माधव नेपालको अध्यक्षतामा पेरिसडाँडामा नेकपा स्थायी कमिटी बैठक
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्याथी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केही समयअघि सुरु भएको बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिकलगायतका विषयमा र कार्यदल सदस्यहरुका बारेमा छलफल हुनेछन्।
आजको बैठकमा भने प्रचण्ड सहभागी छैनन। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएपछि अध्यक्ष माधप नेपालले बैठकको अध्यक्षता गरेका छन्। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ।
आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो। यस्तै हिजोको बैठकले नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने निर्णय गरेको छ।
आइतबारको बैठकको अध्यक्षता अध्यक्ष माधव नेपालले गरेका थिए। यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। संसद विघटनपछि आन्दोलनमा उत्रिएको यो समूहले प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।