ट्रम्पको उक्साहटमा संसदमा हिंसा

ट्रम्पको उक्साहटमा संसदमा हिंसा

वासिङ्टन डीसी : अमेरिकी संघीय संसद् (क्यापिटल हिल)मा बुधबार जो बाइडेनलाई राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्ने दिन थियो। गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए। तर, धाँधली भएको भन्दै हार अस्वीकार गर्दै आएका ट्रम्पको समर्थनमा बुधबार वासिङ्टनमा हजारौं भेला भएका थिए।

बाइडेन राष्ट्रपतिमा विजयी भएको घोषणाअघि आयोजित भेलालाई सम्बोधन गर्दै ट्रम्पले पुरानै कुरा गरे। उनले राष्ट्रपति निर्वाचनमा धाँधली भएको र त्यसलाई आफूले अस्वीकार गर्ने बताए। उनी त्यतिमै सीमित भएनन्। उनले भने, ‘जो बाइडेनको विजयको विरोध गर्ने सांसदलाई सहयोग गर्न संसद् भवन जानुस्।’

ट्रम्पको भाषणलगत्तै भीड संसद् भवनतर्फ मोडियोे। ट्रम्पको उक्साहटमा उनका समर्थक सुरक्षा घेरा तोड्दै जबरजस्त संसद् भवनमा प्रवेश गरे। त्यहाँ हिंसा मच्चियो। अमेरिकी समयअनुसार बुधबार दिउँसो ट्रम्प समर्थकको ठूलो भीड संसद् भवन प्रवेश गरेको थियो। उनीहरूले संसद्मा तोडफोड नै गरे।

प्रदर्शनकारी संसद् भवन पुग्दा बाइडेनको विजयीलाई प्रमाणीकरण गर्ने क्रम चलिरहेको थियो। ट्रम्पका समर्थक बाइडेनलाई राष्ट्रपतिमा विजयी भएको प्रमाणित गर्ने काम रोक्न चाहन्थे। ट्रम्पले आफ्ना समर्थकलाई चुनावी परिणाम उल्टाउन संसद् भवन प्रवेश गर्न उक्साएपछि हंगामा भएको जनाइएको छ। भीड सिनेट हलसम्मै पुगेको थियो। भीडमा रहेका एक प्रदर्शनकारी सभामुख न्यान्यी पेलोसीको कुर्सीमा पुगेर राष्ट्रपति पदमा ‘ट्रम्प विजयी’ भएको बताएका थिए।

सुरक्षाकर्मीका अनुसार उक्त हिंसामा चार प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको हो। तीन जनाको ‘मेडिकल आपतकालीन अवस्था’का कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

वासिङ्टन डीसीका वरिष्ठ प्रहरी अधिकारीका अनुसार संसद् भवनभित्र दुईवटा पाइप बम फेला परेको छ। अन्य हतियारसमेत भेटिएको ती अधिकारीले बताए। थप हिंसा हुन नदिन वासिङ्टन डीसीमा बुधबार राति १२ घण्टा कफ्र्यु लगाइएको थियो। सडकमा कडा सुरक्षा छ। संसद् भवनमा प्रदर्शनकारीको जबर्जस्त प्रवेशलाई अमेरिकी इतिहासमै खराब सुरक्षा उल्लंघनको घटनामध्ये एक भएको दाबी गरिएको छ।

प्रदर्शनकारीको आक्रमण भएको चार घण्टापछि मात्रै संसदीय प्रक्रियाले निरन्तरता पाएको थियो। संसद् भवन पूर्णरूपमा सुरक्षित रहेको घोषणा गर्दै बाइडेनलाई विजयी भएको प्रमाणीकरण गर्ने काम सुरु भएको थियो। उपराष्ट्रपति माइक पेन्सले संयुक्त सदनलाई सम्बोधन गर्दै घटनाको भत्र्सना गरेका थिए। पेन्सले यो घटना जसले गराए पनि तिनीहरूको जित नहुने भन्दै हिंसाको कहिल्यै विजय नहुने बताए। साथै, उनले यो घटना अमेरिकाको इतिहासमा कालो दिन भएको टिप्पणी गरे।

