठूलो वायु प्रदूषण भयो। सन् २०२० नै अमेरिकामा ठूलो जंगली डढेलो लागेको वर्षका रूपमा चिनियो। यस क्रममा क्यालिफोर्निया विशेषगरी बढी प्रभावित बन्यो।

अमेरिकी चुनाव
यसपटकको अमेरिकी चुनाव विगतको भन्दा विशेष र ऐतिहासिक बन्यो। यसले अमेरिकालाई मात्रै नभएर विश्वलाई नै प्रभावित बनायो।

यसपटक खर्चको हिसाबले पनि अविस्मरणीय चुनाव बन्यो। कतिसम्म भने अमेरिकामा सन् २०१६ को चुनावको भन्दा दोब्बर खर्च सन् २०२० को चुनावमा मात्रै भयो। अर्थात् १३ बिलियन डलर खर्चमा यसपटकको अमेरिकी चुनाव सम्पन्न भयो।

खर्चबाहेक पनि अमेरिकाको चुनावमा विश्वको ध्यान तानियो। राष्ट्रपति डोनल्ड ट्रम्पले पराजय भोग्नुपर्‍यो, तर उनले हार स्वीकार गरेनन्।

राष्ट्रपति पदमा जो बाइडेनको उम्मेदवारी र उपराष्ट्रपति पदमा कमला ह्यारिसको उम्मेदवारीले पनि विश्व राजनीतिलाई तान्यो। तर रोचक घटना त के भयो भने ट्रम्पले दिएका अभिव्यक्ति र चुनावी परिणामविरुद्ध मुद्दा दायर गरे। साथै हार अस्वीकार गरिरहे।

अमेरिकाको यसपटकको चुनाव किन पनि महत्त्वपूर्ण रह्यो भने अमेरिकी इतिहासमै सबैभन्दा धेरै मतदाता सहभागी भए। साथै पहिलो कार्यकाल मात्रै चलाएर चुनाव हार्ने तीन राष्ट्रपतिमध्ये ट्रम्प एक थिए।

कोभिड– १९ को तेस्रो लहर
इतिहासले पाठ सिकाउँछ भने झैं कोरोना संकट मत्थर हुँदै फेरि लहरका रूपमा आयो। नोभेम्बरमा कोरोना संक्रमित बढेसँगै कोरोनाको तेस्रो लहर पनि फैलियो।

अमेरिकामा मात्रै नोभेम्बर ८ मा दैनिक औसत एक लाख संक्रमित संख्या देखियो। नोभेम्बर अन्त्यसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६० करोडसम्म पुग्यो।

भ्याक्सिन
कोभिडको संकटसँगै खोप विकासबारे प्रकाशन भएका समाचारले पनि विश्वभर प्रभावित पारिरहे। चीन, बेलायत, अमेरिका, रूसलगायत देशले कोरोना खोप विकासको पहल गरे।

विभिन्न औषधि कम्पनीले खोप विकासमा संघर्ष गरिरहँदा ब्लुमबर्गले नौ कम्पनीका खोप विकासको काम निगरानी गरेको छ। जसअन्तर्गत अर्बौं डोज खोप वितरणको सम्झौता गरिएको छ।

भारतमा किसान आन्दोलन
पछिल्लो समय भारतमा उठेको किसान आन्दोलनले पनि विश्वलाई नै आकर्षित गर्‍यो। कोरोना संकट हुँदाहुँदै विभिन्न राज्यका हजारौं किसानले ‘दिल्ली चलो’ आन्दोलन गरे।

प्रदर्शनका क्रममा ठूलो धरपकड भयो। कतिसम्म भने प्रहरीले किसान प्रदर्शन रोक्न खोज्दा प्रदर्शनकारीले प्रहरीका गाडी नै पल्टाइदिए। खासगरी भाजपा नेतृत्वको सरकारले ल्याएको कृषि कानुनको विरोधमा अधिकांश किसान संगठन र किसान आन्दोलित भएका छन्।

यसबाहेक गएको वर्ष थाइल्यान्ड, रूस, हङकङ, टर्की, लेबनन, ब्राजिललगायत देशमा सरकारविरोधी विशाल प्रदर्शन भए। तीमध्ये कतिपय देशमा त आन्दोलन अझै जारी छ।

आखिर राजनीतिक प्रदर्शनसँगै विभिन्न देशमा एकपछि अर्का घटना भए। २०२० को एक वर्षमा भएका ती घटनाबाट मानवजातिको भविष्यमा नयाँ सिकाइका रूपमा लिनुपर्ने छ।

(एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.