मीतज्यू हजुर !
‘भुराको जाडो ता भोकाले खान्चा पो’, हिउँदको एक बिहान उनले भनेका थिए र एक डबका स्वाट्ट पारेर हाँसेका थिए, ‘हाहाहाहा...।’ उनले बोकाभन्दा भोकाजस्तो सुनिन्थ्यो। मलाई त्यस्तो उच्चारण सुन्न मज्जा लाग्थ्यो।
उनी थिए हाम्रो भैंसीका लागि गोठ बनाइदिने डकर्मी अर्थात् मेरा मीतबा। मीतबा असाध्यै मेहनती र असल थिए। मलाई बुबा माया गर्थे। भन्थे, ‘तिमी खुब राम्रो पड्च। अझै पड, आगुँ परागुँ पिलेन कुदाउला।’ गोठको तला छापेको तेस्रो दिन मीतबासँगै ऊ पनि आएको रहेछ। मेरै उमेर र कदको त्यो मंगोलियन केटो बन्दै गरेको गोठको आडैमा थोत्रो गुन्द्रीमा बसेर कक्षा ३ को अंग्रेजी किताब पढिरहेको थियो। म पनि ३ कक्षाकै किताबहरू हातमा च्यापेर स्कुलबाट फर्किंदै थिएँ। देखेँ। हाम्रा आँखा चार भए। ऊ मुसुक्क हाँस्यो र मुन्टो फरक्क फर्काएर गाह्रो लगाउँदै गरेको आफ्नो बालाई पुलुक्क हेर्यो तर उहाँले देख्नु भएन।
गोठको छानो छाउन भनेर बुबाले खर जम्मा गर्नुभएको थियो। गोठमुनि बारीमा खरको कुन्यु थियो। कुन्युको आडमा बसेर मैले नै उसलाई सोधें, ‘के निनाम ?’ ‘मेरो नाम आले गिसिङ। तिम्रो नाम चैं के नि हौ ?’, उसले पनि लजाउँदै सोध्यो। ‘माई नेम इज जीवन खत्री। मिस्टर जीवन खत्री’, बडो सानका साथ भनिदिएँ। खासमा मैले जानेकै त्यतिमात्र थियो र त्यो पनि त्यही दिन मात्र सिकेको थिएँ। ऊ छक्कै पर्यो मेरो इङ्लिस सुनेर। उसले अर्कै लोकबाट आएको मनुष्य देख्यो मलाई। क्वारक्वार्ती हेरिरह्यो, निकै बेर। उसका खल्तीमा ढुंगा घोटेर बनाएका गुच्चा रहेछन्। खेल्यौं। मसँग सलाईको तास थियो। जम्मै तास उसैले जित्यो। मैले हारें। ‘ओइ, हामी मीत लाम्’, कुन्नि के सनकमा उसलाई भनें। उसले मान्यो। एकअर्काको निधार ठ्याम् ठ्याम् तीन पटक ठोक्यौं।
०००
खल्ती छामें। मसँग गाई पैसा रहेछ। दिएँ। ऊ खुसी भयो। उसले पनि उसै गरी खल्ती छाम्यो। सायद पैसा खोजेको थियो। रहेनछ। औषधि सकिएर फालिएको रित्तो सिसाको भाँडो उसले मतिर बढायो। लिएँ किनकि फुकेर बजाउन हुन्थ्यो। धैत्... मीत लाएपछि त झन् लाज पो लाग्यो। कुन्नि के के सम्झेर पारितिर हेर्दै खिस्स हासें। पारि एक हुल चरा उड्दै थिए। उसको अनुहारमा हेर्नै सकिनँ। उसले पनि हेरेन। सायद लजायो। हामीले मीत लगाएको कुरा पहिला दिदीले थाहा पाई। अनि बुबाआमाले। मीतबाले पनि। त्यसपछि धारामा पानी थाप्न आउनेले। सबैले जिस्क्याए। लाजले रातोपिरो भएँ, ऊ पनि।
गोठ बनाएर सकेको दिन मीतबा सँगै उहाँको घर गएँ। मीतआमा, मीतदिदी, मीतभाइ सबैलाई मीतबाले चिनाइदिनुभो। के बोल्नु लाजले रातो भएँ। मीतदिदीले चिनाउँथिन््, ‘हाम्रो आलेको मीत।’ लाजले घोप्टो परेर हात माडी बस्थें कि नङ टोकेर। खाना खाने बेला ज्वाइँलाई जस्तै घेराफेरा भयो। दूध, दही, घ्यू, अचार, दहीमा पनि चिनी। घेराफेरा देखेर झन् लाज लाग्यो। सबै दिएपछि मीतदिदीले नमस्कार गर्नुभो। के गरेको होला ? आफूभन्दा सानालाई पनि नमस्कार ? धेरैपछि थाहा पाएँ, त्यो त पाहुनालाई सम्मान पो दिएको रैछ। आफूले पनि फर्काउनुपर्ने रहेछ। फर्काइनँ। के थाहा ?
