पृथ्वीनारायण शाह : युद्धभूमिका सिपाही
आधुनिक नेपालको इतिहासमा बडामहाराज पृथ्वीनारायण शाह र प्रधानमन्त्री जंगबहादुर कुँवर राणाको व्यक्तित्वलाई सिपाहीको आँखाबाट हेर्दा विशिष्ट स्थान ओगट्न सफल देखिन्छ। करिब ३१ वर्षको राज्यकालमा १८०० सालदेखि १८२५ सालसम्म पृथ्वीनारायण शाह नेपाल एकीकरणको युद्धभूमिमै थिए। एकीकरण र विदेशीविरुद्ध युद्ध सञ्चालन गर्न १५ वर्षजति दहचोक (इन्द्रदह)मै मुकाम गरे। थाहा भएका मात्र करिब १० वटा युद्धको नेतृत्व गरी आफैं लडे। १८२६ सालमा काठमाडौं उपत्यका पूरै एकीकरण गरेपछि सुनकोसीपूर्व टिष्टा–मोरङका युद्धहरूको खटनपटन र व्यवस्थामै व्यस्त रहे।
पंक्तिकार पूर्वसैनिक भएको नाताले सहजै अनुमान लगाउन सक्छ, सानातिना युद्ध व्यवस्थापन गर्न पनि ठूला समस्या आइपर्छन्। समाधानका लागि नसोचेका उपायहरूको जोहो गर्नुपर्छ। ती राजाले उनको ३० वर्षे एकीकरणको राज्यकालको चटारोमा कति मोजमस्ती गरे होलान् ? कति दुःख पाए होलान् ? कति त्याग गरे होलान् ? कति जंगलको बास भयो होला ? यस पक्षमा सैनिक इतिहासको मर्म बुझ्नेले मात्र केलाउलान्। तरबार–बन्दुक नछोएका तर कलमबाट गोली ठोक्ने विद्वान् भनाउँदाहरूले तत्कालीन राजा पृथ्वीनारायणलाई शोषक–सामन्त मात्र बनाएको देख्दा चित्त दुख्ने मात्र होइन, मन नै रोएको छ। बच्चा पाउने पीडा आमालाई मात्र थाहा हुन्छ। चीनका सैन्य रणनीतिज्ञ सुन्जु र पृथ्वीनारायणको रणनीतिलाई तुलनात्मक अध्ययन गर्ने हो भने मात्र उनको महानता संसारले बुझ्नेछ।
अर्का वीर पुरुष हुन्, जंगबहादुर। यिनले १९११ सालमा अगुवा भएर नेपाल–भोटको अन्तिम युद्ध लडे र विजय पनि प्राप्त गरे। १९१४ सालमा भारतीय सिपाही विद्रोह नियन्त्रण गर्न आफैंले नेतृत्व दिए। बडामहाराजाधिराज पृथ्वीनारायण १७९९ पुस २७ मा जन्मिएर १८०० (सेप्टेम्बर २५, १७४३) मा राजा भई १८३१ माघ १ गते मृत्युवरण गरे। २०/२१ वर्षे ठिटो राजालाई मोजमस्ती गरेर बस्नुभन्दा राज्य विस्तार गरी अन्ततः नेपाल एकीकरणको थालनी गर्न मन लाग्यो।
जति बेला टिष्टा नदी पश्चिम र महाकाली (काली) नदीपूर्व झन्डै ६० वटा साना राज्य थिए। ती सबै राज्य विशाल नेपाल टुक्रिएर बनेका नेपालभित्रकै साना नेपाल थिए। भन्नैपर्दा १८२५ सम्म पनि ती ६० साना राज्यभित्र नेपाल भन्ने राज्य कुनै थिएन। बोलाइ र सम्बोधनका रूपमा काठमाडौं उपत्यकालाई नेपाल भनिन्थ्यो। त्यहाँ पनि भक्तपुर, ललितपुर
र कान्तिपुर नामका राज्यहरू थिए।
