मनोबल, लोकतन्त्र र राजनीति
जनतालाई क्षणिक भ्रममा पारी शासन गर्ने कलामा पोख्त राजनीतिज्ञको मनोबल जनतासामु गिरेकोमा सन्देह रहँदैन
राजनीतिबारे चर्चा गर्दा एकपटक नेपालको इतिहासको अध्ययन गर्नुपर्ने हुन्छ। अमरसिंह थापाले अंग्रेजसँगको युद्धमा नेपाल तर्फबाट कमान्ड सम्हालेका थिए। नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहलाई ठूलो सहयोग गरे। अंग्रेजसँगको युद्धमा पराजित हुनुपूर्व अंग्रेज सेनापतिले तराईको ठूलो भूभाग अमरसिंहलाई व्यक्तिगत हिसाबले दिई युद्धबाट पछि हट्न दिएको प्रलोभनलाई अस्वीकार गरी अन्तिम अवस्थासम्म बहादुरीका साथ युद्धमोर्चा सम्हाले तापनि पराजित भएकाले गिरेको मनोबल लिएर गोसाइँकुण्ड गई आफ्नो जीवन उत्सर्ग गर्न पुगे। भीमसेन थापाले टिस्टादेखि सतलज नदीसम्म आफ्नो क्षेत्र विस्तार गर्न अद्वितीय भूमिका निर्वाह गरे। यी मोर्चा सम्हाल्दा नेपाली सेना र शासकहरूको मनोबल उच्च थियो। उच्च मनोबलकै कारण भाला र भरुवा बन्दुकको सहारामा नेपाली सेनाले ठूलो संख्यामा आएको अंग्रेजहरूको सेनालाई सिन्धुलीगढीको युद्धमा पराजित गर्न सफल भएका हुन्। यी सबै घटनामा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्रका लागि समर्पित हुँदा सफलता हात लाग्न सकेको हो। यस अर्थमा अमरसिंह थापा र भीमसेन थापाको नाम नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिएको छ।
राणाहरूले राजाको अधिकार बलपूर्वक छिनेर इस्ट–इन्डिया कम्पनीलाई आफ्नो पक्षमा राखी लामो समयसम्म एकतन्त्रीय शासन गरे। भारत स्वतन्त्र भएपछि कम्पनीको समर्थनमा निरन्तरता पाइराखेका राणाहरूको शासन डग्मगायो। गिरेको मनोबलका साथ शासन गरिराखेका राणाहरूको सम्बन्ध नेपाली जनता, स्वतन्त्र भारत र नेपालका राजा सबैसँग राम्ररी अघि बढ्न नसक्दा शासनबाट च्युत हुनुपर्यो। २०१५ सालमा प्रथम जननिर्वाचित सरकार अल्पअवधिमा राजा महेन्द्रको कोपभाजनमा परी प्रजातन्त्रप्रेमीहरूले अत्यन्त दुःखकष्ट र यातना सहनुपर्दा पनि जनताको माया पाइरहँदा उनीहरूको मनोबल सदैव उच्च रहन पुग्यो। यही कारणले जनताले २०४६ सालको जनआन्दोलनमा यस दलको नेतृत्वलाई उत्साहका साथ समर्थन गरे। देशमा बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भयो।
प्रजातन्त्रको पुनः प्राप्तिपश्चात् नेपाली कांग्रेसकै नेतृत्व र एजेन्डामा आन्दोलन सफल भएकाले २०४८ सालको निर्वाचनमा यस दलका कार्यकर्ता र नेताहरूको मनोबल उच्च रहन पुगेको थियो। कांग्रेस मुख्य दल र अन्य सहायक दलका रूपमा जनतामा प्रभाव पार्न सफल भएकाले उक्त निर्वाचनमा यस दलले आरामदायी बहुमत प्राप्त गर्न सफल भयो। यही निर्वाचनमा दलभित्र अन्तरघातको राजनीतिले प्रश्रय पायो। तत्कालीन प्रधानमन्त्री किसुनजी पराजित बन्नुपर्ने अवस्था कांग्रेसभित्रबाट सृजना गरियो। दलभित्र व्यापक असन्तुष्टिको अवस्था मात्र सृजना भएन; समूह–समूहमा नेताहरू मोर्चाबन्दी गर्दै व्यक्तिवादी