यौन हिंसा, बलात्कार र हत्या

यौन हिंसा, बलात्कार र हत्या

छोरी, महिला र किशोरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ। महिला आमा हुन्, बहिनी हुन्, छोरी हुन् भनेर आदर गर्ने दृष्टिकोण बढाउनुपर्छ


केही वर्ष अघिसम्म यौन हिंसा र बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छ तर नेपालमा खासै छैन भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या, चोरी, यौन व्यभिचार र मद्यपान तथा लागूपदार्थ सेवन नगर्र्ने र झूटो नबोल्ने भन्ने शिक्षा किशोरकिशोरीलाई दिइन्थ्यो; कर्मको फलबारे पढाइन्थ्यो; नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। शदीयौंदेखि चल्दै आएको आस्था, विश्वास, संस्कृति बिर्संदै जानाले र टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुकजस्ता सामाजिक मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, दुराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएको छ। खास गरेर युट्युबमा सजिलै हेर्न सकिने अश्लील भिडियोहरू हेर्छन्; त्यस्तै इच्छा गर्छन्; सोका लागि अवसर खोजी गर्छन् र बलात्कारका घटना हुन्छन् भन्ने पश्चिमी देशका विशेषज्ञले भन्ने गरेका छन्।

अपत्यारिलो लाग्ला यौन शोषण घरमै हुन सक्छ। अरू मानिस नभएको मौका पारी आफ्नै परिवारका सदस्य वा नातेदारले यौन शोषण गरेका घटना धेरै छन्। मिल्ने साथी वा साथीको साथीले गरेको हुन सक्छ। बलात्कार नचिनेको मानिस वा समूहले गर्न सक्छ भने पटकपटकको यौन शोषण प्राय: चिनेकै व्यक्तिबाट भएको र त्यसकै कारण पीडितमा विभिन्न मानसिक स्वास्थ्य समस्या आएको भेटिन्छ। जो आफ्नै परिवारबाट यौन शोषणमा परेका हुन्छन्, उनीहरू पीडा दबाएर बसेका हुन्छन्। सामाजिक मान्यता, प्रहरीसमक्ष उजुरी गर्दा हुने प्रतिकूल प्रभाव र परिवारकै सदस्यहरूको दबाबले लुकाएर राख्ने समस्या छ।

कुनै किशोरी घरमै बलात्कारमा परिन् र आफ्नै बाबु, काका वा दाजुबाट यस्तो घटना भयो भने सबभन्दा पहिले किशोरीले गुहार्ने आमालाई हो। जबसम्म आमाले छोरी बचाउन प्रयास गर्दिनन्, पीडकलाई सजाय दिलाउन अघि सर्दिनन्, छोरी बारम्बार बलात्कृत भइरहन्छिन्। मेडिकोलिगल केश हुने भएकाले औषधोपचार गर्न र काउन्सेलिङका लागि आउन पनि चाहँदैनन्। यौन शोषण र बलात्कार डरलाग्दो र हृदयविदारक घटना भएकाले पीडितहरू जीवनभर पीडा सहेर बस्न बाध्य हुन्छन्।

‘सन् २०१९ मार्च १५ या १६ को पत्रिका रिपब्लिकाअनुसार ८० प्रतिशत यौन बलात्कार चिनेजानेका व्यक्तिबाट भएको छ। प्रहरीको तथ्यांकअनुसार गत वर्ष १४६४ यौन बलात्कारका घटना भएका थिए; जसमध्ये १२९० जना चिनेजानेकाबाटै भएका थियो।

यौन अपराध किन हुन्छ भन्ने जिज्ञासा धेरैको हुन्छ। झट्ट सोच्दा यौनेच्छा पूरा गर्न या अतृप्त यौनेच्छाले सताएका व्यक्ति वा जतिबेला पनि यस्तै विचार आइरहने व्यक्ति वा पटकपटक यौन अपराध गरेर यसलाई गोप्य राख्न सफल भएका व्यक्तिबाट हुन्छ भन्ने लाग्छ।

