वडा कार्यालयको सेवा अर्कै जिल्लाबाट...
सन्धिखर्क : संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ । तर, अर्घाखाँचीको शितगंगा नगरपालिका-११ को वडा कार्यालयको सेवा कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ ।
'वडा कार्यलय खयरभट्टीमा छ । तर धेरै सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्छ', वडा अध्यक्ष कपिलाचन्द्र आलेले भने, 'वडा ठूलो छ । बस्ती यत्रतत्र छरिएको छ । स्थानीयलाई खयरभट्टी जान भन्दा राजमार्गमा रहेको इमिलियामा आउन सजिलो हुन्छ ।'
कपिलवस्तुसँग सीमा जोडिएको यस वडाको मौवाबारी, दोबाटो, फोर्सल, खयरबट्टी लगायतका गाउँबाट सेवाग्रही इमिलिया आउँछन् ।
यी गाउँबाट खयरबट्टीको कार्यालय पुग्न पाँच÷६ घण्टा पैदल हिँड्नु पर्छ । त्यहाँ गएर सिफारिस बनाउने र उल्टो फर्कदा दिनभर समय लाग्छ । इमिलियाबाट सिफारिस लिएर सदरमुकाम पुगेर एकै दिनमा नागरिकता बनाउन सदरमुकाम पुगिन्छ । सेवाग्रहीलाई सजिलोको लागि इमिलिया वडा कार्यालय राखिएको आलेले बताए । विकास बजेट, लगायत अन्य छलफल पनि यही“ नै हुन्छ ।
अधिकांस बस्तीका स्थानीयलाई सजिलो हुने भएपछि एउटा खयरबट्टी र अर्काे कपिलवस्तुको इमिलियामा वडा कार्यलय राखेर सेवा दिइरहेका छन् । धेरै जंगल क्षेत्र, छरिएर रहेको बस्ती पैदल हिँडेर पार गरेर खयरबट्टी जानुभन्दा कपिलवस्तु झर्न सजिलो हुन्छ । जिल्लाकै २७ प्रतिशत क्षेत्र ओगटेको सिद्धारा गाविसलाई नयाँ संरचनामा तीन वडामा विभाजन गरिए पनि स्थानीयले सरकारी सेवा सहजै पाउन कठिन छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने कलिवस्तुको इमिलियाको वडा कार्यालयमा नागरिकता लगायतका सिफारिस बनाएर सदरमुकाम र नगरपालिका कार्यालय ठाडा जान सजिलो हुने भएकाले कपिलवस्तुमा कार्यालय राखिएको वडाध्यक्षको भनाइ छ ।
अर्काे समस्या खयरबट्टी गाउँमा विद्युत पुगेको छैन । पोल गाडिएको र केही स्थानमा तार तानेको पनि बर्षौ भैसक्यो । तर, बत्ती बल्ने टुंगो छैन । वडाबाट हुने जन्म, मृत्यु, विवाह दर्ता, समबन्ध विच्छेद र बसाइँ सराइको विवरण अनलाइन प्रणालीमा राख्नु पर्छ । तर विद्युत नहुँदा पनि अर्को जिल्लाबाट सेवा दिनु परेको छ ।
'खयरभट्टीमा विद्युत ल्याने भनेर पोल गाडिएको बर्षौ बितेको छ', स्थानीय बालम न्युटन आलेले भने, 'विद्युत ल्याउने भनेर सामुदायिक वनले ३० लाख रुपैयाँ लगानी गरेर पोल गाडेको हो । यसमा विश्व बैंकले पनि लगानी गरेको छ । तर, विद्युत बलेको छैन ।'
खयरभट्टी कार्यालयमा सातामा तीन दिन बस्ने भनिए पनि यताका सेवाग्रहीले सेवा पाउनबाट बञ्चित भएकाले समस्या भएको छ । सचिव मोदनाथ ज्ञवालीले वडा ११ र १४ हेर्छन् । इमिलियाबाट वडा १४ को कार्यालय पावरा पुग्न ६५ किलोमिटर टाढा जनुपर्छ ।
'दुवैतिर हेर्नुपर्छ दौडधुप धेरै छ', सचिव ज्ञवालीले भने, 'सातामा तीन दिन एउटा र तीन दिन अर्काे वडाको काम गर्नुपर्ने बाध्यता छ ।' जिल्लाका दुर्गम गाउँ समेटिको सितगंगा देशकै ठूलो नगरपालिका हो ।
कपिलवस्तुको इमिलियामा ८५ वर्षीय जीवकला सारुलाई वृद्धभत्ता लिनका निम्ति खाता खोल्न पुगेका उनका छोरा मणिराम सारु सबैको माग अनुसार यहाँ कार्यालय खोलिएको बताउँछन् ।
'अर्को जिल्ला भए पनि कपिलवस्तु नजिक छ', उनले भने, 'सबैको माग अनुसार यहा“ कार्यालय राखिएको हो ।'
शितगंगा ११ को खयरभट्टीमा रहेको वडा कार्यलय