लोकतन्त्रको उपहास

लोकतन्त्रको उपहास

दुई महिनाअघि सम्पन्न राष्ट्रपति निर्वाचनको औपचारिक नतिजा घोषणा गर्न वासिंटन डीसीस्थित क्यापिटल हिल (अमेरिकी संसद्) भित्र बुधबार कांग्रेसको बैठक चलिरहँदा भएको हमलाको घटना विश्वभर चर्चित बन्यो। उक्त घटनालाई यतिखेर विशेषगरी विश्व जगत्ले दुइटा कोणबाट विश्लेषण गरिरहेको छ। पहिलो हो, विश्वलाई नै प्रजातन्त्र र लोकतन्त्रको पाठ सिकाइरहेको अमेरिकीजस्तो विकसित, शिक्षित र सभ्य मानिएको मुलुकमा त राजनीतिका नाममा यस्तो घृणित कदम चालिन्छ भने अन्य मुलुकको के कुरा ? यो प्रसंगसँगै जोडिएको दोस्रो विषय हो, मतपरिणामबाट स्पष्टरूपमा पराजित भए पनि हार स्वीकार गर्न तयार नभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब के गर्लान् ? विश्लेषण आआफ्नै भए पनि अमेरिकी जनताको चरित्रसँग अमिल्दो यो घटनाले त्यहाँको लोकतन्त्र पनि घेराबन्दीमा पर्न थालेको हो कि भन्ने चिन्ता थपिएको छ।

स्वाभाविक रूपमा राजनीतिक व्यवस्था, अनुशासन, स्वतन्त्रता, विधिको शासन र जनजीविकालाई दूरगामी प्रभाव पार्ने विषयमा निर्णय गर्दा हरेक मुलुकले विकसित राष्ट्रका असल अभ्यासलाई सापटी लिने गर्छन्। अमेरिका, बेलायतलगायतका विकसित मुलुकमा भएका सकारात्मक प्रयोग भर्खरै विकासको गतिमा लम्किरहेको मुलुकका लागिसमेत मानक बन्ने गर्छन्। तर अमेरिकामा निर्वाचन परिणामलाई लिएर जुन किसिमको उपद्रो मच्च्यिो, जसले आम मानिसको धारणालाई गलत साबित गरिदियो। मतगणनाको बेलादेखि नै परिणामलाई लिएर असन्तुष्टि जनाउँदै आएका वर्तमान राष्ट्रपति ट्रम्पका समर्थकले बुधबार कंग्रेस बैठकभित्रै पसेर आक्रमण गरेका थिए। हतियारसहित गएका आन्दोलनकारीले तोडफोड गर्दै कर्मचारी र सुरक्षाकर्मीमाथि इँट, बोतललगायतका सामानले हमला गरेका थिए। जुन घटनामा एकजनाको मृत्युसमेत भयो। यो घटना वास्तवमै आलोचनायोग्य छ। घटना शैली हेर्दा नियोजित थियो र यसमा ट्रम्पले नै प्रत्यक्ष निर्देशन दिएका थिए भन्ने अनुमान लगाउन कठिन पर्दैन। विश्वलाई नै लज्जित बनाउने गरी भएको यस किसिमको घटनाले राजनीति साँच्चिकै फोहोरी खेल रहेछ भन्ने आम मानिसको असन्तुष्टिलाई बल पुर्‍याएको छ।

निर्वाचनमा धाँधली भएको दाबी गरिरहे पनि ट्रम्पले कतै पनि भरपर्दो प्रमाण पेस गर्न सकेका छैनन्। मतपरिणाम घोषणा हुनै लागेकाले अन्तिम प्रयासस्वरूप उनले आफ्ना समर्थकलाई प्रदर्शनमा उतारेका थिए। चुनावी परिणामलाई सहजै स्वीकार्न नमान्ने आम राजनीतिज्ञको अटेरीपनलाई यस घटनाले चरितार्थ गरेको छ। राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन भएर जानीबुझीकनै गरिएको यो घटनाले अमेरिकाको लोकतन्त्रमाथि खतरामा पारेको छ। स्वाभाविक रूपमा रिपब्लिक र डेमोक्रेटिक गरी दुई धारमा विभाजित अमेरिकी राजनीतिमा यो घटनाले ट्रम्पले प्रतिनिधित्व गरिरहेको रिपब्लिकन पार्टीकै बेइज्जत गरेको छ। घटना अझै नसेलाएकाले ट्रम्पले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्दैनन् कि भन्ने चिन्ता पनि थपेको छ।

घटना अमेरिकी भए पनि राजनीतिक अस्थिरता निम्तिरहेको नेपालजस्तो मुलुकले पनि पाठ सिक्न जरुरी छ। मुलुक पनि राजनीतिको घनचक्करमा फसिरहेको अहिलेको अवस्थालाई कसरी सहज रूपमा पार लगाउने भन्ने विषयमा बहस गर्न बाध्य पारेको छ। सत्तापक्ष वा विपक्ष दुवै समूहले अमेरिकी घटनालाई सूक्ष्म ढंगले नियाल्न जरुरी छ। एकजना सन्की वा विधिको शासन नमान्ने व्यक्तिको लहैलहैमा लाग्दा मुलुकले कतिसम्मको क्षति बेहोर्नुपर्दो रहेछ भन्नेतर्फ यहाँका राजनीतिज्ञले मनन गर्न जरुरी छ। निर्वाचन परिणामलाई सहजै स्वीकार गरेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न जरुरी रहेको यो घटनाले देखाएको छ। क्षणिक आवेगमा आउँदा शदीयौंदेखि कमाइएको राजनीतिक इमान एकै पलमा खरानी हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.