गोर्खा, लमजुङ, कान्तिपुर, मकवानपुर, जुम्ला आदि सबै साना राज्य नेपाल नै थिए। छरिएका तिनै टुक्रे नेपाललाई एउटै माला बनाई बृहत् नेपाल अर्थात् ‘ग्रेटर नेपाल’ बनाउने काम गोर्खा राजवंशीय द्रव्य शाहका सन्तानले नै सुरु गरी आधुनिक नेपाल निर्माणमा नेतृत्व लिएकै हुन्। सो काममा सम्पूर्ण नेपालीको उत्तिकै सहयोग र साझेदारी छ। सबैको इतिहास लेखिन नसक्नु राष्ट्रको कमजोरी हो भने इतिहास लेखकहरूले गरेको अल्छीपन भन्न सकिन्छ। अर्काले लेखेका इतिहासलाई कन्याई–कोट्ट्याई गरेर मात्र हामी धेरैजसो विद्वान् बनेका छौं। गाउँघर भीरपहरामा डुलेर इतिहास खोज्ने काममा हाम्रो तिघ्रा चल्दैन।
लेखकले एकीकरण युद्ध, नेपाल–मुगल युद्ध, नेपाल–सिक्किम युद्ध, नेपाल–सिख युद्ध, नेपाल–अंग्रेज युद्ध, नेपाल–तिब्बत युद्ध भएका स्थलहरूको भ्रमणका आधारमा अनि उसबखत डोको–नाम्लो थाप्लोमा भारी बोकाएर युद्ध सामग्री जुटाउनुपर्ने, त्रिशूली, कर्णाली, कोसीजस्ता ठाडा खोला तर्नुपर्ने, खुट्टाले हिँडेर बृहत् नेपाल विजय गर्ने, लगाउने लुगा र खाने रासनको हालतको कल्पना गर्दा लेखक नतमस्तक बन्नु परेको हो।
त्यस बखतको गरिब राज्य गोर्खा र अल्लारे ठिटो तत्कालीन राजा पृथ्वीको अठोट र साहस देख्दा नेपालीलाई धिक्कार्न मन लाग्छ। उनका बारेमा हामीले डोकाका डोका कुरा काटेका छौं तर देशका लागि एक चिम्टी काम गर्न सकेनौं। वास्तवमा पृथ्वी राजा मात्र नभईकन एउटा दुःखी सिपाही हुन पनि जन्मेका रहेछन्। निम्न घटनाहरूले उनी युुद्धभूमिका सिपाही थिए
भन्ने प्रमाण पुग्छ।
१८०० सालमा उनले कान्तिपुर राज्यको नुवाकोटमाथि असफल हमला गरे। असफल हुनुको कारणलाई भारदारसँग विश्लेषण गरी उनी स्वयं हिन्दुस्तान–बनारस पुगी हातहतियार, गोलीबारुद बनाउने कालीगढ ल्याई हतियार र गोलीसमेत खरिद गरी आए। बलियो सैनिक संगठन बनाए। उनको पिता नरभूपाल शाह र उनकै पालामा भएको नुवाकोटमाथिको दुवै असफल हमलामा विशेष गरी गोर्खाका पन्त ब्राह्मण तथा मगर सैनिक भारदारबीच भएका मनमुटाव नै थियो। सो कुरा बुझेर अब हुने नुवाकोटमाथिको हमला आफू र आफ्ना भाइहरूकै नेतृत्वमा गर्ने निर्णय उनले गरे। सोहीअनुसार त्रिशूली खोलाको शुभघाटबाट त्रिशूली तरेर नुवाकोटमाथि तीन दिशाबाट अर्थात् मल्टी डाइरेक्सनल एट्याक गर्ने योजनाअनुसार एक दिशाबाट राजा स्वयं र अर्को दुई दिशाबाट उनका सहोदर दुई भाइले नेतृत्व लिए। यो हमलामा आआफ्ना वंशका इतिहास लेख्ने र पैसा लिएर इतिहास लेख्ने विद्वान्हरूले युद्धको नेतृत्व पाँडे–थापा–बस्न्यातहरूले गरेको बारेमा भने विविधता पाइन्छ। ती सरासर गल्ती छन्। नुवाकोट माथि हमला गरी पृथ्वीनारायणकै नेतृत्वमा विजय ध्वजा फहराइएको हो।
