वायु प्रदूषणको प्रभाव
जनमानसले प्रत्यक्ष अनुभव नगरे पनि वायु प्रदूषणबाट मन्दविषले झैं बर्सेनि हजारौं नागरिकको ज्यान गइरहेको छ। लकडाउनका समयमा सुन्दर र हरियाली देखिएको उपत्यकासहित जनघनत्व र सवारी साधनको उच्च चाप रहेका अन्य सहरहरू केही दिनयता धुम्म भएका छन्। अकस्मात उत्पन्न भएको यो असामान्य अवस्थाले तत्काल स्वास्थ्यमा खराबी नदेखाए पनि दीर्घकालीन असर पर्न सक्छ। प्रतिकूल मौसमले उत्पन्न गरेको यो अवस्थाबाट जोगिन सकिएन भने कुनै पनि बेला स्वास्थ्य समस्याको सामना गर्नुपर्ने पक्का छ। यसको एक मात्र उपाय भनेको व्यक्तिगत सतर्कता मात्रै हो।
दूषित वायुलाई आकाश ढाक्ने गरी जम्मा भएको बादलले छेक्दा यताउता छरिन पाएको छैन। यसबाट तुवालोजस्तो देखिने कण बस्तीबाट निकै नजिक जम्मा भएका छन्; जुन प्रदूषण बढाउने मुख्य कारक हुन्। यो समस्याबाट उपत्यकावासीमा एक प्रकारको उकुसमुकुस अवस्था उत्पन्न गरिदिएको छ। सडकमा भिजिबिलिटी घटाएको छ। यसले उपत्यकाको वायु प्रदूषणको तह अहिलेसम्मकै उच्च देखिएको छ। यो भनेको खतराको संकेत हो। प्रदूषणको मात्रा घटबढ भइरहेकाले तत्काल साम्य हुने देखिँदैन। पछिल्ला दिनमा वायु प्रदूषणको मात्रा नापिने एक्युआई तीन सयभन्दा माथि पुगेको छ। जबकि शून्यदेखि ५० सम्मलाई मात्रै स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ। यो समस्या काठमाडौं मात्रै नभएर विराटनगर, नेपालगन्जलगायतका सहरमा पनि उच्च देखिएको छ। सन् २०१८ मा मात्रै वायु प्रदूषणका कारण नेपालमा ३७ हजारको निधन भएको थियो। प्रायः जाडोमा वायु प्रदूषण सबैभन्दा बढी हुने गरे पनि नियन्त्रणबाहिर गइरहेको मानवीय क्रियाकलापकै कारण बाह्रै महिना यो समस्याले सताउन थालेको छ। यसले मुटु, फोक्सो र मस्तिष्कघातसम्मका समस्या निम्त्याउने गरेको छ। यस्ता समस्याबाट विशेषगरी पाका उमेरका व्यक्तिलाई सताउने गरेको छ।
वायु प्रदूषण मात्रै नभएर समग्र वातावरणीय प्रदूषण न्यूनीकरणका लागि स्वदेश तथा विदेशमा हरेक वर्ष दर्जनौं सम्मेलन हुने गरेको छ; थुप्रै नीतिगत व्यवस्था पनि भएका छन् तर कार्यान्वयन तहमा देखिएको फितलोपनका कारण समस्या न्यूनीकरण हुनुभन्दा पनि थप जटिल बनिरहेको छ। सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहोर फाल्ने तथा बाल्नेलगायतका क्रियाकलाप नियन्त्रण गर्न सकियो भने मात्रै प्रदूषणको मात्रामा कमी ल्याउन सकिन्छ। अहिले पनि उपत्यकासहित मुख्य सहरमा वर्षौं पुराना सवारी साधन चलिरहेका छन्। सवारी साधनको स्वच्छता मापन गर्ने हरियो स्टिकर कार्यान्वयनबारे प्रभावकारी अनुगमन भएको छैन। उपत्यकाका मुख्य सडकहरू चिल्ला देखिए पनि गल्ली र भित्री सडकहरूको हालत दयनीय छ। भत्काएर पनि लामो समयसम्म निर्माण नगरिएका ती सडकबाट निस्केका धुलोहरू पनि प्रदूषणको अर्को कारक बनेको छ। लामो समयदेखि पानी नपरेकाले पनि समस्या विकराल बनिरहेको छ।
दीर्घकालीन र अल्पकालीन रणनीति बनाएर नियन्त्रण प्रयास हुनुपर्छ। लाखौं व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो समस्याबाट मुक्ति पाउन सकेसम्म काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन। अति आवश्यक काम नपरी सवारी साधन चलाउनु हुँदैन। समस्या जटिल बन्दै गयो भने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर भए पनि नियन्त्रण कोसिस गर्नुपर्छ। सरकारबाट वातावरणीय प्रदूषणको जोखिम निम्त्याउने थोत्रा सवारी साधनको व्यवस्थापन गर्ने, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ। हरेक व्यक्तिले प्रदूषण निम्त्याउने क्रियाकलापलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ।