प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले गर्यो सरकारविरूद्ध आन्दोलनको घोषणा
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको विरोधमा आन्दोलनको घोषणा गरेको छ। पहिलो चरणको आन्दोलन सकिएपछि मंगबालर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको अनेरास्ववियूका नेता रञ्जित तामाङले जानकारी दिए।
बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार मंगलबार सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन र कोणसभा गरिनेछ।
तेस्रो चरणको कार्यक्रम भने माघ १ गते सार्वजनिक गर्ने अनेरास्ववीयूले जनाएको छ। यस्तै संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि गरेको छ ।
कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउँदासम्म संघर्षका कार्यक्रम सशक्त रुपमा अघि बढाउने विद्यार्थी नेताहरुले बताएका छन्। यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षको अनेरास्ववीयूले ओली कदमको समर्थन गर्दै काठमाडौंमा भेला गरेको थियो।