राजनीतिमा अव्यस्त हुँदै गए। ३६ र ७४ समूह खडा भयो। गुटबन्दीकै परिणामस्वरूप कांग्रेस विभाजित बन्न पुग्यो। २०५१ सालको मध्यावधि निर्वाचनमा गुटबन्दी र व्यक्तिगत महŒवाकांक्षामा आधारमा दल स्खलित भएको अवस्थामा मतदाताको मनोबल उच्च हुन सकेन र कांग्रेस दोस्रो दलका रूपमा स्थापित हुन पुगी देशमा पहिलोपटक वामपन्थी नेतृत्वको अल्पमतको सरकार गठन हुन पुग्यो। अल्पमतको सरकारलाई हटाउन अस्वस्थ प्रतिस्पर्धा भई पञ्चायतविरोधी शक्तिहरू कांग्रेस र एमाले दुवै दलहरू पूर्व महापञ्चलाई आआफ्नो नेता मानी उसैको नेतृत्वमा सरकारमा जान प्रतिस्पर्धामा उत्रिए।
राजनीतिमा सबैभन्दा ठूलो शक्ति नै मनोबल, लोकतन्त्र, आचरण, अनुशासन र सच्चरित्रता हो। तसर्थ शीघ्र जनताका पक्षमा लोकतान्त्रिक मूल्य र मान्यतालाई निरपेक्ष रूपमा आत्मसात गरी शासन सञ्चालन गर्नु जरुरी छ।
दलीय अस्वस्थताका बीच एमाले दल विभाजित भई नेपालका कम्युनिस्टहरू फुटका पर्याय भएको प्रभाव मतदातामा दिन पुगे। यही समयमा फुटेको कांग्रेस एक भई एमालेसँग चुनावमा प्रतिस्पर्धा गर्दा २०५६ सालको निर्वाचनमा बहुमत स्थानमा विजयी भई एकमना सरकार गठन गर्न सफल भयो। यस निर्वाचनमा प्रतिस्पर्धामा रहेको एमालेको गिरेको मनोबल र कांग्रेस एक भई उच्च मनोबलका साथ निर्वाचनमा जाँदा कांग्रेसका पक्षमा जनमत देखिएको हो। यस अवधिमा निर्वाचनमा जनताबाट उपेक्षित सानो दल जनताको अभिमतका आधारमा सत्तामा पुग्न नसकिने निष्कर्षमा पुगी विशेषगरी कांग्रेसको शासन सञ्चालनका क्रममा भएगरेका गल्तीको सम्प्रेषण जनतामा गर्दै सीधासाधा जनतालाई भ्रममा पारेर आतंक सृजना गरी करिब १७ हजार नेपालीको भौतिक अस्तित्व समाप्त पारेर समानान्तर सरकार गठन गर्न सफल भयो।
संसद्वादी दलहरूको मनोबल गिरेको र सबै प्रकारका जनताका लागि अस्वीकार्य क्रियाकलाप गर्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिई प्रधानमन्त्री बन्न पुगे। उनको अल्पअवधिमा संसद्वादी र द्वन्द्वरत पक्ष दुवैलाई समाप्त पारी आफू अकण्टक राज गर्ने मृगतृष्णा पूरा गर्न कलाविनाको नाटक धेरैपटक मञ्चन भयो। सबैतिरबाट आलोचित हुने अवस्थामा राजा पुग्दै गर्दा पनि सैन्यबलका आधारमा शासन सञ्चालन गर्ने अभीष्ट पूरा हुन नसकी लामो समय टिक्न सकेन। संसद्वादी र द्वन्द्वरत दुवै पक्षलाई छिमेकी देश भारतले समन्वय र सहयोग गरी बाह्रबुँदे समझदारी गराई निरंकुश राजतन्त्रविरुद्धको आन्दोलन प्रारम्भ भयो। जनताको साथ नपाउने अवस्थामा रहेका र मनोबल गुमाएका राजा ज्ञानेन्द्रले सैनिकहरूको समेत सहयोग प्राप्त गर्न सकेनन् र प्राप्त अवसरको सदुपयोग गर्न नसक्दा नेपालको राजतन्त्र नै समाप्त हुन पुग्यो।
