‘कहाँ पुष्टि भयो बहुमत ?’

‘कहाँ पुष्टि भयो बहुमत ?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमा होमिइसकेको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिबार आफू नेतृत्वको नेकपाको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय तयारीमा जुटिसकेको बताएका हुन्।

ओलीले राजनीतिक पार्टीहरू पनि चुनावमा लागेको र जनता पनि नयाँ जनादेशका लागि आतुर भइसकेको अवस्थामा अब प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताए। प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्दै केही मान्छेले जनतालाई भड्काउने र झुक्याउने प्रयास गरिरहे पनि त्यो सम्भव नहुने उनले बताए।

‘प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णयमा म किन पुगें ? किनभने, लोकतन्त्र खतरामा प¥यो। संविधान खतरामा प¥यो। स्थायित्व र स्थिरता खतरामा प¥यो। उहाँहरू (दाहाल–नेपाल)को योजना के हो ? जाली समाचारहरू केही पत्रिकामा छपाएर मान्छेलाई भड्काउन झुटा समाचार प्रायोजित रूपमा प्रचार गराइएको छ’, ओलीले भने, ‘पुनःस्थापना भयो भने फलानोलाई प्रधानमन्त्री बनाउँछु, पुनःस्थापना हुने कुरा आयो कहाँ ? पुनःस्थापना कसले हुन्छ भन्यो ? पुनःस्थापना हुन्छ भनेर अहिले दुई–चार जना मान्छे झुक्याउन उहाँहरूले भन्नुहोला। तर, पुनःस्थापना हुँदैन।’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेका वेला ओलीले पुनःस्थापना हुनै नसक्ने दोहो¥याएका हुन्। त्यस क्रममा उनले चार्ली चाप्लिनको कथा सुनाउँदै अदालतले कुन सक्कली चार्ली चाप्लिन हो भनेर छुट्ट्याउन सक्ने धारणा व्यक्त गरे । 

‘एकपटक चार्ली च्याप्लिनको क्यारिकेचर गरेर कम्पिटिसन भयो। केही प्रतिस्पर्धी भए। चारवटा फाइनलमा गए। त्यहाँ चार्ली चाप्लिनले पनि भाग लिए पनि फाइनलमा पुगेनन्। अर्काे पुगे’, उनले भने, ‘हाम्रो अदालत चार्ली चाप्लिन कुनचाहिँ हो भनेर छुट्ट्याउन नसक्ने खालको छैन। खुट्टा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ। अनुहार हेरेर चिन्छ। अनेक हिसाबले चिन्छ, कुम हल्लाएको हेरेर चिन्छ।  चार्ली चाप्लिन चिन्न हाम्रो अदालतले सक्छ। हाम्रो निर्वाचन आयोगले गल्ती गर्दैन। हाम्रा न्याय निरुपण गर्ने निकायले गल्ती गर्दैन। इतिहास सबैलाई थाहा छ। त्यसकारण साथीहरू ढुक्क हुनुहोस् सूर्य चिह्न हाम्रो हुन्छ। पार्टी हाम्रो हुन्छ ।’

उनले झन्डै ६४ प्रतिशत मत सर्वसम्मत प्राप्त गरेको दलका नेताले सरकार चलाउँदिनँ र ताजा जनादेशमा जान्छु भनेपछि सरकार बनाउने अर्काे विकल्प नै नरहेकाले पनि प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने कदम संवैधानिक भएको बताए। ‘प्रतिनिधिसभा कहीँ पुनःस्थापना हुन्छ कि ? केही साथी अझै भ्रममा हुनुहुन्छ। दुईतिहाइ झन्डै ६५ प्रतिशत दलको सर्वसम्मत नेताले म सरकार चलाउन ताजा जनादेशमा जान्छु भनेपछि कहाँबाट विकल्पको सरकार बन्छ ?’, उनले भने, ‘छानो चुहियो अर्काे बनाउँछु भनिसकेपछि छानो चुहियो पुरानै छानो चाहियो भनेर हुन्छ कहीँ ? पुरानो छानो फेरि फर्किन्छ र ? त्यस्तो हुँदैन। अर्काे कुनै विकल्प छैन।’