०००
‘यो भुरो भोटेको घरमा जाँड खाएर आको, यसलाई घरभित्र छिर्न नदे’, मीतघरबाट फर्किनासाथ गाउँका एक हजुरबाले जिस्क्याए। दगुर्दै भित्र पसें र दगुर्दै निस्किएँ। ‘भन्दै छु। भन्दाभन्दै छिर्छ ए नाथे !’ उनी कड्किए। थपे, ‘सुँगुर पनि खायो होला। छिर्न दिनै हुन्न।’ कुन्नि केको हो, मासु त खाएको थिएँ। ल बरबाद। घरमै पो छिर्न नपाइने भो। निल्ल परें। मलाई त रोऊँ रोऊँ भो। नाकबाट सिँगान बग्यो। स्वाट्ट भित्र तानें र बाँकी सर्टको दाहिने बाहुलाले पुछें। उनले थाहा पाए, ‘नाति रुन लाग्यो।’ फकाए, ‘नरो नरो, जिस्काको मात्तै।’ बुबाआमाले केही भन्नुभएन। खुसी लाग्यो।
०००
बुबाआमा दिनदिनै आकाशतिर हेरेर निराश हुनुहुन्थ्यो। साउनको २० कट्दा पनि पानी परेको थिएन। बीउ ब्याडमै दुई बित्ताको भइसकेको थियो। साउनको अन्तिमसम्म आकाश हेर्दै कुर्नुभो। अहँ, पार लागेन अनि त घरमा सल्लाह भो, ‘खेतमा कोदो रोप्ने।’ रोपाइँमा हिलो खेल्न मजा आउँथ्यो। रोपाइँ नहुने भएपछि हिलो खेल्न नपाउने भएँ भनेर पीर लाग्यो। आमालाई भनें, ‘पँधेराको पानीले एउटा फगटोमा धान रोप्छु नि।’
‘मीतज्यू, हजुर भन्नुपर्च’ भनेपछि त धानको बीउ ल्याउनु न मीतज्यू हजुर। यता पानी थुन्न परो मीतज्यू हजुर। यता झार उखेल्न परो मीतज्यू हजुर। खाजा खान आउनु न मीतज्यू हजुर।
आमाले मान्नुभो। मक्ख परें। भोलिपल्ट सबैले कोदो रोप्ने, मचाहिँ धान। आहा ! झन् त्यही साँझ झोलाभरि आँप बोकेर मीत आएछन्। हाम्रोमा आँप हुन्थेन। पाकेर पहेंला भएका गुलिया आँप खुब खाएँ। रमाइलो भयो। भोलिपल्ट अरूहरू कोदो रोप्न निस्के। मीत र मचाहिँ रोपाइँ गर्न। खेतमा पुगेपछि, पहिले खन्यौं। आली काट्यौं। भित्तो चिल्यायौं। पँधेराको पानी कुलोबाट खन्दै–खन्दै ल्यायौं। हिलो पार्यौं र छुप्लुक छुप्लुक धान रोप्यौं। ‘एइ मीतलाई तिमी भन्नु हुँदैन।’ खड्किनी फुपूले कोदो रोप्नै छाडेर कराउनुभो। थप्नुभो, ‘मीतज्यू, हजुर भन्नुपर्च।’ अनि त, धानको बीउ ल्याउनु न मीतज्यू हजुर। यता पानी थुन्न परो मीतज्यू हजुर। यता झार उखेल्न परो मीतज्यू हजुर। खाजा खान आउनु न मीतज्यू हजुर। जतिपटक मीतज्यू हजुर भन्थ्यौं, त्यतिपटक काकाकाकी, फूपू र दिदीहरू गलल हाँस्नुहुन्थ्यो। रमाइलो लाग्दो हो नि।