नेपालमै पनि पञ्चायतकालमा सुधारिएको पञ्चायती व्यवस्था वा बहुदल कुन रोज्ने भनी जनतालाई सोधनी गरी प्राप्त आदेशको कार्यान्वयन गरिएको थियो, जसलाई बीपी कोइरालाले लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरी जनताको निर्णयलाई सम्मान गर्नुभएको विषय उल्लेखनीय छ। यस अर्थमा राजा वीरेन्द्र र आजका दलहरूका नेताहरूमा लोकतान्त्रिक कित्तामा कसलाई राख्न सकिने हो ? स्मरणयोग्य अवस्था छ। लोकतन्त्रको दुहाइ दिएर नथाक्ने दलहरू र यसका नेतृत्व पंक्तिमा रहनेहरू लोकतान्त्रिक मूल्य र मान्यताविपरीत आफूखुसी निर्णय लिइराखेका छन्, आफ्ना असंख्य कार्यकर्ता र नेताहरूको हत्या गर्ने, सम्पत्ति लुट्ने, बस्तीबाट हटाउनेजस्ता कार्यबाट शक्तिमा आएको दलसँग आफ्ना कार्यकर्तामाथि भएको अन्यायबारेमा कुनै सम्बोधन नगरी त्यही दलसँग चुनावी तालमेललगायतका गठबन्धन गर्ने, अन्यायमा परेका आफ्नो दलले संरक्षकत्व प्रदान गर्न नसकी मनोबल गिरेका कार्यकर्ताको सहयोगमा निर्वाचनमा प्रतिस्पर्धा गर्नेहरू, कम्युनिस्ट दलकै ब्रान्डमा राजनीति गरेको भए पनि भिन्न एजेन्डाका आधारमा राजनीति गर्दै आएका र एकअर्काका कट्टर आलोचकका बीच पनि दलीय एकीकरण पनि नेपालकै राजनीतिमा सम्भव भएको छ। यसको तीव्र आलोचना भइराखेको छ।
तसर्थ हाम्रा गणतन्त्रवादी लोकतन्त्रका हिमायती नेताहरूले आफूलाई लोकतन्त्रको आवरणमा प्रस्तुत गर्न कठिन भइराखेको छ। जनतालाई क्षणिक भ्रममा पारी शासन गर्ने कलामा पोख्त राजनीतित्रको मनोबल जनतासामु गिरेकोमा सन्देह रहँदैन। पटकपटक विकृति र विसंगति भित्र्याउन अभ्यस्त दलहरूबाट सत्तासीनहरू सर्वत्र आलोचित छन्। यी दलहरूका नेतृत्वपंक्तिमा रहनेलाई राष्ट्र, राष्ट्रियता लोकतन्त्र र दललाई प्राथमिकतामा राख्नुपर्नेमा उल्टो हिसाबले शासन सञ्चालन भइराखेको छ। यिनीहरूबाट नेपालको राजनीतिमा भित्र्याइएका विकृतिको फेहरिस्त लामो छ। तथापि देशको दुर्भाग्य हो, नेपाली जनताले खराबमध्येका कम खराबलाई सीमित दलहरूका बीचबाट छनोट गर्नु परिराखेको छ।
इतिहास क्रूर र निर्दयी हुन्छ। नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा यसले विभिन्न कालखण्डका शासकहरूको यथार्थ उजागर गरेकै छ। जनताले दण्डित गरेकै छन्। राणाहरूको एकतन्त्रीय शासनको विरुद्धमा जनता उत्रिई राजसंस्था र जनताका प्रतिनिधिलाई विश्वास गरे। लामो समय शासनमा रहेको राजतन्त्रले जनतालाई चित्त बुझाउन नसक्दा २०४६ सालमा संवैधानिक हैसियतमा रहनुपर्यो। संसद्वादी नेताहरूबाट आक्रान्त नेपाली जनताले द्वन्द्वरत पक्षलाई पनि केही हदसम्म समर्थन गर्न पुगे। अल्पअवधिमा जनताको नजरमा स्वीकार्य हुन नसकेका राजा ज्ञानेन्द्रको विकल्प नेपाली जनताले खोजी गर्दाको अवस्थामा राजतन्त्र नै समाप्त हुँदासम्म जनता विद्रोहमा आएनन्। अहिले १७ हजार नेपालीको हत्या गर्ने परिस्थिति निर्माण गरेर सरकारप्रमुख पटकपटक भएकाहरूको राजनीति कमजोर साबित भएको छ। राजनीतिक अस्तित्व इतिहासका पानाहरूमा सीमित हुन सक्ने अवस्थातर्फ उन्मुख छ। संसद्वादी दलहरूका नेतृत्व पंक्तिसँग नेपाली जनता सीमित स्वार्थलोलुप झुन्डबाहेक सबै आजित भई विकल्पको खोजीमा छन्। देशले विश्वास गर्नलायक विकल्प प्राप्त गर्न नसक्दा यी दलहरूले शासन गर्ने अवसर प्राप्त गरेका हुन्। तसर्थ बहुदलीय लोकतन्त्रका आधारमा राजनीति गर्नेहरूले आफूलाई सुधार गर्नुपर्ने स्थिति छ।