पश्चिमी देशका विशेषज्ञले पटकपटक बलात्कार र हत्या गरेर समातिएका व्यक्ति र बच्चा अपहरण गरेर बलात्कार र हत्या गरेका व्यक्तिले किन यस्तो जघन्य अपराध गर्छन् भनेर खोजी गर्ने प्रयास गरेका छन्। उनीहरू भन्छन्– यस्ता व्यक्तिहरू अपराध गर्छन्; अपराध गर्न सकेकोमा आनन्द लिन्छन्; यातना दिँदा र हत्या गर्दासमेत उनीहरूलाई पश्चात्ताप हुँदैन; गल्ती गरे भन्ने हुँदैन। यस्ता अपराध गर्ने व्यक्तिहरूको बाल्यकाल पीडादायक हुने गरेको छ। उनीहरू शारीरिक यातना, भावनात्मक पीडा र यौन दुराचारबाट पीडित हुन्छन् र आफू ठूलो भएपछि शक्ति प्रदर्शन गर्न र आफूले भोगेका पीडा कम गर्न यस्ता अपराध गर्छन् भन्ने भनाइ छ। तर यस्तो पीडा भोग्ने केहीले मात्र यस्तो आपराधिक बाटो समात्छन्, सबैले गर्दैनन् भन्ने छ।

अत्यधिक मद्यपान गर्ने र घरमा कुटपिट भइराख्ने परिवारका किशोरकिशोरीमा भावनात्मक पीडा त हुने नै भयो; किशोरी बलात्कारमा पर्ने जोखिम पनि बढ्दो रहेछ।

मानसिक स्वास्थ्य समस्यामध्ये एउटा साइकोप्याथिक पर्सनालिटी वा एन्टिसोसल पर्सनालिटी भन्ने हुन्छ। यिनीहरूमा केही जन्मजातका कारण र केही घरको वातावरणका कारण समस्या देखिन्छ। यस्ता किशोर भनेको नमान्ने, सानैदेखि चोर्ने, झगडा गर्ने, लागूपदार्थ लिने, यिनै कारणले घरमा वा बाहिर कुटाइ खाने गर्छन्। ठूलो भएपछि त यी समस्या भmन् बढ्छन्। आफ्नो कारणले अरूलाई केकस्तो असर पर्छ भन्ने अनुभव गर्न सक्दैन र अरूलाई दु:ख, पीडा हुँदा पनि मतलब राख्नैनन्। पश्चात्ताप लाग्दैन र सजाय भोग्नुपरे पनि चेत्दैनन्। मस्तिष्कमा भावनाको अनुभव गर्ने भागमा र कुन कुरा ठीक हो वा होइन भन्ने भागमा केही समस्या हुन्छ भन्ने अनुमान छ। यिनीहरू आफ्नो रिस नियन्त्रण गर्न नसक्ने हुन्छन्। निर्दयी स्वभावका यी व्यक्तिले जनावरलाई दिएको यातना वा कुनै व्यक्तिलाई कुटपिट गरेको देखेर अन्य व्यक्ति सतर्क हुनुपर्छ। यो समस्या अप्ठ्यारो र औषधोपचार गरेर पनि ठीक गर्न समस्या छ।

युट्युबमा भएका अश्लील यौनसम्बन्धी भिडियो हेर्ने र यस्तोमा धेरै समय बिताउने व्यक्तिले, आफूले पनि यस्तै क्रियाकलाप गर्ने कल्पना गर्छन्; योजना बनाउँछन् र अवसरको खोजीमा हुन्छन्। यौनजन्य अपराध बढेको एउटा कारण यो पनि हो भन्ने भनाइ छ। यौन अपराधपछि किशोरी वा युवतीको हत्या हुने गरेको आफ्नो अपराध लुकाउनका लागि नै प्राय: हुने गर्छ।

