भैरहवा भन्सारले जाँच नगरी छाडेको गाडीमा पेस्तोल
भैरहवा : भन्सार छलेर भारतबाट भित्रिएको मालवाहक गाडीबाट पेस्तोल बरामद भएको छ। सिसिटिभी फुटेजमा देखिए अनुसार ०७६ जेठ ६ गते सुनौली–बेलहिया नाकाबाट उक्त मालवाहक गाडी मुख्य बाटो हुँदै भैरहवा भन्सारको कर्मचारीकै अगाडिबाट मुलुकमा भित्रिएको थियो। जुन गाडीलाई कुनै पनि भन्सार कर्मचारीले रोक्ने वा सोधखोज नगरेको सिसिटिभी फुटेजमा देखिएको थियो। जसकारण पेस्तोल ल्याइएको उक्त गाडी मुलुकमा सहजै प्रवेश गरेको थियो।
भन्सार कर्मचारीले भन्सार र चेकजाँचबिना छाडेको गाडीलाई प्रहरीले चेकजाँच गर्दा प्रज्ञापन पत्र (भन्सार) नभएको पाइएपछि प्रहरीले उक्त गाडी र गाडी चालक बलवन्त सिंहलाई नियन्त्रण लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवललाई बुझाएको थियो। पेस्तोल राखिएको उक्त मालवाहक गाडी काठमाडौं जान लागेको थियो।
राजश्व अनुसन्धानको नियन्त्रणमा रहेको जीजे ०६ एजेड ६३५९ नम्बरको गाडीमा पेस्तोल लुकाएर राखिएको सूचना पाइएपछि राजश्व र प्रहरीको संयुक्त टोलीले जाँच गर्दा गाडीबाट पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव प्रवक्ता सत्यबहादुर थापाले बताए। उनका अनुसार ‘वेबले.३२’ लेखिएको कम्पनी निर्मित उक्त पेस्तोल गाडीको एअर फिल्टरबाट बरामद भएको हो। पेस्तोल बरामद भएको उक्त गाडी भारतको गुजरात राज्यको यातायात विभागमा दर्ता छ। उक्त गाडी गुजरात राज्य स्थित सायापुराकी दर्शनादेवी भलोठियाको हो।
डेढ वर्षअघि प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको उक्त गाडीबाट करिब ३८ मूल्य बराबरको एक हजार ३ सय ८८ कार्टुन बच्चाको डायपर र सेनेटरी प्याड बरामद भएको थियो। जसमध्ये ‘मम्मी पोको पेन्ट्स’ ब्राण्डको ५ सय ५० कार्टुन डायपर र ८ सय ३८ कार्टुन सेनेटरी प्याड रहेको थियो। उक्त साम्रगीहरु काठमाण्डौँको नेपाल ओभरसिज मार्केटिङ कम्पनीले प्रालिले आयात गरेको अनुसन्धानमा पाइएको थियो।
‘त्यसबेला घटनाको अनुसन्धान गरेर गाडीका चालक र आयतकर्ता उपर अदालतमा मुद्दा दायर भएको फाइलबाट देखिन्छ’ राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन कुमार बि.सीले भने, ‘अहिले पेस्तोल बरामद भएपछि घटनाबारे थप बुझ्दैछौँ।’ पेस्तोल किन र कसले भित्राएको लगायतको विषयमा थप अनुसन्धान भइरहेको रुपन्देहीका डिएसपी थापाले जानकारी दिए।