पहाडमा हिउँ, तराईमा शीतलहर

पहाडमा हिउँ, तराईमा शीतलहर

उपेन्द्र अर्याल। काठमाडौं, राजकरण महतो। गौशाला, सुन्दरसिंह धामी। दार्चुला, गंगा खड्का। गुल्मी, सन्तोष गौतम। बेनी

उदयपुरका रामबहादुर मगर सोमबार मैतीदेवी–पुरानो बानेश्वर सडकमा पर्ने सेतोपुलछेउ सडकपेटीमा सुतिरहेका भेटिए। पेटीबाट हिँड्ने यात्रु मगरतिर मुन्टो घुमाएर हेर्दै अघि बढिरहेका थिए। तर, उनलाई कसैको वास्ता थिएन। चिसो भुइँमा सामान्य कपडा ओछ्याएर एकसरो लुगामा पातलो ओढ्ने ओडेर सुतेका थिए।

उनी कागज, टिन बटुलेर पैसा जम्मा गर्छन्। दैनिक कमाइ ५० देखि ६० रुपैयाँ  हुने उनले सुनाए। ‘दिनभर कार्टुन बटुल्छु’, लरबरिएको बोलीमा उनले भने, ‘तर, ५०–६० रुपैयाँ मात्रै कमाइ हुन्छ। त्यसैले बिस्कुट किनेर खान्छु।’ आम्दानीले गतिलो खानै पुग्दैन। राम्रो सुत्ने व्यवस्था गर्न सक्ने कुरै भएन। त्यसैले उनी पुसको चिसोमा पनि सडकपेटीको सहारा लिन बाध्य छन्।

चिसोमा सडकमा सुत्न बाध्य उनी मात्रै होइनन्। सहरमा कोरोना महामारीले रोजगारी गुमेका धेरै मजदुर सडकमा आइपुगेका छन्। उनीहरू भएको रोजगारी गुमाएर सडकको सहारा लिन बाध्य छन्।

काभ्रेका शिव रेग्मी कोरोना महामारीअघि भारी बोक्ने काम गर्थे। तर, महामारीले रोजगारी गुम्यो। सँगसँगै आँखामा समस्या भयो। एउटा आँखा देख्न छाडे। अहिले उनी सडकमा सहयोग माग्दै हिँड्छन्।

उनीसँग बस्न घर छैन। सुत्ने ठाउँ सडक नै हो। शरीरमा पनि पातलो एकसरो लुगाबाहेक केही छैन। चिसो भएपछि सडकमै सुत्न बाध्य भएको उनले बताए। ‘रोजगारी छैन’, उनले भने, ‘सहयोग मागेको पैसाले खान पुग्छ। सुत्न यही मैतीदेवीकै सडकपेटीमा सुत्छु।’

चिसोमा सडकपेटीमा रात काट्न कष्टकर हुने गरेको उनले बताए। ‘दिउँसो त जसोतसो सहजै छ’, उनले भने, ‘रात कटाउन भने मुस्किल पर्छ। ओड्ने ओछ्याउने एकसरो लुगाबाहेक केही छैन।’

काठमाडौं उपत्यकामा सोमबार अत्यधिक चिसो महसुस गरिएको छ। उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। तराई/मधेसमा शीतलहर छ। जसको असर गाउँमा गरिबलाई परेको छ। सहरका मजदुरमा देखिएको छ। कोरोना महामारीका कारण बेरोजगार भएका भारी बोक्ने मजदुर सडकमा माग्दै हिँड्ने अवस्थामा पुगेका छन्। उनीहरू दिनभर कामको खोजीमा हिँड्ने गर्छन् भने रातमा सडकपेटीमै सुत्न बाध्य छन्। अलिअलि रोजगारी पाएका मजदुरले पनि चिसोमा तातो लुगा लगाउन सकेका छैनन्।

सिन्धुपाल्चोकका कृष्णबहादुर गुरुङ पनि मैतीदेवी आसपासका पसलमा भारी बोक्ने काम गर्थे। कोरोनापछि राम्रो काम पाएका छैनन्। सातादेखि काम नपाएको उनले बताए। ‘एक हप्तादेखि काम पाएको छैन’, उनले भने, ‘खान जुटाउन मुस्किल छ। अन्य कुराका लागि त पुर्‍याउनै सकिन्न।’

मैतीदेवीको सडकपेटीमा भेटिएका उनले यसपालि चिसो कटाउन मुस्किल हुने बताए। ‘चिसो एकदमै बढ्दै गएको छ’, उनले भने, ‘कमाइ छैन। कपडा किनेर लगाउन पैसा छैन। यसपालिको जाडो कटाउन मुस्किल हुने भयो हामी मजदुरलाई।’