यौन बलात्कार त यौनजन्य अपराध हो, जुन प्राय: आवेशमा आएर महिलासँग बदला लिनका लागि; यस्तो गर्न सक्छु भन्ने देखाउन र आफ्नो शक्ति प्रदर्शनका लागि वा महिलाको जीवन बर्बाद पार्नका लागि र जीवनभर हीन भावना लिएर बाँच्न बाध्य पार्न गरिएका हुन्छन्। बलात्कार प्राय: यौन सन्तुष्टिका लागि नभएर आफ्नो रिस र फ्रस्टेसन व्यक्त गर्ने तरिका हो। रिस र फ्रस्टेसनपीडित महिलामाथि मात्र नभएर अर्कै ठाउँको पनि हुन सक्छ। यौन बलात्कार गर्ने व्यक्ति वा समूह बन्दुक, खुकुरी, चक्कु आदि देखाई ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको हुन सक्छ। घटनाबारे कसैलाई भनिस् भने आमाबाबु, छोराछोरी वा लोग्नेलाई मार्दिन्छु भनेर धम्क्याउनेहरू पनि हुँदा रहेछन्। सायद जेजस्तो कुनै फिल्म वा सिरियलमा देखाइएको हुन्छ, त्यस्तै घटना हुन सक्छ।

यौन बलात्कारमा परेका महिला आफ्ना दु:ख सुनाउँदा आफ्नो जीवनमा आइपरेका दुर्भाग्यपूर्ण अनुभव भएको र यसले शारीरिक, भावनात्मक र आध्यात्मिक रूपले क्षत्विक्षत् पारेको कुरा बताउँछन्। यौन बलात्कारमा परेका महिला पूर्णरूपमा पहिलेको अवस्थामा आउन आफूभित्रबाट बलियो हुन र आफूलाई माया गर्न आवश्यक हुन्छ।

इतिहास हेर्दा युद्ध हुँदा जित्ने पक्षका सैनिकले क्रूरतापूर्वक बलात्कार गर्ने, यातना दिने र मारेर आफ्नो रिस फेर्ने घटना पनि भएका छन्।

यौन शोषण र बलात्कारका कारण मनमा पर्ने चोट वा पीडा त छँदै छ; साथसाथै शारीरिक चोटपटक, गुप्तांगमा चोटपटक, सर्ने खालका विभिन्न यौन रोग र गर्भ बस्ने सम्भावना हुन्छन्। मानसिक पीडाले गर्दा विभिन्न मानसिक स्वास्थ्य समस्या, भावनात्मक पीडा, यौन सम्बन्ध राख्न असमर्थ हुने वा ठूलै समस्या हुने, लागूपदार्थ सेवन तथा दुव्र्यसन र आत्महत्या गर्ने खतरा हुन्छ।

पोस्ट ट्रामाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) र यौन बलात्कार
यौन बलात्कारमा परेका महिला तथा किशोरीमा घटनापछि पीटीएसडी हुने सम्भावना बढी छ। पहिले भएको घटना फेरि भयो भन्ने लागेर तर्सिने, घटना भएको स्थानमा वा त्यसतर्फ जान डराउने, आत्तिने, कुनै ठाउँ पनि सुरक्षित छैन जस्तो लाग्ने, जहिले पनि आफूले गल्ती गरेको र आफ्नो शरीर काम नलाग्ने भएको जस्ता विचार र भावना हुन्छन्। डिप्रेसन हुने र आत्महत्या गर्ने सम्भावना पनि बढ्छ। पुरुषप्रति डर र घृणा र भविष्यमा पनि त्यस्तै घटना फेरि हुन्छ भन्ने डर रहिरहन्छ। चिन्ता र डर लाग्ने धेरै वर्षसम्म वा जीवनभर पनि रहन सक्छ। यिनै कारणले आत्मविश्वास नहुने र सामाजिक क्रियाकलापमा भाग लिनसमेत कठिन हुन्छ।