उनले पार्टीमा आफ्नो बहुमत रहेको दाबी गरिरहेका दाहाल–नेपाल पक्षलाई गफ गरेर नबस्न आग्रह गरे। ‘उहाँहरूले बहुमत हाम्रो छ भन्नुहुन्छ। गफै त हो सम्धी भनेजस्तै हो त्यो। कहाँबाट आयो बहुमत उहाँहरूसँग ? कहाँबाट पुष्टि हुन्छ ? कुन महाधिवेशनबाट आयो बहुमत उहाँहरूसँग ? कुन अधिवेशनले भन्यो ? कहाँ छ बहुमत ? कुनै एउटा जिल्लामा, एउटा निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुस् ?’, उनले चुनौती दिँदै भने, ‘दाबी पनि कस्तो ? रेस्लिङ खेलमा रेस्लरहरूले लड्नु ओर्नु कता हो कता, पहिले नै ताज खोसेर लिन खोन्छन्। तर, रेस्लिङको कोटमा गएपछि मुक्का खाएर उही हो पारा ! उहाँहरूको त्यस्तै हो। पहिले नै माला लगाउन खोज्ने ? बहुमत छ ? कहाँ पुष्टि भयो बहुमत ? कसले दियो बहुमत ? कुन कार्यकर्ता, तपाईंहरूले भोट होल्नुभयो ? तपार्इंहरूले गल्ती गरेर पनि भोट हाल्नुहुन्छ ?’

उनले निर्वाचनमा दुई अंकको सिट जितेर देखाउन पनि दाहाल–नेपाललाई चुनौती दिए। ‘उहाँहरू ठूला कुरा गरेर हिँडिरहनुभएको छ। हाम्रो प्रत्यक्षमा १६५ सिट आउँछ। म अहिले धेरै नबोलौं। धेरै बोल्दा उहाँहरू हच्किने सम्भावना हुन्छ।  ठिकै मात्र भन्छु। कमसेकम दुइटा अंक भएको, दुइटा अंकसम्मको सिट ल्याएर देखाउनुस्’, उनले भने। उनले बहुमत कोसँग छ भन्ने वैशाख १७ र २७ गतेको निर्वाचनबाट देखिने बताए। 

उनले दाहाल र नेपाल पक्षले आधिकारिक नेकपा र चुनाव चिह्न सूर्य आफ्नो भन्दै निर्वाचन आयोगमा दाबी पेस गरेकामा व्यंग्य गरे। ‘उहाँहरूले असली हामी भनेर निर्वाचन आयोगमा निवेदन हाल्नुभएको रहेछ। यो बरमझियाको बुढाको पेडा पसल हो असली र नक्कली भनेर भन्नलाई ? जसको घर हो, ऊ निवेदन हाल्न जान्छ ? जसको जमिन हो, उसले यो जमिन मेरो हो भनेर निवेदन हाल्न जानुपर्छ ? अनि जसको गाडी हो, उसले यो मेरो गाडी हो भनिरहनुपर्छ ?’, उनले भने, ‘हामीले बनाएको पार्टी, त्यसकारण हामी निवेदन हाल्न गइरहनुपर्ने अवस्था छैन। विधिसम्मत लोकतान्त्रिक, संविधानसम्मत, पार्टीको विधानअनुसार, नियमावली, देशको कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौं। अब भेट्नु कुहिएर झरेका दुइटा फलहरूले रूख नै मै हुँ भनेर दाबी गर्ने ?’

उनले पुष्पकमल दाहाललाई पार्टीको अध्यक्ष  र माधवकुमार नेपाललगायतलाई वरिष्ठ नेतामा अझै राखिरहेको बताए। ‘उहाँहरू फर्कनुहुन्छ, उहाँहरूले छनक पाइसक्नुभएको छ। त्यसकारण उहाँहरूलाई ठाउँ राखेको छ हामीले। केन्द्रीय कमिटीमा उहाँहरूको  ठाउँ राखिएको छ जस्ताको तस्तै’, उनले भने, ‘यत्ति हो, अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन। अब फर्केर आउँदा थान्कोमा राखिनेछ। थान्कोमा बस्नुपर्छ।  पार्टीको हितमा काम गर्नुपर्छ। पार्टीको कार्यकर्ताझैं बोल्नुपर्छ। अनेक जालझेल र गुटबन्दी गर्न पाइँदैन। व्यक्ति फर्के पनि प्रवृत्ति फर्किन दिइनेछैन। गुटबन्दी फर्कन दिइनेछैन।’

