बालकमाथिको बर्बरता

बालकमाथिको बर्बरता

थोरै माया र सानो प्रलोभनमा पनि सजिलै रत्तिने स्वभाव अधिकांश बालबालिकामा हुन्छ। कलिलो दिमाग भएकै कारण उनीहरू कुनै कुराको फाइदा र बेफाइदासमेत छुट्ट्याउन सक्दैनन्। उनीहरू आफूभन्दा ठूलाले भनेका कुरामा सजिलै विश्वास गर्छन् र खुसी दिन सकियो भने जस्तोसुकै समर्पण गर्न पनि पछि पर्दैनन्। समाजमा आपराधिक गतिविधि गर्न पल्केकाहरूले भने अबोध बालबालिकाको यही अन्जानपनको फाइदा उठाउँदै अपहरण तथा हत्यासम्मको शृंखला बढाइरहेका छन्। व्यक्तिगत अभीष्ट पूरा गर्ने नाममा बालबालिकालाई बलिको बोको बनाउनु भनेको समाजमा सबैभन्दा निकृष्ट र जस्तोसुकै दण्ड दिए पनि कमै हुने आपराधिक काम हो। यस्ता कुकर्ममा लाग्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ र बालबालिका जोगाउन समाजमा सामूहिक रूपमा जनचेतना फैलाउनुपर्छ।

बालबालिका हत्या र अपहरणका पछिल्ला घटना विश्लेषण गर्ने हो भने अधिकांशमा आर्थिक लेनदेनको विषय जोडिएका हुन्छन्। कतै परिवारका सदस्यबीचको लेनदेनसँग सम्बन्धित छन् भने अपहरण गरेर परिवारबाट फिरौती उठाउने नियतले पनि यस्ता घटना भएका छन्। कहिलेकाहीं बलात्कार तथा यौन शोषणका कारणले पनि बालबालिकालाई मृत्युको मुखसम्म पुर्‍याउने गरेको छ। जेजस्तो प्रकृतिका विवाद भए पनि कुन सत्य र कुन असत्य हो भन्नेसमेत पहिल्याउन नसक्ने बालबालिकाको हत्या गर्नु जघन्य अपराध हो। हत्याको बदला हत्या नै हुने कानुनी व्यवस्था नभए पनि देख्ने र सुन्नेका लागिसमेत आङ सिरिङ्ङ हुने गरी कारबाही हुने हो भने यस्ता गतिविधिमा कमी ल्याउन सकिन्छ। पछिल्लो समय धनुषाको विदेश नगरपालिकामा पाँच वर्षीय अभिनन्दन रायको घाँटी थिचेर हत्या भयो। हत्याको कारण यकिन नभए पनि प्रारम्भिक अध्ययनबाट पारिवारिक सदस्यबीचको लेनदेन विवादकै कारण रायको हत्या भएको खुलेको छ। यो घटनामा रायलाई फकाएर चाउचाउ खान दिन्छु भन्दै स्थानीय ब्रह्मदेव रायका घरमा पुर्‍याइएको थियो। चाउचाउ खाएर बच्चा सुतेपछि ब्रह्मदेवको परिवारका सदस्यले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। बाबुआमबीचको लेनदेनका विषयमा छोराको हत्या हुनु भनेको अज्ञानताको पराकाष्ठा हो।

बालबालिका हत्याको कतिपय घटना बेलैमा सुरक्षाकर्मी परिचालन नहुँदा पनि हुने गरेको छ। अभिनन्दन हराएको खबर पाउनेबित्तिकै सुरक्षाकर्मी परिचालन भएको भए पनि केही घटनाबारे सुरक्षाकर्मीले थाहा पाएर पनि गम्भीरताका साथ नलिएको गुनासो यसअघि थुप्रै आएका थिए। साथै हत्याराको पहिचान भए पनि उच्च राजनीतिक तथा प्रशासनिक पहुँचका कारण कानुनी कारबाहीबाट जोगाउने गरेको उदाहरण पनि प्रशस्तै छन्। यति मात्रै होइन, निमुखा परिवारका सदस्यले त वर्षौंसम्म न्याय पाउन नसकेको दृष्टान्त पनि छर्लंङ छ। यो प्रवृत्तिमा सुधार हुन जरुरी छ। बालबालिकाको व्यक्तिगत सुरक्षा विषयलाई विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नुपर्छ। अपरिचितको सम्पर्कमा नजाने, उनीहरूले दिएको केही पनि नखाने, कसैले फकाउन खोज्ने भने परिवारका सदस्यलाई सोधेर मात्र निर्णय लिनुपर्नेलगायतका विषयका ज्ञान बालबालिकालाई सिकाउन सकियो भने व्यक्तिगत सुरक्षामा सहयोग पुग्न सक्छ।

यतिखेर गाउँमै बलियो स्थानीय सरकार छ। उनीहरूले टोलटोलमा समिति बनाउने, स्वयंसेवक परिचालन गराउने, भित्तेलेखन तथा नारा लगाउने, सुरक्षामा सावधानी अपनाउनेलगायतका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। बालबालिका हराएको विषयमा समयमै खबर पाउँदा हलुका रूपमा लिने तर घटनाले विकराल रूप लिएपछि मात्रै चासो दिने प्रशासनको व्यवहार सुध्रिन जरुरी छ। मुख्य कुरा तीनै तहको सरकार महिला तथा बालबालिकाको सुरक्षामा संवेदनशील हुनुपर्छ। महिला तथा बालबालिकाको सुरक्षा सबालमा बनेका कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। आफ्ना नानीबाबुको सुरक्षामा अभिभावकले पनि उत्तिकै चासो दिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.