छोरी, महिला र किशोरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ। महिला आमा हुन्, बहिनी हुन्, छोरी हुन् भनेर आदर गर्ने दृष्टिकोण बढाउनुपर्छ। आमा, बाबु र पति नै आफ्ना छोरी, बुहारी र पत्नीलाई बचाउन सतर्क हुनुपर्छ। यौन शोषण गर्ने व्यक्ति आफ्नै घरको, आफूले चिनेका, आफ्नै साथी, आफ्नै दाइ, आफ्नै पतिका साथी आदि जोकोही पनि हुन सक्ने हुनाले सतर्क रहनुपर्छ। परिवारका सबै पुरुष र आफ्नो सबै नातेदार पुरुषलाई शंका गर्ने भन्न खोजेको त होइन तर विनाकाम, विनामतलब आइराख्ने, सँगै बाहिर लैजान खोज्ने, राति अबेर घर फर्कने र पहिलेदेखि नै संदिग्ध चालचलन छ भने होसियार हुने भन्न खोजिएको मात्र हो।

किशोरी, युवती र विवाहिताले याद राख्नैपर्ने
लैंगिक हिंसा घर, अफिस, काम गर्ने ठाउँ जहाँ पनि हुन सक्छ। यस्तो भएमा तुरुन्तै महिलाले कडा रूपमा विरोध गर्नुपर्छ। चुप लाग्ने हो र विरोध नगर्ने हो भने यो क्रम बढ्दै जान्छ। ‘ह्यारेस्मेन्ट’ हो कि हैन भनेर छुट्ट्याउनुपर्छ। अरूले गरेका व्यवहार ठीक हो या होइन भन्ने शरीरले छुट्ट्याउन सक्छ। बाहिर जाँदा राम्रो चिनेको, विश्वासिलो साथी वा आफ्नै परिवारसँग जाने र फर्किंदा सँगै फर्किने। अरूले दिएको पेय पदार्थ लिँदा होस पुर्‍याउने। डान्स पार्टीमा पेय पदार्थमा नसालु केही मिसावट हुन सक्छ। झुक्याएर पेय पदार्थमा नसा लाग्ने कुरा मिलाउने सम्भावना हुन सक्छ। एक्लै कसैको मोटरसाइकल/गाडीमा लिफ्ट नलिने। आफ्नो वरिपरि कस्ता मानिस छन्, केकस्तो वातावरण छ सर्तक रहने। हुन सक्छ– कुनै पुरुषले आफ्नो पूर्वयोजना बनाएर कुनै पार्टी वा जमघटमा आएको होस् र कुनै युवतीलाई फसाउने प्रयास गरिरहेको होस्। आफूलाई कुनै व्यक्तिले घुरेर हेरिराखेको छ कि ? घर फर्कन लाग्दा पछ्याइराखेको छ कि ? वा अनेक बहाना बनाएर आफ्नो नजिक आउने, कुरा गर्ने प्रयास गरिराखेको छ कि ? सतर्क हुनुपर्छ। कसैको अनुहार हेरेर थाहा पाउन सकिँदैन।

यौन शोषण तथा बलात्कारमा परेकी महिलासँग परिवारले कस्तो व्यवहार गर्ने
घटनाबारे बेलाबेलामा सोध्ने नगर्ने। त्यसो गर्दा भावनात्मक चोट झन् बढ्छ। मेडिकल उपचार आवश्यक छ भने लिने। मनोविद्, मनोपरामर्शकर्ता वा मनोचिकित्सकसँग काउन्सेलिङ लिन सकिन्छ।

यौन शोषण वा बलात्कारबाट पीडित किशोेरी, युवती वा विवाहितालाई उनकै गल्ती हो भन्ने, दोष लगाउने, बाबुआमा वा परिवारको इज्जत फाली भन्ने चलन समाजमा छ। पीडितले कुमारीत्व गुमेको, सतीत्व गएको, अपवित्र भएको आदि सोच राखेर आत्महत्या प्रयास गर्ने, आत्महत्या गर्ने वा घटनालाई सकेसम्म लुकाउने चलन छ। पीडितलाई दोष लगाउनुको बदला उनले कसरी समाजमा आत्मसम्मानका साथ बाँच्न सक्छिन्; सार्थकपूर्ण जीवन बिताउन सक्छिन् र हीन भावनाबाट माथि उठ्छिन् भन्नेतर्फ ध्यान दिन आवश्यक छ।

