मधेसका आमा, जो अरूकै नामले चिनिन्छन्

मधेसका आमा, जो अरूकै नामले चिनिन्छन्

जनकपुरधाम : उनी ५० वर्षकी भइन्। गाउँमा मेघपुरवाली भनेर चिन्छन्। योभन्दा बढी चिन्नु/चिनाउनुपर्‍यो भने सिरिठ सदाकी घरवाली भनेर परिचय दिइन्छ। कतिपयले रामलोचनकी आमा भनेर पनि चिन्छन्।

महोत्तरीको मधवा गाउँकी मेघपुरवालीलाई आमाबुवाले राखिदिएको नाम हो, सरिता सदा। भारतको विहार राज्यको मधुवनी जिल्ला मेघपुर गाउँ उनको माइत हो। १२ वर्षकै उमेरमा बिहे गरी मधवा आइन्। बिहेपछि उनको नाम फेरियो र उनी भइन्, मेघपुरवाली।

भोटका बेला, जग्गाजमिन बेच्नुपर्दा वा राहत बाँड्न कोही गाउँ आएका बेला मात्रै मेघपुरवालीको खास नाम सोधिन्छ। अरू बेला त गाउँ, पति वा छोराको नामै उनको पहिचान हो।

तपाईंको नाम के हो ? यसरी सोध्दा करिब ४५ वर्षीय बिसनपुरवाली लजाइन्।

उल्टै उनले प्रश्न गरिन्, ‘नाम सोधेर के गर्नुहुन्छ ?’

तब जवाफ दिइन्, ‘नाम त कुनै काम हो भने मात्रै भन्ने हो। अरू बेला त गगनदेवकी स्वास्नी वा बिसनपुरवालीबाटै चिनिने हो।’

राजनीतिक सभामा सहभागी हुन जनकपुर आएका महिला । तस्बिर : मनिका झा

उनको नाम पुनिता झा रहेछ। तर, यो नाम बाहिर त के घरपरिवारमा पनि अधिकांशलाई थाहा छैन। यस्तै, जनकपुर माइत भएकी कुम्दिनी झाको बिहेपछि नामै जनकपुरवाली भयो। उनका नातिनातिनीलाई हजुरआमाको नाम के हो भनेर सोध्दा कसैलाई थाहा छैन। हजुरबुवाको नाम भने सबैलाई थाहा छ।

६० वर्षीया मरनीदेवी साहको नाम १९ वर्षअघिसम्म गाउँमा धेरैलाई थाहा थिएन। जलेश्वर माइत भएकाले सिमरदहीमा उनको नाम जलेश्वरवाली भयो। तर, बोक्सी आरोपमा उनीमाथि निर्घात कुटपिट भएपछि जब मुद्दा प्रहरी–प्रशासनमा पुग्यो तब मरनीदेवी भनेर उनको नाम थाहा भयो।

‘महिलाहरूको कहाँ आफ्नो नाम हुन्छ !’, जनकपुरमा आयोजित एक कार्यक्रममा भेटिएकी मरनीदेवीले भनिन्, ‘कि त कुनै काण्डमा बदनामी भयो भने सबैले महिलाको नाम थाहा पाउँछन्। होइन भने ठूलै पद पायो भने। नत्र त फल्नाको घरवाली फल्नाको आमा नै हाम्रो नाम हो।’

समाजमा पुरुषको हावी भएकाले महिला बेनाम भएको साहित्यकार तथा पत्रकार रामभरोष कापडी बताउँछन्। कापडीका अनुसार मैथिली संस्कार र संस्कृतिमा सामान्यतः महिलालाई नाम राखेर बोलाउने परम्परासमेत हुँदैन।

‘यो मैथिली परिवारको प्राचीनतम परम्परा र मर्यादा थियो, जसले हालसम्म पनि निरन्तरता पाएको छ’, कापडी भन्छन्, ‘यसलाई म महिलाको अपमानका रूपमा नभई सो बेला सम्मानकै लागि गरिने सम्बोधनका रूपमा लिन्छु। मैले चिनेका कतिपय महिलाको असल नाम के हो भनेर तिनको जीवनपर्यन्त थाहा पाइनँ। फलानोकी काकी, फलानो गाउँवाली वा फलानोकी पत्नी भनेरै चिनें। उहाँहरू त्यही परिचय बोकेर मृत्युवरण पनि गरिसक्नुभो।’

प्रदेश २ की प्रदेशसभा सदस्य रानी शर्मा तिवारी शिक्षाको स्तर बढ्यो भने नाम पनि चिनिन थाल्ने बताउँछिन्। ‘महिलालाई पुरुषको छत्रछायामा बस्नुपर्ने र उसले नै दिएको पहिचानबाट परिचित हुनुपर्ने बाध्यात्मक परिवेश मधेसी समाजमा बनाइएको छ’, सांसद तिवारी भन्छिन्, ‘तर, बिस्तारै यो परिवेशमा परिवर्तन आउन थालेको छ।’

अधिवक्ता विमल मिश्र महिला वा पुरुषबीच कानुनी रूपमा कुनै विभेद नभए पनि सामाजिक स्तरमा महिलालाई पछाडि पार्न बेनाम राख्ने गरिएको बताउँछन्। महिलाको बिहेपछि पहिचान र मान्यतामा ‘नवसंस्कारीकरण’ होस् भन्ने अभिप्रायले पनि नाम बद्लिने वा नयाँ नामै राखिदिने चलन रहेको साहित्यकार डा. राजेन्द्र विमल बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.