पश्चिमी वायुको प्रभाव : कतै हिमपात त कतै वर्षाको संभावना
काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको कारणले केही दिनयता मौसममा परिवर्तन देखिएको हो। अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। हाल सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आँशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश र प्रदेश २ का तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली र केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। अन्य बाँकी प्रदेशहरुमा भने आंशिक बदली रहनेछ। साथै देशका उच्च पहाडि तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। बुधबार राती भने पहाडी भू-भागमा आंशिक बदली रहि एक वा दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाल क्षेत्रमा पनि हिमपातको संभावना छ।
यस्तै बिहीबार पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहीबार राती भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा शुक्रबार आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। शुक्रबार राती भने बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू-भागहरुमा हल्का वर्षाको संभावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
हल्का वर्षा र हिमपातले तापक्रममा हल्का गिरावट आइ देशैभरी चिसो बढ्ने संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अनाउन पनि महाशाखाले अपिल गरेको छ।