सरकारले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरे पनि धेरै मजदुर रोजगारी गुमेर सडकमा सहयोग माग्न विवश छन्। चिसोमा सडकमा सुत्ने मजदुरको ज्यानसमेत जोखिममा छ। यसमा काठमाडौं महानगरपालिकाको मात्र होइन, अन्य सरकारी निकायको पनि ध्यान गएको देखिँदैन।

तराई/मधेसमा शीतलहरले कष्ट

शीतलहरका कारण बढ्दो चिसोमा थरथर कापिरहेका छन्। उनका खुट्टामा न चप्पल छ न त शरीरमा न्यायो लुगा। छातीमा कटनको गन्जी र कम्मरमा पातलो लुंगी बेरेका छन्। चिसोको सिरेटोले खोकी लागेको छ। थोत्रो बर्कोले पूरा शरीर छोप्न खोज्छन्। तर, एकातिर छोप्दा अर्कोतिर ह्वांगै हुन्छ।

महोत्तरीको गौशाला बजार पुग्दा यस्तै परिचयमा उभिएका थिए, फगुनी मुसहर। जो गरिबीको मारमा छन्। दिनमा कमाइ गर्न पाए मात्रै साँझ उनको परिवारका सदस्यको मुखमा माड लाग्छ। उनै फगुनीलाई शीतलहरबाट कसरी जोगिने चिन्ताले सताइरहेको देखिन्थ्यो। बजारको फोहोर बटुलेर उनले घुर बाले। आगो तापेर जाडो छल्दै थिए।

उनीसँग न्यानो लुगा छैन जाडो थेग्न। नाममा एक धुर जग्गा छैन। गौशाला बजारनजिकै उनको फुसको छाप्रो छ। वर्षामा चुहिन्छ, जाडोमा शीतलहर भित्रै पस्छ।

महोत्तरीको गौशाला बजारमा जाडो छल्न आगोको सहारा लिँदै फगुनी मुसहर। तस्बिर : राजकरण महतो

पहाडमा हिउँदे वर्षासँगै हिमपात भएको छ। तराईमा चिसो बढेको छ। चिसोले फगुनीजस्ता गरिबलाई सताएको छ। विपन्नका लागि शीतलहर प्रत्येक वर्ष ‘काल’जस्तै बन्छ। गौशाला बजारभन्दा जिरोमाइल छिचोलेर मलहनियाँ पोखरी पुग्दा त्यहाँ धेरैको घर भत्किएको देखिन्थ्यो। भत्काएका घर बनाउन सुरु त गरिएको देखिन्थ्यो तर एक वर्षदेखि अधुरै रहेको गाउँलेले बताए।

गौशाला–४ मलहनियाँस्थित सडक किनारमा मुसहर बस्ती छ। यसपालिको चिसोले सताउन थालेको छ। सानो घर भए पनि फुसको छाप्रो थियो तर अहिले त्यो पनि छैन। गाउँका १६ मुसहर परिवार चिसोमा मारमा छन्। गत फागुनमा प्रदेश २ सरकारले विपन्न मुसहरलाई पक्की घर बनाइदिने आशा दियो।

‘हामी गरिबको पनि पक्की घर बन्छ भनेर सपनामा पनि सोचेका थिएनौं’, ३५ वर्षीय सुरेश मुसहरले भने, ‘पक्की घर बन्छ भन्दै फुसको घर भत्कायौं। वर्षदिन बित्नै लाग्यो, भुइँबाट घर उठ्नै सकेको छैन।’

जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य भरतप्रसाद साहको कोटामा गौशाला र बर्दिबासको खयरमारामा ९१ परिवारको घर निर्माण गत फागुनमा थालिएको थियो। सम्पूर्ण घर निर्माणका लागि ३ करोड ५ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ।

बस्तीकी ३२ वर्षीय हिरेनीया देवी मुसहरलाई चिसो कटाउन निकै कठिन छ। ११ जनाको उनको परिवार पोखरीको डिलमा बस्न बाध्य छन्। ‘कहाँ खाने, कहाँ बस्ने ?’ उनले भनिन्, ‘दशा नै दशा भइरहेको छ। घर नबन्दा  चिसोमा बस्नुपर्छ। बच्चा बिरामी पर्छन्। जाडोले राति निद लाग्दैन।’

हिरेनीयाको छिमेकी सुमिन्त्रा देवी मुसहर सरकारको रवैयाले हैरान छिन्। ‘पक्की घर बनाउने सरकारको मन थिएन भने हाम्रो फुसको घर किन भत्कायो ?’, उनले भनिन्, ‘पाल टांगेर बस्नुपर्छ। वर्षामा हवाहुण्डरीले त्रिपाल उडाइदिन्छ। जाडोमा चिसो हावा चलेर बस्न, खानै गाह्रो भयो।’

