अर्घाखाँचीका अधिकांश पसलमा मुल्य सूची छैन
सन्धिखर्क : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कलगायतका स्थानहरुमा सञ्चालित अधिकांस पसलहरुमा मुल्य सूची नभएको भेटिएको छ। उपभोक्ता हितलाई मध्यनजर गर्दै जिल्लामा संचालित साना उधोग, खाद्य स्टोर, फेन्सी तथा कपडा पसल र होटलहरुमा अनुगमन गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको नेतृत्वमा जिल्लाको सर्बपक्षिय बजार अनुगमन टोलीले गोरुसिंगे सन्धिखर्क सडकको विभिन्न बजारहरुका २७ वटा पसल अनुगमन गर्दा मुल्य सुची नभएका २० वटा पसल भेटिएका छन्।
गोरुसिंगे सन्धिखर्क सडकमा पर्ने सन्धिखर्क ६ नरपानी बजार, शितगंगा नगरपालिका-२ को सुपा देउराली बजार, लाहुरे बजार, शितंगाको ३,४ मापर्ने ठाडा बजार, अमराई बजार र चाक्ला बजारमा अनुगमन गर्दा मुल्य सुची नभएका २०, पसलको साइन बोर्ड नभएका ५, विना दर्ता सञ्चालनमा रहेका ४ र म्याद सकिएका सामाग्री राखेका पसल ७ वटा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए।
तनँहु खाजा घरले होटलसँगै विना दर्ता होटलको तला मुनी ब्रोइलर कुखुरा पालेर दुर्गन्ध फैलाएको, न्यु गाउँले स्टोर्सले किराना पसल दर्ता गरी हार्डवेयर पसल सञ्चालन गरेको र रोयल अर्घाखाँची गेष्ट हाउसले पुँजी अत्यन्तै कम जम्मा १ लाख राखि होटल सञ्चालन गरेको भेटिएपछि जरिवाना गरिएको सहायक प्रजिअ थापाले बताए।
बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरु सर्वपक्षिय बैठकको रोहबरमा नष्ट गरिएको छ। म्याद गुज्रेका तथा खान योग्य नभएका खाद्य सामाग्रीहरु बरामद गरी नष्ट गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा, घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख, जिल्ला प्रहरी कार्यलय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, नगरपालिकाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको टोलीले बजारका विभिन्न पसलहरुमा अनुगमन गरेको हो।