जनताले आफ्ना शासकहरूप्रतिको धारणा उनीहरूका क्रियाकलापका आधारमा निर्माण गरिराखेका हुन्छन्। जनता स्वतस्फुर्त हिसाबले विद्रोहमा उत्रिने अवस्था सृजना भयो भने भयावह अवस्था हुन्छ। राजाको अत्याचारबाट आजित भएका बेलायती जनताले गणतन्त्रवादी शक्तिलाई साथ दिँदा देशको शत्रुको संज्ञा दिई तत्कालीन राजाको टाउको छिनाली जनतालाई देखाइएको थियो। जनताका पक्षमा शासन गर्न असफल गणतन्त्रवादीहरू थोरै समयमा जनताका नजरमा नांगिएर जनतासँग त्रसित हुने अवस्था सृजना भयो र राजतन्त्र पुनस्र्थापना भयो। आजसम्म पनि बेलायती राजतन्त्र बेलायतमा मात्र होइन कमन वेल्थ समूहमा रहेका राष्ट्रहरूमा प्रजातान्त्रिक संस्थाका रूपमा सम्मान गरिन्छ। दक्षिण अफ्रिकाको ब्रिसबेनमा अहिले पनि ठूलो सुनखानी देख्न सकिन्छ। ९० प्रतिशत अश्वेतहरूले त्यस्ता सुनखानीमा श्रमिक बन्ने अवसर प्राप्त गरे। १० प्रतिशत श्वेतहरूले सुन हात पारे। त्यही सुनखानीका श्रमिक नेल्सन मन्डेला अर्को प्रान्तमा जान चाहे। श्वेतहरूको शासनले उनलाई आफ्नै देशको अर्को स्थानमा जान अनुमति दिइएन। त्यसको विरुद्धमा आफ्नो राहदानीमा आगो लगाई विद्रोह सुरु गरेका मन्डेलालाई प्रारम्भमा अफ्रिकाका अश्वेतहरू र पछि विश्वकै समर्थन प्राप्त भयो। उनी ठूला, चर्चित, असली जननेता बने। विश्वले नै सम्मान दियो। उत्तरार्धमा दुइटा गाई पालेर सानो गाउँमा जीवन बिताए। हङकङमा भ्रष्टाचार यति बढी भयो कि जनता यसैमा अभ्यस्त हुँदै गए। प्रहरी प्रमुखले सन् १९७३ मा भ्रष्टाचारबाट आर्जित ठूलो धनराशि लिएर बेलायतमा शरण लिन पुगेपछि जनता स्वतस्फूर्त हिसाबले सडकमा उत्रिए।
सरकार नियन्त्रण निकाय गठन गरी नियन्त्रण गर्न बाध्य भयो। बेलायत भ्रष्ट प्रहरी प्रमुखलाई उनले लिइआएका सम्पूर्ण सम्पत्तिसहित सुपुर्दगी गर्न तयार भयो। भ्रष्ट प्रहरी प्रमुख आजीवन काराबासमा रहे। उनको सम्पत्ति सबै राष्ट्रियकरण भयो। अहिले हङकङमा सबैभन्दा मर्यादित र जनप्रिय सेवा भनेको प्रहरी नै भएको छ। भ्रष्टाचार धेरै हदसम्म नियन्त्रणमा आएको छ। विश्वमा भएका यी परिघटनाबाट नेपालका राजनीतिज्ञहरूले पाठ सिकी आफूलाई सुधार गर्न विलम्ब भइसकेको छ। अन्याय र अत्याचारको पराकाष्ठाबाट आफ्नो भविष्यका लागि नेपालमा जनता नै स्वतस्फूर्त हिसाबले अघि बढेमा यसबाट अकल्पनीय दण्ड वर्तमान समयका राजनीतिक नेतृत्वमा रहनेले सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। राजनीतिमा सबैभन्दा ठूलो शक्ति नै मनोबल, लोकतन्त्र, आचरण, अनुशासन र सच्चरित्रता हो। तसर्थ शीघ्र जनताका पक्षमा लोकतान्त्रिक मूल्य र मान्यतालाई निरपेक्ष रूपमा आत्मसात गरी शासन सञ्चालन गर्नु जरुरी भएको चर्चापरिचर्चा प्राज्ञहरूबीच सधनरूपमा भइराखेको अवस्था छ।