लकडाउनले गरिबको घर निर्माणमा ढिलाइ भएको प्रदेशसभा सदस्य साहले बताए। ‘पछिल्लो समय इँटा अभावले घर निर्माण समस्या भयो,’ उनले भने, ‘अब चाँडै निर्माण सुरु हुन्छ।’

हिमपातले बढायो चिसो

दार्चुलाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। आइतबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशु चौपाया कठ्यांग्रिएका छन्। दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ, र मार्मा गाउँपालिकाका उच्च भूभागमा हिमपात भएको हो। आइतबार साँझ परेको अविरल वर्षाका कारण मौसममा परिवर्तन आएर बढी हिमपात भएको स्थानीय खिमानन्द भट्टले बताए।

मौसममा परिवर्तन देखिए पनि किसानमा निकै खुसी छाएको छ। मालिकार्जुन गाउँपालिका–३ का किसान वीर धामीले भने, ‘यो महिना परेको हिउँ र पानीले हिउँदे बाली सप्रनुका साथै दुःखबिमारसमेत हट्छ। विगतका वर्ष यति हिमपात हुँदैनथ्यो र बाली पनि त्यस्तै हुन्थ्यो। यसपटक हिमपात हँुदा बालीनाली, साग, तरकारी राम्रै हुनेमा विश्वस्त छु।’

हुम्लामा भएको भारी हिमपात । आइतबारदेखि हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ । तस्बिर : रासस            

हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको न्वाल्पानीका इन्द्र धामीले बताए। हिमपातले बाहिर निस्कन मुस्किल भएको छ। चिसो बढेसँगै व्यास गाउँपालिकाका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। सिद्ध मावि सिनामा परेको हिमपातले विद्यालयको ढोका नै पुरिएको शिक्षक जगत बोहराले बताए। उक्त क्षेत्रमा पाँच फिटजति हिउँ परेको अनुमान गरिएको छ। स्थानीय बाहिर निस्कन र दैनिक कामकामसमेत गर्न नसकेको मालिकार्जुन गाउँपालिका–२ का शेरसिह रावतले बताए।

मौसमको प्रतिकूलताका कारण दार्चुलामा सञ्चार सेवा अवरुद्ध भएको छ। सौर्य उर्जाबाट सञ्चालित टावरहरूमा शनिबारदेखि घाम नलागेर व्याट्री चार्ज नभइ टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृशण गुरुङले बताए। टावरहरूसम्म विद्युतीकरण नहुँदा दार्चुलामा पटकपटक सञ्चारसेवा अवरुद्ध हुने गरेको छ।

आफन्तकै आश्रय

पहिरो गएको डेढ वर्ष बिते पनि घर निर्माण नहुँदा गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ का पीडित आफन्तकै आश्रयमा बसिरहेका छन्। गत वर्षको साउनमा सत्यवतीका लिम्घा र ठूलो लुम्पेकमा पहिरो जाँदा १३ जनाको ज्यान गएको थियो। सयौं परिवारको बिचल्ली भएको थियो।

पीडित परिवार चिसोमा कष्टकर जीवनयापन गरिरहेका छन्। एक परिवारका लागि बनेका साना घरमा उनीहरू कोचिएर बसेका छन्। पहिरोले ओढ्ने ओछ्याउनेसमेत बगाएपछि उनीहरू आगोको सहारामै रात काट्ने गरेका छन्।

स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा आवास निर्माणाधीन भए पनि त्यसले तीव्रता पाएको छैन। ‘छिमेकी दाइको घरमा बसिरहेका छौँ’, ठूलो लुम्पेककी ३० वर्षीया देउरुपा सिंजालीले भनिन्, ‘एक वर्षपछि घर बन्ने काम सकिँदै छ। केही समयपछि सर्छौं।’

उनले पूर्णरूपमा घर क्षति भएकाहरू सबैको घर अझै बनिनसकेको जानकारी दिइन्। बसाइँ सरेर तराई झरेका दाइको खाली घरमा दुई आमा, दाइ र आफू बसिरहेको उनले सुनाइन्।

वडाध्यक्ष रुकबहादुर रानाका अनुसार गाउँमा १९ वटा घर पूर्णरूपमा क्षति भएका छन्। तीमध्ये सात वटा बनिसकेको र ती घरको फिनिसिङ भइरहेको रानाले बताए। पूर्ण र आंशिक गरी तीन गाउँमा ७९ वटा घरमा क्षति पुगेको छ। पहिलो चरणमा पूर्ण क्षति भएका घरको पुनर्निर्माण गर्ने काम भइरहेको छ। अस्लेबामा पूर्ण क्षति भएका ८ वटा घरमध्ये सात वटा निर्माण भइसकेको रानाले बताए। उनले निर्माणाधीन अवस्थामा रहेका घर छिट्टै पूरा हुने बताए। उच्च जोखिममा रहेका घर निर्माणमा सहयोग गरेको प्रदेश सरकारले बजेट पूरा नदिँदा ढिला हुन पुगेको उनले बताए। सिंगो गााउँ नै पहिरोले पीडामा परेपछि गाउँ शोकमा डुबेको छ। पीडितहरूको घाउमा अझै मलम लाग्न सकेको छैन। पहिरो गएलगत्तै देश/विदेशबाट पीडितलाई सहयोग जुटेको थियो।

