हजार गीतका सफल संगीतकार
काठमाडौं : निरन्तरको लगावले मान्छेलाई गन्तव्यमा पुर्याउँछ। यस्तै संघर्षले गन्तव्यमा पुगेका संगीतकर्मी हुन्, रामु खड्का। उनले सफल संगीतकार बन्ने सपना मेहनतकै बलले पूरा गरे।
नेपाली लोक तथा दोहोरी गीत–संगीतमा उनले १५ वर्षभन्दा लामो समय व्यतीत गरेपछि यो सफलता हात पारेका हुन्। अहिले उनी नेपाली लोकलयको क्षेत्रमा चुनिएका संगीतकार मानिन्छन्। उनी आफैं गीत लेख्छन्, गाउँछन् अनि संगीत गर्छन् तर उनी आफूलाई संगीतकारकै रूपमा परिचित गराउन चाहन्छन्। अहिले लोक गायनको क्षेत्रमा कहलिएको अनि हिट नाम हो, विष्णु माझी। उनै माझीका प्रिय संगीतकार हुन् रामु। उनकै संगीतमा विष्णुले सयभन्दा बढी गीत गाएकी छन्।
नेपाली संगीत क्षेत्रलाई नयाँ ढंगले विकास गर्नुपर्छ र अव्यवस्थित संगीत क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ भन्ने वकालत गर्दै आएका रामु राष्ट्रको कला–संस्कृति संरक्षणमा लागिपरेका छन्।
युगौंदेखि पुरानो शैलीबाट चलिरहेको लोकदोहोरीलाई उनले पुरानो संस्कृति बच्ने र नयाँ पुस्ताले अंगीकार गर्ने खालको संगीतको सूत्र निर्माण गरेका छन्। त्यसो गर्दा पुुरानो हाम्रो धर्म, रीति, संस्कृति नमास्सिने र बूढापाकादेखि नयाँ पुस्ता पनि संगीतको स्वादमा रमाउने उनको भनाइ छ। नयाँ सिर्जनाको खोजमा तल्लीन रहने उनले संगीत संग्रहालय निर्माण गरेर पुरानादेखि नयाँ कलाकर्मीका सांगीतिक सिर्जना व्यवस्थित गर्ने योजना बनाएका छन्।
पहिला एउटा गीतमा थोरै बाजा प्रयोग गर्ने, छिटो बजारमा फालिहाल्ने चलन थियो तर रामुले एउटा गीतमा चारवटा म्युजिक र नेपालमा प्रयोग हुने बाजा मिसाएर पूर्ण संगीत निर्माण गरे। जब त्यो गीत बजारमा गयो, दर्शक–श्रोताले नयाँ संगीतको अनुभूति गर्न पाए। पछि त्यही प्याटर्नको गीत–संगीतको खोजी हुन थाल्यो। त्यसपछि उनले आफ्नो बेग्लै परिचय बनाए।
एक हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका रामुका आजभन्दा भोलि माया, मर्ने मिति, कसको सिन्दूर, सधैं कुरिरहन्छु, रोएर हेर, रित्तो झोला, मत बगर, बरु यसै दुःखी छु, भदौरे झरी, नियति, स्वर्ण पदकलगायत सयौं गीत चर्चामा छन्।
उनको विशिष्ट क्षमताका कारण विभिन्न संघसंस्थाले उनलाई सम्मानित गरेका छन्। उनले राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७१, बिन्ध्यवासिनी म्युजिक अवार्ड २०७३, राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३, तीज म्युजिक अवार्ड २०७५, इपिक म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन्। यस्तै गीत–संगीतसँग सम्बन्धित संघसंस्थामा रहेर कामसमेत गरिरहेका छन्।