दस पास नहुन्जेल मीतज्यूको घरमा बाक्लै आउजाउ भइरह्यो। उस्तै माया गरेर मीतबा–आमाले भिजाइरहनुभयो। म भिजिरहें। सहर बसेपछि पनि दसैंमा टीका र आशीर्वाद थाप्न पुग्थें। जब पुग्थें तब उत्साह फैलिन्थ्यो। आहा क्या दिन थिए। मीतज्यूको पढाइ बीचैमा टुट्यो। काठमाडौंमा बस्दा खबर पाएँ, ‘तेरो मीतले केटी भगाएर बिहे गर्यो।’ सोचें, ‘राम्रै भो। मन मिले भैगो नि।’ पछि मीतज्यू र मितिनीज्यू सदरमुकाम बस्न थाले, मीतले ट्याक्टर चलाउन थाले भनेर खबर पाएँ। त्यो वर्ष दसैं मान्न गाउँ जाने अवसर जुरेन। अर्को वर्ष पुग्दा त मीतछोरो टुकुटुकु हिँड्ने भइसकेछ। मीतकै सही म पनि पो बा भएछु। मीतबा। मीतछोराले ‘मीतबा’ भन्दा कस्तो कस्तो !
...
काठमाडौंमा अनेक थरी ठक्कर खाएँ। संघर्ष गरें खुब। केही खास नभएपछि हार खाएर परदेश लागें। धेरै कुरा टुट्यो, बुबाआमा, साथीभाइ, आफन्त अनि देशको काख। मीत र मीतघरतिर पनि सम्पर्क ठ्याम्मै टुट्यो। झन्डै चार वर्षपछि अघिल्लो दसैं–तिहार स्वदेशमै मनाउने मेसो मिल्यो। टीकाकै भोलिपल्ट खुरुरु कुदें मीतघरतिर। आँगनमा लेउ र झार। घरमा कमेरो रातमाटो लाएजस्तो लागेन। सुनसान छ घर। डुँडमा सुँगुरका दुई पाठाले देख्नेबित्तिकै ‘च्वाँ च्वाँ’ गर्न थाले, भोकले सायद। घर पूरै सुनसान। के हो यस्तो ? मन चिसो भो।
‘आहुम’ खोकें। भित्रबाट सानानानी र बाबु निस्के। मीत–छोराछोरी होलान्। कुन्नि के के भने, मैले बुझिनँ, तामाङ भाषा। तिम्रो नाम के हो बाबु ? ‘रबिन गिसिङ।’ तिम्रो नामचाहिँ के नि है ? पहिलो भेटमा मीतले सोधेकै शैलीमा मीतछोराले पनि सोध्यो। झसंग भएँ। रमाइलो लाग्यो। हाँस्दै भनें, ‘आले गिसिङ।’ ‘आपाआमा खै त बाबु ?’, हातमा चकलेट थमाउँदै सोधें। खुसी भए। ‘आमा खेत गाछ, आपा भितर सुतेको छ’, उसले भन्यो।
‘किन सुतेको त ?’, फेरि सोधें। ‘दुपै किट्नी फेल भो भन्च’, नसोचेको जवाफले खंग्रंगै भएँ। कसरी ? हत्तेरिका ! स्वाट्ट भित्र छिरें। मैलो तन्ना, मैलै सिरक। झ्यालछेउको खाटमा आँखा चिम्म गरेर पल्टिरहनु भा’रैछ मीत। मैले बिस्तारै बोलाएँ, ‘मीतज्यू।’ बिस्तारै उहाँका आँखा खुले। सुरुमा नचिने झैं गरी हेर्नुभो। बिस्तारै उठ्नुभो अनि गम्लंग अँगालो हाल्नुभो, निकै बेर। अँगालोबाट छुट्दा उहाँका आँखा चिसा भइसकेछन्। आँसु पुछिदिएँ। नरुनुस् भन्न सकिनँ। रोएछु। आँखाको डिल हुँदै खसिहाले नि एक हरक माया। बरु मीतले पो भन्नुभो, ‘नरुनुस् मीतज्यू हजुर !’
