कालिकोटमा भारी वर्षासँगै हिमपात
कालिकोट : कालिकोटमा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । लामो समयदेखि वर्षा नहुँदा चिन्तामा रहेका किसान आइतबार रातभर भारी वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् ।
जिल्लाका लेकाली भेकहरुमा हिमपात र वर्षाले चिसो अत्याधिक रुपमा बढेको छ । चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन् । हिमपातले चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु निकै कम छन् ।लामो समयदेखि खडेरीको मार खेप्दै आएका जिल्लाका कृषक पुस महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन् ।
जिल्लाका अधिकांश पाखो जमिन वर्षा नहुँदा बाँझो थियो । अब पाखो बारीमा पनि गहुँ छर्ने तयारी रहेको स्थानीय कृषक अदानसिंह बोहोराले बताए । उनकाअनुसार गहुँ छर्ने सिजन जाने बेला भएपनि वर्षा भएकाले बारी बाझो राख्नुभन्दा बाली लगाउने तयारी गरिएको बताए ।
पुसमा भएको हिमपातले जिल्लाका स्याउ किसान थप उत्साहित भएका छन् । स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले जिल्लामा व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन् ।
जिल्लाको तिलागुफा नगरपालिका २ फोइका स्या किसान तथा नर्सरी धनी वेगमबहादुर शाहीले जिल्लामा हिमपात भएसँगै यस वर्ष स्याउ उत्पादनमा वृद्धि हुने बताए । वर्षेनि खडेरी पर्दा आफूहरुको उत्पादनमा ह्रास आइरहेका बेला यसवर्ष यसरी नियमित वर्षा र हिमपात भएपछि स्याउ उत्पादन वृद्धि हुने उनको विश्वास छ ।
जिल्ला कृषि विकास कार्यालय प्रमुख भरतकुमार बस्नेतले जिल्लाको लेकाली भेकहरुमा भारी हिमपात भएसँगै स्याउ खेतीलाई ठूलो राहत भएको बताए । उनले भने, हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरुमा पनि कमी आउने हुन्छ।
परापूर्वकालमा कात्तिक, मंसिरमै हुने हिमपात यस वर्ष ढिलो भएपनि किसानका लागि ठूलो राहत भएको छ । जिल्लाको सबै स्थानीय तहमा गरी करीब ६ हजार हेक्टर गहुँ खेती हुने पाखो जमिन बाँझै थियो । कृषि प्राविधिक प्रशुराम काफ्लेले भने, 'आकाकशे पानीको भरमा खेती हुने पाखोबारीहरु बाझै थियो । अब खेती लाग्छ ।' उनले विगत केही वर्षयता मंसिरमा छरिसक्नुपर्ने गहुँ समयमै वर्षा नहुँदा किसानले पुस, माघ र फागुनमा समेत छर्ने गरेको बताए ।