यस विजयलाई विफल पार्न कान्तिपुरे फौज काजी जयन्त रानामगरको नेतृत्वमा नुवाकोट किल्लाबाट करिब तीन कोस दक्षिणमा रहेको बेलकोटगढीमा थुप्रेको र नुवाकोटमा काउन्टर अट्याक अर्थात् प्रत्याक्रमण गर्ने तयारी गर्दै गरेको थाहा पाउनासाथ सोही वर्ष र महिनामा करिब २/३ दिनभित्रै पृथ्वीनारायणले बेलकोटगढीमाथि हमला गर्ने निर्णय सुनाए। यो उनको एकल निर्णय थियो। भाइभारदार मानेनन्। मुख्यमन्त्री कालु पाँडेले त पटक्कै मानेनन्। कसैको कुरा नसुनी फौज मार्च गरे। भारदार–मन्त्री पछि लागे। काजी जयन्त राना नेतृत्वको फौजले लडाइँमा गोर्खालीलाई ठूलो क्षति पुर्याए। पृथ्वीमाथि ढुंगामुढा–गोली बर्सिन थाले। उनका वरिपरि झन्डै ७० जना आफ्नै फौज मरे। मुख्यमन्त्री कालु पाँडेले युद्धबाट भागौं भन्दा राजा पृथ्वीले उनलाई झपारी एक्लै अघि बढी लड्दा फौजले छाडेन। अन्ततः उनकै साहस र वीरतामा बेलकोटगढी कब्जा भयो। बास्तवमा उनले ठूलो दुर्घटना छलेका थिए। यो विजय फलामको मुटु भएका वीर सिपाही पृथ्वीनारायणकै कारणले सम्भव रह्यो।
दहचोक विजय भएपछि पृथ्वीले करिब १५ वर्ष बेलकोटगढी मुकाम गरी युद्ध मुख्यालय र खलंगा चलाए। इन्द्रदहको पानी मुहाननजिक ब्यारेक खडा गरी उनले यहाँबाटै मकवानपुर राज्य, काभ्रे इलाका, कीर्तिपुर, नगरकोट, कान्तिपुर विजय गरे। १८१९ सालमा मकवानपुरमा भएको मुगल सम्राट्का सेनापति मिर कासिम नेतृत्वको फौज र १८२४ मा ब्रिटिस सम्राट्का सेनापति क्याप्टेन जर्ज किनलक नेतृत्वको फौजविरुद्धका अन्तर्राष्ट्रिय युद्धहरू पनि यहीँबाट सञ्चालन गरे। यो स्थान ज्योतिषीहरूका अनुसार लक्षणको थियो। यहाँबाट उनले सञ्चालन गरेका सबै युद्ध अभियान सफल बने।
त्यसैले उनलाई यसै स्थानमा दरबार बनाई नेपालको राजधानी यहीँ सार्ने इच्छा थियो। असामयिक निधनले त्यो काम पूरा हुन पाएन। इन्द्रदह इलाकामा उनले बनाएका ब्यारेक गढी र खलंगाका भग्नावशेष अहिले पनि थुप्रै भेटिन्छन्। उनैले स्थापना गरेको विन्ध्यवासिनीको मन्दिर अहिले पनि छ। यसको नजिक उनको सानो छाप्रो दरबार थियो।
मकवानपुर विजय गरेको केही महिनापश्चात् मुगल फौजले पहिला मकवानपुर विजय गरी काठमाडौं उपत्यका छिर्ने उद्देश्य लिएर दुई वाहिनी फौज मकवानपुर हमला गर्न बढ्दै गरेको खबर पाउनासाथ उनले तुरुन्तै थप फौज पठाए र दुश्मनविरुद्ध प्रत्याक्रमण (स्पोइलिङ एन्ड काउन्टर अट्याक)को योजना बनाए। उनी फौजसँगै लड्न मकवानपुर हिँडे।
भाइभारदारले भने उनको सुरक्षाको कारण देखाई उनलाई मकवानपुरको ठिंगनभन्दा अगाडि बढ्न दिएनन्। मकवानपुर दरबारबाट करिब चार कोस टाढा रहेको ठिंगनमै उनले युद्ध मुख्यालय खडा गरी आफ्ना भाइहरू तथा सेनापतिलाई आदेश दिए। १८१९ मा गोर्खाली सेनाले मुगल सेनामाथि विजय प्राप्त गर्यो। महान् सिपाही पृथ्वीनारायणलाई यस युद्धबाट करिब ५ सय राइफल, गोली, बारुद र दुई नाल तोप पनि प्राप्त भयो। आधुनिक इतिहासमा नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय युद्ध थियो।
