दलहरुकै कारण कोरोना जोखिम

दलहरुकै कारण कोरोना जोखिम

काठमाडौं : कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ।’

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ। नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी होलीको आसपासमा संक्रमण व्यापक हुन सक्ने बताउँछन्। पहिलो चरणको कोरोना संक्रमण तिहारपछि न्यून हुन पुगेको हो।

संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन्। ‘खुला ठाउँमा नभई समूह जम्मा हुने र बन्द कोठा तथा हलमा कार्यक्रम गर्दा संक्रमणको जोखिम हुन्छ’, डा. सुवेदी भन्छन्।

सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेको छ। चुनावी माहोलसँगै संक्रमण बढ्ने आकलन जनस्वास्थ्यविद्को छ। सन् २०२० मा चुनाव भएका अमेरिका, दक्षिण कोरिया, पोल्याण्डलगायत मुलुकमा कोरोना संक्रमण उच्च देखिएको छ। डा. मरासिनीका अनुसार न्युजिल्यान्डमा संक्रमण शून्यको अवस्थामा पुगेपछि मात्र निर्वाचन गरिएको थियो। फलस्वरूप, संक्रमण वृद्धि हुन पाएन। अमेरिकामा संक्रमण तीव्र हुनुमा चुनावी माहोल पनि जिम्मेवार रहेको डा. मरासिनीको भनाइ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल राजनीतिक दलले कोरोना संक्रमण घटाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताउँछन्। ‘सांसदहरू कोरोना संक्रमणविरुद्ध जनचेतना जगाउन र कन्ट्याक्ट टे«सिङमा सहयोग गर्न गाउँमा जाने बेला राजधानीमै बसे। अहिले गाउँ पुग्दै छन्। उल्टो गतिविधि भइरहेको छ’, डा. प्याकुरेल भन्छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी अहिले भइरहेका राजनीतिक गतिविधिको प्रभाव दुई महिनापछि देखिन सक्ने बताउँछन्। ‘राजनीतिक गतिविधि जोखिमपूर्ण छन्। सर्वसाधारण पनि कोरोना संक्रमणको बेवास्ता गरिरहेको देखिन्छ’, डा. राजभण्डारी भन्छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.