०००
दैनिक भत्ता र मासिक तलब, ट्याक्टरको कमाइ राम्रै थियो। गाडी चलाउनुका अलावा लोड–अनलोडमा आफूले पनि सकेको गरेपछि कमाइ थपिने नै भयो। एउटा सानो भाडाको कोठा। छोरोलाई बोर्डिङ पठाउने तयारी हुँदै थियो। खुत्रुकेमा अलिअलि बचत पनि हुन थाल्यो। मितिनी गर्भवती हुनुहुन्थ्यो। अब एक छोरी भइदिए त स्वर्ग भइगयो नि ! पाँच÷छ महिना भएको थियो, पेट अलिअलि दुख्न थालेको। एक कचौरा जाँड स्वाट्ट पारेपछि सन्चो हुन्थ्यो। तर, त्यस बिहान बढी नै दुख्यो। डाइजिनले पनि ठीक नभएपछि दिउँसो अस्पतालमा चेकजाँच भयो। किड्नीमा समस्या देखिन्छ, तुरुन्त काठमाडौं जान भनेर डाक्टरहरूले भनेपछि पो मनमा चिसो पस्यो। हतार–हतार बुलेरोको टिकट काट्नुभो र त्यही दिन काठमाडौं पुग्नुभो।
पुगेर के गर्नु ? किड्नीले काम गर्न छोडिसकेछ। त्यही पनि दुई÷तीन हस्पिटल फेरेर दुई लाख सकेपछि मात्र पत्ता लाग्यो। डाक्टरहरूले आस देखाए, किड्नी फेर्न सकिन्छ। कसले दिन्छ र फेर्नु ? दिए पनि फेर्न पुग्ने पैसा कहाँ ? उपचार गर्दागर्दै ७ लाखले पुगेन। ज्यानभन्दा ठूलो सम्पत्ति हैन, अलिकति बारी थियो मितिनीले बेच्दिनुभो। समस्या झन् थपिँदै गयो। के गर्नु कर्मको खेल ? आँसुको पोखरी।
०००
भूकम्पले घर भत्काएपछि पधेंरामुनि घर बनाएर बस्नुभा’रैछ मीतबा र मीतआमा। छोरो आएको छ भनेर सुन्नासाथ हतार–हतार आउनुभो। गाला चाउरी परेछन्, बूढो हुनुभएछ मीतबा–आमा। देख्नासाथ रुन थाल्नुभो। मितिनी पनि रोएको रोयै। फुल्याउँदा फुल्याउँदै राति निकै बेर भयो। साना छन्, छोराछोरी। मीतको अवस्था यस्तो छ। आम्दानीको बाटो केही छैन। खेतबारी थोरै छ, वर्षभरि खानै धौ–धौ। डायलोसिस गरिरहनुपर्छ र लाग्छ महिनामा खर्च ३५ हजार जति। सरकारले डायलोसिस छुट भने पनि आउ, जाउ, खाउ, बस भाडा खर्च भइहाल्छ। हस्पिटलमा पनि के के कागजात र औषधिको खर्च लाग्छ। हरे ! आफूले पनि आँसु पिलपिल झार्नु र स्वास्थ्यलाभको कामना गर्नुबाहेक के नै र ?
डायलोसिस गराउन भन्दै बिहानै मीत सहर लाग्नुभो। म पनि उदास हुँदै घर फर्कें। चिसा आँखा नपुछी मनमनै भनें, ‘छिट्टै निको हुनु है, मीतज्यू हजुर !’