ट्रम्पले भने हिंसालाई ‘विशेष’ भन्दै प्रदर्शनकारीको प्रशंसा गरेका थिए। उनले चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै हिंसालाई उचित भएको टिप्पणी गरेका थिए। लगत्तै उनले प्रदर्शनकारीलाई घर फर्किन आह्वान गरेको भिडियो ट्विटरबाट सार्वजनिक गरेका थिए।  उनले शान्ति–सुव्यवस्था कायम गर्ने सुरक्षाकर्मीको कामलाई सहयोग गर्न पनि प्रदर्शनकारीलाई अपिल गरे।

ट्रम्पको भिडियोलाई ट्विटर, फेसबुक र युट्युबले हटाइदिएका छन्। ट्रम्पले निरन्तर दंगा फैलाउने र प्रदर्शनकारीको समर्थनमा निरन्तर सामाजिक सञ्जालमा सन्देश जारी गरेको भन्दै ट्विटर, फेसबुकले उनको खातामा प्रतिबन्ध लगाइदिएका थिए। ट्विटरले १२ घण्टासम्म नयाँ ट्विट गर्न नमिल्ने गरी ट्रम्पको खातामा प्रतिबन्ध लगाइदिएको थियो भने फेसबुकले २४ घण्टासम्म रोक लगाएको छ।

पूर्वराष्ट्रपतिहरूद्वारा आलोचना
अमेरिकाका पूर्वराष्ट्रपतिहरूले संसद्मा भएको हिंसात्मक घटनाको चर्काे आलोचना गरेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पको उक्साहटमा घटना भएको दाबी गर्दै भनेका छन्, ‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्। यो देशका लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ।’

पूर्वराष्ट्रपति बिल क्लिन्टनले विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला भएको टिप्पणी गरे। उनले संसद्मा भएको आक्रमणको घटनाले अमेरिकीलाई एकविरुद्ध अर्काे उभ्याइरहेका रूपमा चित्रण गरे। त्यस्तै, जर्ज डब्ल्यु बुसले चुनावी नतिजाको यस्तो विवाद ‘बनाना रिपब्लिक’मा मात्र हुने भन्दै अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा यो नहुने टिप्पणी गरे। 
विश्वभरका नेताहरूद्वारा विरोध

विभिन्न देशका नेताहरूले पनि घटनाको भत्र्सना गरेका छन्। युरोपेली संघका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्। आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्। 

नेटोका महासचिवले यो घटना स्तब्ध पार्ने खालको भनेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन्। फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले घटनालाई अमेरिकी चरित्रसँग अमिल्दो भएको टिप्पणी गरेका छन्। क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भन्दै त्यसबाट ‘क्यानेडियालीहरू विक्षिप्त भएको’ बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दंगा र हिंसाको समाचार हेर्नुपर्दा आफूलाई दुःख लागेको बताउँदै शक्तिको शान्तिपूर्ण हस्तान्तरण गर्न आग्रह गरेका छन्। न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले नागरिकको मताधिकार र त्यो निर्णय मान्य हुने अधिकारलाई भीडले पल्टाउन नहुने बताएकी छन्।

बाइडेन विजयी भएको घोषणा
अमेरिकी कांग्रेसले नयाँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएको घोषणा गरेको छ। संसद्मा ट्रम्पसमर्थकको हिंसात्मक प्रदर्शन भएको केही घण्टापछि कंग्रेसले बाइडेन अमेरिकाको  राष्ट्रपति निर्वाचित भएको प्रमाणित गरेको हो।

स्थानीय समयअनुसार बिहीबार बिहान इलेक्टोरल कलेजको मतगणना सकिएको थियो। उपराष्ट्रपति माइक पेन्सले अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको घोषणा गरे। बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट चाहिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.