देशभरको मौसम कता कस्तो ? उपत्यकामा जे देखियो (फोटो फिचर)
काठमाडौं : मंगलबार देशभरको मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार र बुधबार दिनभर देशभरका अधिकांश भागको मौसम यस्तै रहेछ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार देशको मध्यभाग प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीबाट विस्तारै मौसम खुले पनि सुदूरपश्चिम र प्रदेश १ मा बुधबारको मौसमसमेत यस्तै रहने छ।
अहिले उपत्यकासहित, तराई भू-भागमा सामान्य बदली रहेको छ।तराईका थोरै स्थानमा हुस्सु लागेको छ।
मौसमविदले मंगलबार देशका थोरै ठाउँ वर्षा र हिमपातको पूर्वानुमान गरेका छन्। पश्चिमी वायुको प्रभावले बुधबार रातिसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो बदली भएका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा बागमती र प्रदेश १ का केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाी भागमा हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबारदेखि देशभरको मौसम बदली गराएको पश्चिमी वायु कमजोर हुँदै जाँदा बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान गरिएको छ।
मौसम बदलीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा तापक्रम घटेर देशभर चिसो बढ्दै जानेछ। मौसम बदली भए पनि देशभरको तापक्रम भने धेरै घटेको छैन।
मंगलबार बिहान काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने जुम्लाको तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको छ। अघिल्लो साता काठमाडौंको तापक्रम शून्यमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ८ सम्म पुगेको थियो।