राजनीतिक संस्कार नहुनेले व्यक्तिगत गालीगलौच गर्छ : मन्त्री भट्ट
धनगढी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको दिशातिर उन्मुख भएपछि प्रदेशमा फरक फरक कार्यक्रमहरु हुन थालेका छन। प्रचण्ड-नेपाल पक्षका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले एक हप्तादेखि सुदूरपश्चिममा रहेर विभिन्न कार्यक्रमहरु गरिरहेका बेला, ओली समूहका प्रदेश ईञ्चार्ज लेखराज भट्ट पनि सोमबार धनगढी पुगेका छन्।
प्रचण्ड-नेपाल पक्षले, आफ्नो समूहको प्रदेश भेला, जिल्ला भेलाहरु, विरोध सभाहरु सम्पन्न गरिसकेका बेला, बल्ल ओली पक्ष सुदूरपश्चिममा तातिएको हो। विरोध सभाका नाममा कोणसभा गरेको प्रचण्ड-नेपाल पक्षलाई ओली पक्षले प्रधानमन्त्री नै ल्याएर काउन्टर दिने तयारी गरेको छ।
पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजना हुन लागेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीको आमसभाको तयारीका लागि प्रदेश ईञ्चार्ज तथा वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी सोमबार धनगढी पुगेका हुन्।
मंगलबार वन तथा वातावरणमन्त्री प्रेम आलेमगर र सामान्य प्रशासन मन्त्री गणेश गठुन्नाको पनि धनगढी आउने कार्यक्रम रहेको नेकपा ओली समूहले जनाएको छ। नेकपा ओली समूहको प्रदेश कमिटीले प्रधानमन्त्रीको आमसभाको आयोजना गरेको हो।
आमसभाका लागि धनगढी पुगेका मन्त्री तथा प्रदेश ईञ्चार्ज लेखराज भट्टले प्रचण्ड-नेपाल पक्षका नेताहरु व्यक्तिगत चरित्रहत्या हुने गरी गालि गलौचमा लागेको आरोप लगाए। ‘राजनीतिक संस्कार भएको व्यक्तिले कसैलाई व्यक्तिगत गालीगलौच गर्दैन, राजनीतिक रुपमा आलोचना गर्न पाइन्छ, तर संस्कार नभएकाहरुले त्यस्तो गरिरहेका छन्’ उनले भने।
उनले प्रचण्ड-नेपाल पक्षले प्रदेश सभाका सांसदहरुलाई ब्लेकमेल गरेको र धम्काएको आरोप समेत लगाए। ‘प्रदेश सभाका सदस्यहरुलाई ब्लेकमेल गरेर, धम्काएर ३० जनाको बहुमत छ भनिएको छ, हामीलाई पनि थाहा छ, कसको कति बहुमत छ, अब केही दिनमा त्यसको छिनोफानो हुनेछ’ नेता भट्टले भने।
उनले आफ्नै पार्टीको प्रदेश सरकार भएको ठाउँमा मन्त्रीहरुले चढ्नका लागि काठमाडौंबाट गाडी ल्याउन परेको बताए। ‘नेकपाको दुई तिहाईको सरकार छ प्रदेशमा, तर मन्त्रीहरुले चढ्नका लागि गाडी काठमाडौंबाट ल्याउनु परेको छ, योभन्दा कुसंस्कार र विडम्बना अरु के हुनसक्छ?’ उनले प्रश्न गरे। ‘प्रदेश सरकार नेकपाको भएपनि संघबाट काँग्रेसकै मन्त्री आएमा त्यसको व्यवस्थापन प्रदेश सरकारले गर्नुपर्छ तर विडम्बना एकै पार्टीका मन्त्रीका लागि व्यवस्थापन हुदैन’ उनले भने।
नेता भट्टले अहिले प्रदेश सरकारका गतिविधिहरु हेरिरहेको तर चाहिनेभन्दा बढी गरेमा प्रदेश सरकार भंग गरिदिने चेतावनीसमेत दिए। ‘अहिले हामीहरु प्रदेश सरकारको गतिविधि हेरिरहेका छौं, प्रदेश सरकारले गर्ने व्यवहार हेरिरहेका छौं, त्यसमा तलमाथि लाग्यो भने त्यसपछि कडा कदम पनि चाल्न सकिन्छ’ उनले भने।
नेकपा प्रदेश कमिटीले आयोजन गरेको पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिमभ अध्यक्ष कर्ण थापाले नेकपा प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम भीम रावलको निर्देशनमा हिनामिना गरिएको आरोप लगाए। ‘पार्टी अध्यक्षका हस्ताक्षर विना नै कृषि विकास बैंकमा रहेको पार्टीको ३० लाख रकम हिनामिना गरिएको छ, त्यो कसैको व्यक्तिगत सम्पत्ति होइन, आम जनताको हो’ उनले भने। ‘यस्ता गतिविधिले उनीहरु अराजकतातिर गइरहेका छन्।’
उनले आफूहरुले पार्टीको आधिकारिकता कुरिरहेको र त्यसका आधारमा सम्पत्तिको बाँडफाँड हुने बताए। ‘अहिले जिल्ला पार्टी कार्यालय र प्रदेश पार्टी कार्यालयमा तालाबन्दी छ, म प्रदेश अध्यक्ष हुँ, प्रदेश कार्यालयमा मेरो पनि कार्यकक्ष छ, चाहेको भए म प्रदेश पार्टी कार्यालयको ताला तोडेर पनि कार्यक्रम गर्न सक्थे, तर हामीले त्यस्तो गरेनौँ, हामी राजनीतिक संस्कारमा हिड्न चाहन्छौं।’
नेकपा ओली समूहले धनगढीको रुवस होटलको हलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। केही दिन अघि प्रचण्ड-नेपाल समूहका अध्यक्ष भीम रावलले भने प्रदेश कार्यालयमा तालाबन्दी रहेकै अवस्थामा प्रदेश कार्यालयको परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।