काठमाडौंको प्रदूषण 'अति खतरानाक विन्दु'मा

काठमाडौंको प्रदूषण 'अति खतरानाक विन्दु'मा

काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषण 'अति खतरानाक विन्दु'मा पुगेको छ। वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ५० सम्मलाई उत्तम र ५० देखि १ सयलाई सामान्य मान्ने गरिन्छ। तर, सोमबार ४ सय र मंगलबार ३ सय नाघेको छ। जनस्वास्थ्यका दृष्टिले यो तहलाई निकै जोखिम र हानिकारक मान्ने गरिन्छ।

‘एक्युआई बढेर ४ सय पुगिसकेको छ। यस्तो अवस्थामा सरकार निकै गम्भीर बन्नुपर्ने हो’, वातावरणविद् भूषण तुलाधर भन्छन्, ‘तर, प्रदूषण बढेको सार्वजनिक सूचना दिनेबाहेक अन्य प्रभावकारी कदम चालेको छैन।’

काठमाडौं उपत्याकासहित मुलुकका प्रमुख सहरहरूको वायु प्रदूषण उच्च देखिएको छ।

काठमाडौं उपत्यकाको वायु गुणस्तर आइतबारयता हरेक दिन खस्किरहेको छ। सोमबार साँझ काठमाडौंका रत्नपार्क, ललितपुरको भैंसेपाटीलगायत क्षेत्रमा एक्युआई ४ सय हाराहारीमा पुगेकोमा मंगलबार ३ सयजति छ। एक्युआई ३ सय नाघे सरकारले विपद्को अवस्था घोषणा गर्न सक्ने व्यवस्था वायु गुणस्तर कार्ययोजनामा छ। सरकारले यो कार्ययोजना गत वर्ष पारित गरेको हो।  

वातावरण विभागले प्रदूषणलाई ६ तहमा वर्गीकरण गरेको छ। त्यसमा एक्युआई २ सय नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन। आफूले पारित गरेको कार्ययोजनाबारे यो बेला सरकार बेखबरझैं भएको वातावरणविद् तुलाधर बताउँछन्। वडा कार्यालय र स्थानीय निकायमार्फत खुला क्षेत्रमा फोहोरमैला बाल्ने, उद्योग कलकारखाना र सवारी साधनले फाल्ने धुँवा र प्रदूषण न्यूनीकरण गर्न तत्काल कदम चाल्न सकिने उनको सुझाव छ। खस्किएको वायुले कोरोना संक्रमितलगायत श्वासप्रश्वास समस्या भएका व्यक्तिहरुलाई असर पुर्‍याउने विज्ञहरुको ठहर छ।

काठमाडौं उपत्यकामा वायु गुणस्तर मापन गर्न थालिएयताकै सबैभन्दा बढी पुगेको विभागका अधिकारी बताउँछन्। ‘यसअघि काठमाडौंमा एक्युआई ३ सयभन्दा माथि पुगेको थिएन। प्रदूषणको यो अवस्था मेरो बुझाइमा अहिलेसम्मकै बढी हो’, विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्, ‘एक्युआई २ सयभन्दा बढी हुनु स्वास्थ्यका हिसाबले राम्रो होइन। यसपटक एक्युआई हाम्रो अनुमानभन्दा निकै बढेको छ।’

उपत्यका, लुम्बिनीलगायत मुख्य सहरी क्षेत्रमा गत वर्ष एक्युआई २ सय हाराहारी थियो। नेपालगन्ज, विराटनगरलगायत तराईका भेगमा भने एक्युआई २ सय हाराहारी नै रहेको जोशीको भनाइ छ। भूमध्य र अरब सागरको वायुले नेपालसहित दक्षिण एसियाको हिउँदे मौसम प्रभावित हुन्छ। तर, अहिले पश्चिमी प्रभाव सशक्त नभएका बेला स्थानीय वायुले मौसम धुमिएर अधिकांश ठाउँमा तुँवालो बढेको मौसमविद् बताउँछन्। विद्यालयका सवारी सञ्चालन नहुँदा, इँटाभट्टा र अन्य कलकारखाना पूर्णरुपमा सञ्चालन नभएका बेला वायु गुणस्तर खस्किएपछि वृहत अनुसन्धान जरुरी रहेको वातावरण विभागका प्रवक्ता जोशी जोड दिन्छन्।

काठमाडौं उपत्यकासहित अन्यत्र वायु प्रदूषण खतराको तहमा पुगेपछि विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामीलाई सकेसम्म घरभित्र बस्न आग्रह गरेको छ। बिहान र बेलुकाको प्रदूषण अत्यधिक बढेकाले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले सचेत तुल्याएको छ। त्यस्तै तराईका सहरमा पनि वायु प्रदूषण खस्कँदो क्रममा रहेकाले सावधानी अपनाउन विभागले सार्वजनिक सूचना जारी गरेको छ।

यसैबीच गत शनिबार भित्रिएको पश्चिमी वायुको प्रभावले खस्किएको मौसममा बुधबारदेखि आंशिक सुधार हुने भएको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बुधबारदेखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् बरुण पौडेलले भने, ‘बुधबार मंगलबारको तुलनामा धेरै सुधार हुन्छ, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बुधबार पनि मौसम प्रभावित हुन्छ।’ बिहीबारदेखि भने देशैभरीको मौसम सुधार हुने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.