सपनाको सेरोफेरोमा सल्बलाउँदा. . .

सपनाको सेरोफेरोमा सल्बलाउँदा. . .

न्युयोर्कको सेन्टर पार्कमा पुगेर थुप्रै साहित्यकारको जीवनी डायरीमा उतार्न सफल भएँ। तिनका तस्बिर हेर्दा भान भइरहेको थियो— तिनी कविता पढिरहेका छन्। तिनी कविता लेखिरहेका छन्। तिनको भौतिक शरीर जिउँदै छ।


सपना त्यो होइन जो राति सुतेपछि देखिन्छ, सपना त त्यो हो जसले सुत्न दिँदैन। पछिल्लो समय धेरै सुनेको वाक्य हो यो। सपनाबारेको फरक धारको यो भनाइले धेरै छोयो। सफल जीवन बनाउने यो महान् सूत्रअघि नै मैले सपनाको सन्दर्भ मनभरि पालेको थिएँ। जसरी बाल्यकालमा सपना प्यारो हुन्छ।

सन्दर्भ बालबालिकामै जोड्दै छु। उनीहरूलाई जे नगर भन्यो त्यही काम बढी गर्न खोज्छन्। म त्यस्तै थिएँ। भेट्न गाह्रो हुने चीज नै पाउन मरिहत्ते गर्छ मान्छे पनि। कालान्तरमा म पनि बालकबाट ठूलो मान्छे भएँ। त्यस्तै एउटा सपनाको सन्दर्भमा जोडिएको खुल्दुलीले आज मलाई त्यहीँ पुर्‍याएको छ, जसलाई विश्वकै नागरिकले ‘सपनाको देश’ भन्छन्। अमेरिका अर्थात् आमसपनाको देशप्रति पनि खुल्दुली थियो, जसको आकर्षण भनेकै ‘अमेरिकामा धेरै र भव्य विकास भएको छ। त्यहाँ अब विकास गर्नुपर्ने भन्ने अवस्था नै छैन। त्यहाँबाट शिक्षा हासिल गरेका व्यक्ति धेरै ठूला हुन्छन्। त्यहाँ विश्वका धनीमानी बस्छन्। त्यहाँबाट चन्द्रमा पुगिन्छ। डर, त्रास, शोषण, दमन, घूसखोरी, भ्रष्टाचार केही हुँदैन। स्वतन्त्रताको देश हो त्यो। जहाँको मुद्राले विश्वलाई तानेको छ। त्यहाँ समुद्रमुनि रेलगाडीहरू चल्छन्। मोटर बाटो पनि तीनतले हुन्छन्। त्यहाँ पुग्न हवाईजहाजमै अठार घण्टा लाग्छ। दिनरात नेपालमा भन्दा ठीक उल्टो हुन्छ।’
नेपालको सुदूरपश्चिममा पर्ने दार्चुलाको एक सर्वसाधारण नागरिक मैले अमेरिकाका बारेमा यस्तै के के सुनेको थिएँ के के ! म त्यो गाउँमा जन्मेको मान्छे जहाँ नेपाल र भारतका सिमाना नदीले छुट्ट्याएको छ। मेरो त्यो गाउँमा दुई देशलाई जोडेको छ, एउटा जीर्ण झोलुंगे पुलले। त्यही नदीमा कतै कतै तुइनमा भारी बाँधेर वारिपारि गर्नुपर्ने ठाउँको मान्छे पनि हो म। हाम्रा स्कुलका शिक्षकहरूले त्यति बेला पढाउने गर्थे, राजधानीमा ठूलाठूला घर हुन्छन्, सफा चौडा बाटाघाटा हुन्छन्। राजधानीमा राष्ट्रिय संग्रहालय पनि छ, जहाँ पुरातात्विक र ऐतिहासिक महत्वका सरसामान, हातहतियार हुन्छन्। त्यस बेला मजस्तो किशोरले नेपालकै राजधानी देख्नु पनि सपना थियो। कर्म र भाग्यवश राजधानी हेर्ने मेरो सपना पूरा हुन समय लागेन। तर पढेको र देखेको राजधानीमा फरक पाएँ। न यहाँ सफा सडक नै थिए, न त पढाइए जस्ता पुराना हतियार संग्रहालयमै। पढेको राजधानी त यस्तो छ, सुनेको अमेरिका कस्तो पो होला र भन्ठान्थें।

