सिर्जनात्मक प्रयोगमा बदलिँदो परिवेश
सहयात्रा र सहकार्य गर्ने हाम्रो परम्परा थियो। कुनै तीर्थयात्रामा जाँदा इष्टमित्र र भाइसाथीको सहभागिता रहन्थ्यो। घरायसी र सामाजिक कार्यमा पनि सबैको उत्तिाकै चासो र तत्परता रहन्थ्यो। क्रमशः त्यो मान्यता बदलिँदै छ।
संसार योग रहेछ। यहाँ मिलन हुने रहेछ। त्यसैले संसार संयोग हो। २०७२ सालको भूकम्पले हामी १३ जना कविलाई संयोग सिकायो। धेरैले भने, भूकम्प वियोग र ध्वंसको प्रतीक हो। यथार्थ त्यस्तो होइन रहेछ। हो भने नयाँ निर्माण भएर धरहरा उठ्ने थिएन।
गोरखाको बारपाकलाई केन्द्र बनाएर महाभूकम्प गएको थियो। त्यसैलाई लक्ष्य गरेर हामीले संयुक्त महाकाव्य लेखी २०७४ सालमा प्रकाशित गर्यौं। चर्चा सुनिन्थे, कविका एकआपसमा वाद मिल्दैन। विचार र चिन्तन मिल्दैन। कविको निजी संसार हुन्छ। ऊ त्यसमै विचरण गरिरहन्छ। आरोहण प्रकाशनले कविहरू पनि आपसमा मिलेर काम गर्न सक्छन् भन्ने उदाहरण दियो।
संयुक्त काव्य प्रकाशमा आउँदा धेरैले आश्चर्य प्रकट गरे। उदाहरणीय काम भनेर देशका निकै साहित्यिक संस्थाले यो गठबन्धनलाई सम्मान पनि गरे। त्यसै क्रममा हरि सांस्कृतिक केन्द्र गोरखाले २०७५ माघ २७ गते यो समूहलाई सम्मान गर्न निमन्त्रणा दियो। २६ गते पुगेर साँझ घोषणा गयौं— यसपछि हामी संयुक्त आरोहण काव्य संग्रह लेख्ने छौं। कार्यक्रम सकेर फर्किंदै गर्दा बसमा बहस भयो— काव्यको संयोजन सजिलो छैन। यो काम कसले गर्ने ? यस्तो काम ज्याद्रो कविले मात्र गर्न सक्छ भन्ने कुरा उठ्यो। पहिलो काव्यमा संयोजनको काम आफैंले गरेको थिएँ। घुमाइफिराइ साथीहरूले यसको जिम्मा पनि मेरै थाप्लोमा थोपरे। पहिलो काव्यबाट अनुभव थियो— तेह ्रथरी विचारलाई एकत्रित गरी संयोजन गर्नु पटक्कै सजिलो काम होइन। जिउँदा भ्यागुतालाई धार्नीमा जोख्नु जस्तो।
एउटा किंवदन्ती त्यहाँ सुनाएँ— चन्द्रशमशेरको शासनकालका दरबारभित्र एक जना भैरे थियो। पूरा नाम के थियो कुन्नि थाहा भएन। ऊ बकबक बोलिरहन्थ्यो। उसको हरेक काममा उपबुज्रुक बन्ने बानी थियो। दरबारका सबैजसो काममा चासो लिन्थ्यो र बोलिहाल्थ्यो। भैरे सबैको उपहासको पात्र बन्थ्यो। अरूले उसको खिल्ली उडाउँथे। त्यसैलाई ऊ आफ्नो प्रशंसा ठान्थ्यो र झन् बढी बोल्थ्यो। बिस्तारै भैरे सबैले उदाहरण दिने पात्र बन्यो। उसको नाम चन्द्रशमशेरको त मुखमै झुन्डिएछ। कसैबाट कुरा सुन्दा पनि भैरेको जस्तो गफ त होइन नि ? के भैरेले जस्तो कुरा गरेको ?