उनले दाहाल–नेपाल समूहको आन्दोलनप्रति कटाक्ष गरे। रत्नपार्कमा सिसाको भाडामा औषधि बेच्नेहरूले पनि दाहाल–नेपाल समूहले उतारेजति मानिस जम्मा गरिदिने उनको भनाइ थियो। ‘पेरिसडाँडामा बसेर यति गते सर्वदलीय भेला, यति गते प्रदेश भेला यस्तो उस्तो भनिरहनुभएको देखिन्छ। अहिले अलि मान्छे छ, सिसीमा औषधि बेच्ने, त्यसले पनि रत्नपार्कमा जम्मा गर्छ। उहाँहरूको आन्दोलनमा त्योभन्दा बढ्ता मान्छे जम्मा हुनेवाला छैन। रत्नपार्कमा सिसीमा औषधि बेच्ने, टाउको दुखेको, पेट दुखेको आन्द्रा दुखेको, गानुगोला भएको, पिनास भएको सबैको औषधि बेच्ने सिसीवालाहरू रत्नपार्कमा औषधि बेच्ने वालाको जस्तै। उहाँहरूको हालत त्यही हो’, उनले भने, ‘उहाँहरूसँग राजनीति छैन। उहाँहरूको एजेन्डा जनता होइन, लोकतन्त्र होइन, संविधानको रक्षा होइन। यी सबै भन्ने कुरा मात्र हो। देशको नक्सा छाप्दा कत्रो पीडा छ। उहाँहरू सपना फेरि कत्रो देख्ने कि अचम्म लाग्छ, केपी ओलीलाई निकाल्ने रे ! निर्वाचन आयोगमा पनि पत्र पठाएछन् केपी ओलीलाई निकालेको भनेर। निर्वाचन आयोगका आयुक्तहरू कति हाँस्दा हुन् मलाई थाहा छैन।’

दाहाल–नेपाल समूहको खास प्रतिगमनको तयारी रहेको र त्यसलाई रोकेर आफूले स्टेयरिङ सोझ्याएको उनको भनाइ थियो। ‘उहाँहरूले दुईतिहाइ भएको पार्टी फुटाउने, अनि विभिन्न तŒवसँग  साँठगाँठ गर्ने र विभिन्न जोडजाम गरेको पुतली सरकार बनाउने, आफ्नो दुईतिहाइको सरकार ढाल्ने, पार्टी एकता भताभुंग पार्ने अनि विभिन्न तत्व जोडेर सरकार बनाउने अनि अस्थिरताको खेल सुरु गर्ने, जनतालाई निरशा पार्ने, विकासलाई अवरोध गर्ने उहाँहरूको प्रयास त्यही हो’, उनले भने, ‘हामीले त्यसलाई रोक्नु थियो, स्टेयरिङ सोझ्याउनु थियो, सोझ्याएका छौं।’

पहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालका प्रधानमन्त्रीको चर्चासमेत नहुने तर अहिले भारतका हरेक मान्छेलाई नेपालका प्रधानमन्त्री को छ भनेर सोध्दा सबैले थाहा पाउनेसम्मको अवस्था बनेको उनको भनाइ थियो। भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई नेपालको राष्ट्रिय आकांक्षा थाहा भए पनि दाहाल, नेपाल र झलनाथ खनाललाई थाहा हुन नसकेको आरोप उनले लगाए।

‘उहाँहरूले कहिले बोलेको सुन्नुभयो तपाईंहरूले ? यो राष्ट्रिय आकांक्षासँग उहाँहरूको वैरभाव किन ?’, उनले भने, ‘एउटा भनाइ छ नि ढुंगा बोल्ला तर उहाँहरू बोल्नुहुन्न। किनकि उहाँहरूलाई चित्त दुख्छ। यसको जस कसैलाई जान्छ कि ?’ उनले आफूलाई जस र श्रेयसँग कुनै चासो नरहेको भन्दै देशमा विकास र काम हुनुपर्ने मात्र आफ्नो ध्याउन्न रहेको बताए। दाहाल र नेपालले सधैँ कुर्सीमा मात्र आँखा लगाएको ओलीको आरोप थियो।

गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापाले संसद्मा बहुमत बनाएर अविश्वास प्रस्ताव दर्ता गरी राजनीतिक ‘कु’ गर्न खोजेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए। प्रधानमन्त्रीको कदम प्रतिगमनलाई रोक्ने साहसिक कदम भएको थापाको भनाइ थियो। ‘संसद् जहाँ नेकपाको दुईतिहाइ मत छ। स्थिरताको संयन्त्र थियो’, मन्त्री थापाले भने, ‘अस्थिरताको संयन्त्रमा परिणत गरी आफ्नै नेतृत्वलाई विस्थापित गर्ने भएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्नुभयो। यो संवैधानिक भन्दा पनि राजनीतिक हो। राजनीतिक ‘कु’ र प्रतिगमनलाई रोक्ने प्रधानमन्त्रीको कदम साहसिक कदम हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.