जुन १५ बिहीबार। पहिलो दिन थियो विश्वको राजधानीमा पाइला टेकेको। अमेरिकाको त्यही एयरपोर्ट, जहाँ सुदर्शन गुनी मैलाई पर्खिरहेका थिए। अर्थात् नेपाली जनरल कन्सुलेटका स्थानीय कर्मचारी जो आफ्नै मोटरमा बसेर मतर्फ मात्र आँखा हुत्याइरहेका रहेछन्। देख्नेबित्तिकै हतार–हतारमा आएर अँगालो मारे। उनी बसेको ठाउँ न्युयोर्कको क्विन्स ब्रोको ज्याक्सन हाइट। नेपालीको घना बस्ती अनि साउथ एसियनहरूको बस्तीले परिचित ज्याक्सन हाइट। बंगाली, पञ्जाबी, गुजराती, बाहुन, क्षेत्री, जनजातिहरूको घना बस्ती नजिकै रहेछ, सुदर्शनको अपार्टमेन्ट।

ठूलो चौडा कोठा, सम्पूर्ण सुविधासम्पन्न अग्लो घरको पाँचौं तलामा थकानको भारी बिसाएका थियौं। त्यसपछि विशाल सहर न्युयोर्कको नक्सा, गाइड बुक र सिमसहितको मोबाइल हातमा थमाइदिए उनले। ‘तपाईंलाई सहर घुमाएर ल्याउँछौं’ भन्ने शब्दले सपनाको सहरको यात्रा सुरु भएको स्मरण गरेथें। जति धाए पनि नभेटिने देशको नागरिक म सबैभन्दा पहिलो नजिकैको ट्रेन स्टेसन पुर्‍याइएँ। क्विन्स ब्रोका लागि प्रख्यात रहेछ, सेभेन ट्रेन। सन् १९१५ मै सञ्चालनमा आएको सेभेन ट्रेन आकाशमा कुद्दो रहेछ। नेपालमा यो कहिले ? १२ डिब्बाको सबैभन्दा लामो टे«न न्युयोर्क राज्यकै आकर्षक टे«न हो। आसपासकै यूएन हेडक्वार्टरको सुरक्षा परिषद् भवन अवलोकनका लागि पुगियो।

परिषद्मा नेपाली पनि कर्मचारी रहेछन्, देवी गौतम। उनैले सबैजसो तलाका विशाल सभाकक्षहरू पुर्‍याउनुभयो। विभिन्न राष्ट्रबाट आएका उपहारहरूले सजाइएका भित्ता र कक्षहरूको सौन्दर्य जति बाहिरबाट त्यो विशाल भवन देखिन्छ त्योभन्दा कम सौन्दर्य छैन भित्रका कक्षहरू। अरेबियन मुलुकबाट उपहारमा आएका रूखहरूका आकारमा बनाएका सुनका रूखहरू, हीराका र रत्नादी जडित हात्तीका आकार, सुनका धार्मिक मूर्तिहरू, सायद त्यो एउटा सुनको स्तूपामा थाइल्यान्डको नाम थियो। दोस्रो विश्वयुद्धमा बचेका अवशेषहरू जापानबाट ल्याएका रहेछन्। त्यो संग्रहालयमा अर्कोपटक जाने सोच बनाएको हँुदा विस्तृत लेखेको थिइनँ। विश्वका प्रत्येक बालबालिकाले पाउने सम्पूर्ण जीवनयापनका न्यूनतम आवश्यकता समावेश गरी युनिसेफले प्रस्तुत गरेको उसका एजेन्डाहरू देखेर विश्वका बालबालिकाहरूले पाएको छ वा छैन, त्यो त खोज्ने कुरो भएन। तर, त्यहाँ भने सम्पूर्ण पूरा गरेर देखाएको छ।

तत्काल यूएन हेडक्वार्टर मर्मत र रङरोगन गरिरहेको हुँदा अस्थायी बनाइएका घर र भाडामा लिइएका घरहरूभित्र राखिएका तस्बिरमध्ये त्यहाँ नेपालमा माओवादी जनयुद्ध समयको एउटा गोर्खाली नेपाली चेलीले बोकेको बन्दुकसहितको तस्बिर पनि रहेछ। सुनसान र ठूला हलको माझ सुरक्षा परिषद्को बैठक कक्षमा फोटो खिचाउँदाको आनन्द जति लेखे पनि कमै हुन्छ। त्यसपछि सुदर्शन आफ्नै बाटो लाग्नुभयो, म तिनले दिएको नक्सा पछ्याउँदै हिँड्न थालें।