टहरोमै बास

म्याग्दीको धवलागिरि–६ मराङ रिखका धनबहादुर जुग्जाली दुई जना छोरा–छोरीसहित असारदेखि टहरामा बसिरहेका छन्। जुग्जालीले त्यसबेला पहिरोमा पत्नी, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएका थिए। मिर्गौलाका रोगी जुग्जाली बर्खा सुरु नहुँदै ओत लाग्ने बास पाए हुन्थ्यो भन्ने आशामा छन्।

‘पहिरोले परिवारका तीन सदस्य, घर र खेतबारी बगाएर सुकुम्बासी बनायो’, उनले भने, ‘हिउँद सुरु भइसक्यो तर हामी पहिरो पीडितका लागि सरकारले घोषणा गरेको सुरक्षित आवास निर्माणको सुरसार नहुँदा आउने बर्खा पनि टहरोमै बित्ने हो कि भन्ने चिन्ताले सताएको छ।’

मालिका–७ बिमका इन्द्र केसीकी एक छोरीलाई बेपत्ता बनाएको असार २६ गतेको पहिरोले खेतबारीसहित घर पनि बाँकी राखेन। केसी घर बनाउने सुरक्षित ठाउँ र जग्गाको खोजीमा छन्। ‘भएको जग्गाजमिन पहिरोले सखाप बनायो’, उनले भने, ‘छिमेकीको खाली घरको कोठामा बस्न थालेको पनि धेरै भयो। आफ्नो घर बनाउने न आर्थिक स्रोत छ न त जग्गा जमिन नै !’

रिखाका धनबहादुर र बिमका इन्द्रजस्तै गत बर्खामा घरबास गुमाएका, जोखिममा परेका बस्तीका म्याग्दीका पहिरोपीडित सुरक्षित आवासको प्रतीक्षामा छन्। बढ्दो चिसोसँगै पहिरो पीडित बिरामी पर्न थालेका छन्। उनीहरूको दैनिकी कष्टकर बनेको छ।

चालु आर्थिक वर्ष पँुजीगत शीर्षकमा १२ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको धवलागिरि गाउँपालिकामा पहिरो पीडितको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि कम्तीमा २६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन तयार भएको छ। पहिरोलगत्तै उद्धार, राहत, अस्थायी बसोबास, क्षतिग्रस्त विद्युत्, खानेपानी, सडक मर्मतमा एक करोडभन्दा बढी खर्चिसकेको गाउँपालिकाले घरबास गुमाएकाको पुनर्बास योजनाका लागि समुदाय स्तरबाट संकलित ५० लाखसहित ९९ लाख रुपैयाँ छुट्ट्याएको छ।

‘बाँडिसकेको बजेट संशोधन गर्न पहल गरे पनि सफल भएन,’ अध्यक्ष थमसरा पुनले भनिन्, ‘हाम्रो सबै बजेट खन्याए पनि पीडितको पुनःस्थापना र पुनर्निर्माण गर्न पुग्दैन। कहाँबाट स्रोत जुटाउने चिन्ताले पिरोलिएका छौँ।’

यसपालिको बर्खामा बाढी, पहिरो र कटानबाट ठूलो जनधनको क्षति ब्यहोरेका म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि स्रोत अभावमा पिरोलिएका छन्। ‘संघीय सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर सहयोग गर्ला भन्ने आशा थियो,’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले भने ‘मृतकका परिवारलाई राहत दिनेबाहेक संघ सरकारले कसरी पुनर्निर्माण र पुनःस्थापना गर्ने भन्ने योजना र कार्यविधि नै बनाएन्। हाम्रो क्षमताले भ्याउँदैन।’

क्षति र प्रारम्भिक सर्वेक्षणअनुसार स्थानीय तहले सबै पुँजीगत बजेट रकमान्तरण, शीर्षकान्तर गरे पनि नपुग्ने देखिन्छ। असारयताको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताए। ‘पूर्ण क्षति भएका, जोखिमयुक्त र स्थानान्तरण गर्न प्रस्तावित ठाउँको भौगर्विक टोलीबाट अध्ययनका लागि सिफारिस गरेका हौँ,’ उनले भने, ‘भूगर्भविद्को टोलीले जोखिम र सुरक्षित ठाउँ पहिचान गरिदिए पुनःस्थापनाको बाटो खुल्ने थियो।’

धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर र अन्नपूर्णका ८ वटा बस्तीका १३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ। यस्तै, मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनर्निर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.