चन्द्रशमशेरले सिंहदरबार बनाउनुपूर्व हेटौंडादेखि काठमाडौंसम्म रोप–वे बनाउने निर्णय गरेछन्। बेलायती दरबारिया शैलीमा बनाउन लागेको दरबार निर्माणका लागि बाहिरबाट सामान ढुवानी गर्न रोप–वे उत्तम विकल्प पनि ठहरियो। त्यसको बैठक दरबारमा बसेछ। कुनामा बसेर भैरे पनि कुरा सुन्दै थियो। भैरेले रोप–वेलाई गोप्य भन्ने बुझेछ। बीचमा उठेर कराइहाल्यो—
हुँदैन हुँदैन महाराज ! गोप्य कुरा हावामा झुन्ड्याएर वनको बाटो ल्याउनै हुँदैन। दरबारको भेद खुल्छ। सामान चोरी पनि हुन्छ।
परेन के फसाद ! उसको ताल देखेर चन्द्रशमशेरलाई एकैचोटि रिस र हाँसो खनिएछ। उनले आदेश दिएछन्— आइन्दा भैरेका कुरा सबैले सुन्नू। उसले भनेअनुसार काम पनि गर्नू। त्यो काम बिग्रियो भने भैरेलाई कुट्नू। फत्ते भएछ भने काम गर्नेलाई स्याबासी दिनू। त्यसपछि त झन् भैरे दरबारमा चर्चित भयो। सबैका गफका प्रसंगमा भैरे नै आउँथ्यो। कुरा कहाँसम्म पुगेछ भने राज्यका कुनै काम सम्पन्न नभएका जाहेरी पनि प्रधानमन्त्रीमा पेस हुन्थे। चन्द्रशमशेर कराइहाल्थे रे— भैरे हुँदाहुँदै काम किन बिग्रियो ? खोइ भैरे कहाँ छ ? उसलाई खोजेर कुटिहाल।
हे भगवान् ! अरूले काम बिगारे। भैरेले कुटाइ खाइरह्यो। तैपनि बुज्रुक हुने बानी छाड्न सकेन। अहिले भैरे इतिहासको किंवदन्ती बन्यो। यो कथा सुनाएपछि मैले साथीहरूलाई भनेँ, ‘म भैरे हुन सक्दिनँ। उनीहरू हाँसे तर मलाई भैरे बनाएरै छाडे। गएको चैतमा यो खण्डकाव्य त्रयोदश प्रकाशित गर्ने हाम्रो लक्ष्य थियो। तयारी पनि पूरा भएको हो। कोरोना लकडाउनले हाम्रो योजना पनि तालाबन्दीमा गयो। सहलेखन यात्रा बिनाप्रयोजन होइन। विभाजित हुँदै र निजी काममा मात्र केन्द्रित हुने वर्तमान पुस्ताको आचरण देखिन्छ। सहकार्य गर्ने पद्धतिमा ह्रास आएको छ। कलिकालमा संघको शक्ति बलशाली हुन्छ भन्ने सिद्धान्त पनि बिर्सिन लागिएको छ। यो संयुक्त लेखनले त्यसतर्फ पनि सचेत गरेको होला।
साहित्यमा खण्डकाव्यलाई गहन लेखनकै विधामा हेरिन्छ। यसमा लेख्ने कवि र पढ्ने पाठकको गम्भीर अध्ययन र चिन्तनको अपरिहार्यता रहन्छ। धेरै कविले आफू खुसी खण्डकाव्य लेखेर प्रकाशित गरिरहेकै छन्। तिनको पठन र अनुसन्धान गर्ने विज्ञलाई संकलनको कठिनाइ छ। पाठकको त्यस्तो अभाव पूर्ति होस् भन्ने पनि हाम्रो लक्ष्य हो। संयोग नै मान्नुपर्छ, यो गठबन्धनमा ८० वर्षको देउरालीतिर लागेका र युवा जोश बोकेर लिगलिगको दौडमा हतारिएका कविहरू छन्। त्यसैले यो हजुरबादेखि नाति पुस्ताको सहयात्रा पनि हो। पाठकले यी पिँढीका लेखनका धार पनि सजिलै यसबाट बुझ्न सक्नेछन्।
सहयात्रा र सहकार्य गर्ने हाम्रो परम्परा थियो। कुनै तीर्थयात्रामा जाँदा इष्टमित्र र भाइसाथीको सहभागिता रहन्थ्यो। घरायसी र सामाजिक कार्यमा पनि सबैको उत्तिकै चासो र तत्परता रहन्थ्यो। क्रमशः त्यो मान्यता बदलिँदै छ। निजी निर्णयले एकल यात्रा गर्ने समाजको रूपमा परिवर्तित हुँदै छौं। त्यसैले सहकार्यको बोध र महत्व बुझाउन पनि आरोहण समूहको गठबन्धन हामीले गरेका हौं। खण्डकाव्य त्रयोदशमा उमेरका क्रमले १३ जना कविका काव्य समावेश गरेका छौं।