सबैभन्दा रमणीय पर्यटन क्षेत्र म्यानहाटनको ब्याट्रीपार्कतिर लागें। ब्याट्रीपार्क समुद्रको छेउमा रहेछ। त्यहाँ एक ठाउँमा लामो लाइन थियो। आँखा घुमाउँदा देखें, स्ट्याचु अफ लिबर्टी। दर्शन गर्न पर्खेकाहरूको संख्याले दुईवटा कुरो बताइरहेको थियो— एउटा मानिस स्वतन्त्रताको पक्षमा छन्, अर्को मानिसलाई घुमघाम अति प्रिय छ। कुनै भगवान्का रूपमा स्थापित नभए पनि स्वतन्त्रताकी प्रतिमूर्ति मानेकाले त्यो हेर्न जानेलाई भक्तजन भनेको हुँ। स्टेटन आइल्यान्ड जान ‘विच’ अथवा पानीजहाज चढ्नुपर्छ। मिस इलिस आइल्यान्ड नामक सानो टापु भेटियो जहाँ सरकारका घर छन्। तीनतले पानीजहाज (फेरी)लाई चौथो तलामा बसेर पाइलटले हाँक्दो रहेछ। स्टेटन आइल्यान्ड फेरीलाई यातायात विभागले सञ्चालन गर्दो रहेछ। बीस मिनेटको समुद्री यात्रापछि भेटिइन् स्वतन्त्रताकी देवी। न्युयोर्क वाटर ट्याक्सी, लिबर्टी हेलिकोप्टर पोर्ट र इलिस आइल्यान्ड फेरिजका साथै स्टेसन आइल्यान्ड फेरीहरूले पर्यटकलाई सेवा दिँदा रहेछन्।
समुद्र बाँध्ने बेलामा सद्गति प्राप्त भएका वीर कालीगढहरूका काठमा कोरिएर ताम्रपत्रले बनेका मूर्तिहरूले पाएको सम्मान र पार्कभित्रको एक छेउमा ठुल्ठूला स्तम्भ बनाएर सेप्टेम्बर ११ मा दिवंगत भएकाहरूको नाम देख्दा कसको आँसु नझर्ला। त्यो लामो पर्खाइमा। मैले पनि मेरै पारामा चिर शान्तिको कामना गरें। त्यो पार्कबाट छुट्कारा त लिएँ तर जहाँ गए पनि उस्तै देखिन्छ; बाटो, मान्छे, घर, सहर, मोटर। के हेर्ने ? कति हेर्ने ? अत्यासलाग्दो परिवेश सिर्जना गर्छन् यी कृत्रिम संरचना र त्यसमा मिसिएका मानिसले। कहिले त आत्तिएँ पनि। साथका लागि सँगै हुनु जरुरी हुन्न भन्ने प्रमाणित अमेरिकाले नै गर्‍यो। सुदर्शनले समय–समयमा फोन गरिरहन्थे, दाजु कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?

न्युयोर्कस्थित मेयरको अफिस अर्थात् सिटी हलमा पुगें। सन् १७८९ मा प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले शपथ लिएको ठाउँ रहेछ अर्थात् संसद् भवन। जाँदै गर्दा मार्केटिङ एक्सचेन्जका भवनहरू देखिए। भवनै भवनका बीचमा अडिएको विश्वको अर्थतन्त्रलाई छहारी दिएको न्युयोर्क स्टक एक्सचेन्ज। रात होस् वा दिन, बाटोमा मान्छे होऊन् वा नहून्; सवारी चालकहरूले नियम पालना गरेको देख्दा जोकोहीलाई अचम्म लाग्छ नै। यस्तै ट्राफिक लाइटले इशारा दिँदा ट्राफिक लाइट नथाकेको देख्दा अनि आमजनताले समयलाई पछ्याएको देख्दा र राज्यले नागरिकलाई सिस्टममा बसालेको र नागरिकले राज्यलाई सहयोग गरेको देख्दा हाम्रा नेताहरूले जनताका लागि गर्ने भाषण र उनले गरेका कार्यहरू राजनेताले जनतालाई शोषण गर्ने फर्मुलाबाहेक अरू केही रहेनछ जस्तो लाग्यो। 

सिटी बस, कार वा जिप सबै राइट साइड डाइभ सिस्टमका बानी बसेका तर म बसमा बस्दा कहिलेकाहीँ झुक्किने गर्दथें। सहरचाहिँ झिलमिलाकार छ। रकफिलर सेन्टरमा इलिभेटर (लिफ्टको एक प्रकार) मार्फत दुई तला तल सबवे भित्रको रौनक देख्दा दिन हो कि रात छुट्ट्याउनै मुस्किल पर्‍यो। यसअघिका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको घरनजिक रहेछ, कोलम्बस सर्कल। यसको मुनिबाट आएको आवाजले महाकाली नदीमा गर्जेको भेल सम्झायो। त्यो आवाज जमिनमुनि चल्ने मेट्रोको रहेछ। त्यहाँको भीडभाडले मालिकार्जुनको जात्रामा दमाहा नाचलाई सम्झें। मान्छे मात्र फरक, अनुहार मात्र फरक तर भीड उस्तै। रकफिलर अर्थात् सहरका धनाढ्य जसले यूएनलाई जमिन दान दिएका रहेछन्।