पीडित महिलालाई कस्ता स्वास्थ्य समस्या हुन सक्छन् ?
डिप्रेसन, आत्महत्या गर्ने विचार र मद्यपान तथा लागूपदार्थ दुव्र्यसनजस्ता मानसिक स्वास्थ्य समस्या हुन सक्छन्। त्यस्तै शारीरिक स्वास्थ्य समस्यामा तल्लो पेट बरोबर दुख्ने, यौनांगमा पीडा, यौन रोग तथा गर्भ रहने सम्भावना हुन्छन्। आधुनिक शिक्षा कुनै राम्रो पोस्टमा काम गर्न र पैसा कमाउनमा केन्द्रित छ। कस्ता खालका व्यक्ति बन्ने ? यो शिक्षाले सिकाउँदैन। केटाकेटी अवस्थादेखि किशोरकिशोरी अवस्थासम्म नैतिक शिक्षा र सामाजिक शिक्षामा जोड दिनु जरुरी भइसकेको छ।

कसरी गर्न सकिन्छ यौन शोषण र बलात्कार नियन्त्रण
कडा कानुन बनाएर तथा यौन अपराधमा संलग्न व्यक्तिलाई हदैसम्मको सजाय दिएर अपराध नियन्त्रण गर्न सकिन्छ कि भन्ने एउटा दृष्टिकोण हो। यस्तो कानुन र सजाय दुवै आवश्यक छन् तर यिनले मात्र आशातीत सुधार सायद हुँदैन। किनकि यौन अपराध गर्ने विचार मनमा आउने हो; यौन उत्तेजना मनमा पहिले आउँछ; अपराध गर्ने योजना मनले बनाउँछ; अपराध गर्नु ठीक हो वा ठीक होइन भन्ने निर्णय मनले गर्ने हो। त्यसैले यौन अपराधलगायत सबैखाले अपराध नियन्त्रण गर्न मनमा परिवर्तन ल्याउन आवश्यक छ। यसैले त संसारका कतिपय जेलमा व्यक्तित्व सुधारका कतिपय कार्यक्रम चलाइन्छन्। यौनइच्छा वा सेक्स इनर्जी ज्यादै शक्तिशाली हो। जल्दोबल्दो उमेरमा यसलाई नियन्त्रण गर्न कठिन छ। सेक्स हार्मोनका कारण पनि उत्तेजना बढी हुन्छ। उत्तेजना नियन्त्रण गर्न नसक्ने व्यक्तिहरू पनि हुन्छन्।

पुरुष र महिला दुवैमा हिजोआज विवाह हुने उमेर ढिलो हुँदै गएका कारण, बेरोजगार, मद्यपान, लागूपदार्थ, दुव्र्यसन, त्यस्तै साथीहरूको संगत, युट्युबमा हेर्न सकिने यौन उत्तेजना बढाउने दृश्य, गर्लफ्रेन्ड बनाउने र रमाइलो गर्ने जीवनशैली, विवाहपूर्व यौन सम्बन्ध राख्दा के फरक पर्छ र भन्ने विचार आदि सबैले यौन हिंसालाई बढाएको हुन सक्छ। यौनेच्छा बलियो हुने उमेरका युवायुवती खेलकुद, कला, संगीत, रोजगार, योगा, ध्यान आदिमा लाग्ने, व्यस्त हुने गर्दा आफ्नो ऊर्जा यी काममा खर्च हुन्छ र काम इच्छा नियन्त्रण गर्न सजिलो हुन्छ।

-उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.