तुच्छ गाली
संसद् विघटनको विषयलाई लिएर करिब–करिब फुटको सँघारमा पुगेका नेकपाका दुई खेमाका कार्यकर्ताबीच यतिखेर बडो लज्जास्पद जुहारी चलिरहेको छ। विगतमा एकै पार्टीमा रहँदा देउतासरह पुजेका नेतालाई फरक गुटमा लागेकै आधारमा उनीहरू दानवीय व्यवहार गर्दै निम्नस्तरको गालीगलौजमा उत्रेका छन्। गुटका नेताका अन्धसमर्थक हुने र विरोधी गुटलाई जसरी पनि सिध्याउने ध्याउन्नमा कार्यकर्ता लागेका छन्। यस्ता गतिविधिले राजनीतिक व्यवस्था मात्रै होइन; सिंगो मुलुकलाई असहिष्णुतातर्फ धकेलिरहेको छ। नेता–कार्यकर्ताको चेतनास्तर र औकात पनि यी घटनाबाट छरपस्ट भएका छन्।
पछिल्ला दिनमा नेता–कार्यकर्ताले विरोधी खेमालाई प्रयोग गरेका भाषाशैली अनुसरण गरेर सामान्य नागरिकले गाली गरेका भए गाली–बेइज्जती वा विद्युतीय कारोबार ऐन आकर्षित भएर कारबाही भइसक्थ्यो। तर सामाजिक सञ्जाल र मूलधारको सञ्चारमाध्यमसमेत रंगिने गरी भइरहेको गुटगत आरोप–प्रत्यारोपका विषयमा कोही पनि सचेत छैनन्। एकअर्कालाई सराप्दा तल्लो तहका कार्यकर्ता मात्रै होइन; प्रधानमन्त्री तथा मन्त्री भइसकेका र पार्टीको मूल नेतृत्वमा रहेका व्यक्तिले समेत न्यूनतम मानवीय संवेदना भुल्ने गरेका छन्। रोचक पक्ष त के छ भने विगतमा एकै मन्त्रिमण्डलमा रहँदा इतिहासमै उत्कृष्ट काम गरेका प्रधानमन्त्री वा पार्टी अध्यक्ष भन्दै गुणगान गाएर नथाकेका व्यक्तिसमेत फरक गुटमा लागेपछि सोही व्यक्तिलाई इतिहासकै नालायक र खलपात्रको संज्ञा दिँदै प्रचारबाजीमा उत्रेका छन्। जनताले निकै ठूलो भरोसा गरेका र मुलुकको नेतृत्वमा पुग्ने हैसियत राख्ने क्षमता भएका नेतासमेत निम्नस्तरको गालीगलौजमा उत्रिनु शोभनीय हुँदैन। राजनीतिक दर्शन बाँडेर जनतालाई आकर्षित गर्न नसक्नेले मात्रै हो विरोधीको उछितो काढेर जनताबाट ताली खाने। जनताको ताली अस्थायी हो र आफूले बोकेको नीति तथा सिद्धान्त मात्रै चिरस्थायी हुन्छ भन्ने वास्तविकता जुनसुकै दलका नेताले बिर्सनु हुँदैन।
यतिखेर नेकपाभित्रका विपक्षी र सत्तापक्षी दुवै खेमाले प्रशिक्षण, भेला वा विरोधसभामा जनतालाई दलको राजनीतिक गन्तव्य वा उक्त गन्तव्यमा पुग्ने मार्गचित्र बताउन छाडेर अरूको विरोधमा मात्रै समय खर्चिने गरेका छन्। यही परिपाटी कार्यकर्ता पंक्तिले पनि पछ्याइरहेका छन्। यो अवस्थाले जनतामा झन् दिक्दारी थपिइरहेको छ। गालीगलौजमा उत्रिँदा बालबालिकाले समेत सहजै टिप्न सक्ने भाषाशैली नेता–कार्यकर्ताले प्रयोग गरिरहेका छन्। नीतिमध्येको मूल नीति राजनीतिका अगुवाहरूले नै उरन्ठेउलो र समाजले स्वीकार्नै नसक्ने परिपाटी अँगालेपछि जनताले उनीहरूबाट के अपेक्षा गर्ने ? यस्ता नेताबाट विधिको शासन र पद्धति निर्माण हुन्छ भनेर कसरी पत्याउने ? फरक मत, विचार र सिद्धान्त हुनु लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो। तर लोकतन्त्र र स्वतन्त्रताको दुरुपयोग गर्दै समाजमा द्वेष फैलाउने, राजनीतिका नाममा समाजलाई नै जबर्जस्ती विभाजन गर्न खोज्ने प्रवृत्ति त्याग्नुपर्छ।
भोलि पार्टी एकीकरण भएको अवस्थामा वा अहिले गाली गरेको नेताको नेतृत्वमा रहेर फेरि सँगै काम गर्नुपर्ने अवस्था आयो भने के गर्ने भन्ने पक्षलाई हरेक कार्यकर्ताले बिर्सनु हुँदैन। नेतृत्वमा पुगिसकेका व्यक्तिले पनि कार्यकर्तामा राजनीतिक संस्कार विकास गराउनुपर्छ। अरूलाई सिकाउनुपर्ने व्यक्ति स्वयं क्षणिक स्वार्थमा लिप्त भएर अर्काप्रति गालीगलौजमा दिगम्बर बन्नु आफैंलाई हानिकारक हुन्छ। यो वास्तविकतालाई सत्तापक्ष र विपक्षी दुवै गुटका नेता–कार्यकर्ताले मनन गर्नुपर्छ। मुलुकको हित र जनताका पिर–व्यथा भुसुक्कै बिर्सेर तालीकै लागि भाषण गर्दै हिँड्ने र कसरी चुनाव जितिन्छ भन्नेतर्फ मात्रै तिकडम गर्न रमाउनेहरू सच्चिने बेला भइसकेको छ। नेताहरूले नीति बनाउने मात्र होइन; नैतिकता सिकाउने पनि हो। नैतिकता शिष्टताबाट आर्जन हुन्छ। शिष्ट आलोचना तुच्छ सत्तोसरापभन्दा धेरै शक्तिशाली हुन्छ भन्ने हेक्का हुने हो भने राजीतिक शुद्धीकरण त्यहींबाट सुरु हुन्छ। अबको समयको माग त्यही हो।