म्यानहाटनको मध्य भागमा अवस्थित इम्पायर बिल्डिङ पर्यटनको एक आकर्षण बिन्दु हो। त्यो टावरको टुप्पोबाट देखिने न्युयोर्क झिलमिलाकार त नेपालको चाड तिहारमा स्वयम्भूबाट पनि देखिन्छ भनी मनमा खुसी बोकें। ठुल्ठूला र अग्ला भवनको आधा भागबाट भुइँमा हेर्ने हो भने कमिलाभन्दा साना देखिन्छन् मान्छेहरू। त्यो अनुभव इम्पायर टावरले दियो। मुन्टो बटारेर माथि देखिने कुनै चान्स छैन। एक घण्टाको आनन्दले टुप्पोबाट तल झार्‍यो। सायद टुप्पोको तल दोस्रो तला हुनुपर्छ। विशाल हलमा पर्यटकको सामान खरिदबिक्रीको भीड र रेस्टुराँमा खानेहरूको ताँतीले कहीँ हराएँ त्यतै। तल्लो तलामा फोटो खिच्नेहरूको भीडभाड। हामीले पनि आफ्नो अभिलेख राख्यौं, क्लिक गर्नेबित्तिकै फोटो तयार पार्नेलाई बीस डलर तिरेर। एकैछिनमा बीस डलर झ्वाम्म। कति जानेका पैसा कमाउन !

सहरको मुटु सेन्टर पार्क गएँ। सेन्टर पार्क १८५९ मा निर्माण भएको रहेछ। न्युयोर्क घुम्न जाने जोकोही पनि सेन्टर पार्क पुगेन भने त्यो न्युयोर्क गएको ठानिँदैन। त्यो पार्कका डिजाइनर दुईजना रहेछन्। पार्कभित्र अमेरिकी साहित्यकारहरूका सग्ला ढलौटका तस्बिर र तिनको जीवनीसहित शिलालेखमा लेखेको देख्दा नेपाली साहित्यकार भानुभक्त सम्झें। अनि सम्झें, मोतीराम, शंखधर र देवकोटा। सायद अमेरिकामा बसेका नेपाली कहिलेकाहीं नेपाली साहित्यलाई सम्झने मार्ग यो पार्क पनि हो कि जस्तो ठान्छु। तर धेरै जसोलाई थाहा नै रहेनछ।
सातवटा उपन्यास लेखेर सन् १९५४ मा साहित्य विधातर्फ नोबेल पुरस्कार पाएका अर्नेस्ट हेमिङ्वेको तस्बिर क्यामरामा कैद गरेको थिएँ। त्यहाँ भएका थुप्रै साहित्यकारको जीवनी डायरीमा उतार्न सफल भएँ। तिनका तस्बिर हेर्दा भान भइरहेको थियो। तिनी कविता पढिरहेका छन्। तिनी कविता लेखिरहेका छन्। तिनको भौतिक शरीर जिउँदै छ। हातको पुस्तक कसैलाई उपहार दिँदै हुनुहुन्छ। अब बोल्न तयार हुनुभएको छ। विभिन्न आकारप्रकारमा हुबहु बनाइएका मूर्तिले त राष्ट्रबाट पाएको सम्मान त यस्तो छ भने जिउँदा साधकलाई के कम गर्छ होला राष्ट्रले।

त्यहाँको पैसाको महत्व पनि त्यत्तिकै छ, जति मान्छेलाई आवश्यक पर्छ। २५ पैसालाई क्वार्टर, १० पैसालाई डायम, पाँच पैसालाई निक्कल र एक पैसा (सेन्ट) लाई पेनी भन्दा रहेछन्। एक, पाँच, १०, २०, ५० र १०० का नोटहरू चलनचल्तीका रहेछन्। एक डलरको नोटमा जर्ज वासिङ्टनको तस्बिर हुन्छ भने पाँचको नोटमा लिंकन, १० को नोटमा ह्यामिल्टन, २० को नोटमा ज्याक्सन, ५० को नोटमा ग्रान्ट र १०० को नोटमा फ्य्रांकलिनको तस्बिर हुन्छ। तर, रङमा कुनो कतै फरक भए पनि सबै नोटको साइज भने एउटै छ। यति अनि अरू थुप्रै कुराले अब भने मलाई सुत्न दिएको छैन। अर्थात् त्यो सपना जो रातमा देखिएको होइन, थिएन। त्यसले मलाई नेपाल पनि अमेरिका जस्तै भव्य विकासको उच्चतम् तहमा पुर्‍याउनुपर्छ भनेर सुत्न दिएको छैन। म यो सपना तपाईं सबै नेपालीका आँखामा पुगोस् भनेर न्युयोर्कबाटै कामना गरिरहेछु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.