नेपाल एकीकरणको सिलसिलामा मकवानपुर राज्यअन्तर्गतको तिमालकोट काभ्रेमा सेन राजाको ठूलो फौज थियो, जहाँ स्थानीय प्रशासक तामाङ जातका रेन्जेन दोर्जे थिए। झन्डै ३१ दिनको एकीकृत युद्धपछि सेन फौज हारेर भागे र वर्तमान सिन्धुलीगढीमा बसे। त्यहाँ पुग्दा भने राजा साथमै थिए। सिन्धुलीको डाँडोमा पटक–पटक सेन फौजसँग युद्ध भयो। अन्ततः पृथ्वीनारायणकै नेतृत्वमा १८१९ असोज २० गते सिन्धुलीमा विजय प्राप्त भयो। केही फौज त्यही राखी पृथ्वीनारायण फौजसहित हरिहरपुर दरबार हालको गढीतर्फ लागे।
त्यसपछि करिब २० घण्टाजति हिँडेपछि गोर्खाली फौज हरिहरपुर दरबार पुग्यो। मकवानपुर दरबारको युद्धमा पराजय भई भागेका राजा दिग्बन्धन सेन पृथ्वीनारायणका जेठान त्यहीँ बसेका थिए। समयको बर्बाद नगरी पृथ्वीले त्यही पुगी हमला गर्न निर्देशन दिए। ठूलो युद्ध भयो। अन्ततः १८१९ असोज २२ गते दरबार पनि विजय गरिछाडे। त्यहाँका राजा दिग्बन्धन सेन भने भागे।
वास्तवमा उनी कहिल्यै नथाक्ने दुःखी सिपाही थिए। उनको विश्वास फलामजस्तो दह्रो थियो।
एकपछि अर्को सफलता मिलेपछि उनी अब काठमाडौं उपत्यका छिर्न थाले। पर्खालले घेरिएको र चुट्टानमा रहेको कीर्तिपुर सहरलाई कब्जा गरी त्यहाँ सैन्य खलंगा सार्ने योजना गरे। यहाँ हमला गर्ने दिनको घोषणा आफैंले गरे। त्यो दिनमा हमला गर्न हुन्न भनी मूलकाजी कालु पाँडेले भने। उनले युद्ध गर्न मान्दै मानेनन्। ज्योतिषीको साइतमा अशुभ भन्दै कालु पाँडे लडाइँमा जान राजी थिएनन्। पृथ्वीले नै ढिपि गरे। भाइभारदार र फौज भने राजी भए। तर, कालु पाँडेले युद्ध जित्न त परै जाओस् म मर्छु होला भन्ने यकिन गरी ‘म मरेपछि मेरो शवलाई गोर्खा देखिने डाँडो दहचोकमा जलाउनू’ भनी आफन्तलाई कान फुके भन्ने लेखिएको पाइन्छ। युद्धमा पृथ्वीनारायण आदेश दिँदै बढे। सुरुमा फौजले सफलता पाए पनि कान्तिपुर, पाटन र भक्तपुरको संयुक्त र विशाल फौजको अगाडि गोर्खाली फौजको केही लागेन। दुर्भाग्यवश कालु पाँडे मारिए। उता पृथ्वीनारायण शाह पनि झन्डै काटिए। तैपनि उनले हरेश नखाई फौजलाई दहचोक फर्काए। उनका भारदारलाई मर्छु भन्ने डर थियो। तर उनमा मर्छु भन्ने कायरता कहिल्यै पलाएन। उनले जहिले पनि अग्रपंक्तिमै युद्धको नेतृत्व गरे।
गज्जबको कुरो के हो भने महŒवपूर्ण अन्तर्राष्ट्रिय युद्धहरू उनैले सञ्चालन गरे। कान्तिपुरका राजा जयप्रकाश मल्लको निमन्त्रणामा भारतमा रहेको ब्रिटिस सरकारको कप्तान जर्ज किनलकको नेतृत्वमा एक वाहिनी फौज गोर्खा फौजलाई नष्ट गर्ने उद्देश्यले कान्तिपुर आउँदै थियो। पृथ्वीले उक्त फौज नपठाउन ब्रिटिससँग कूटनीतिक पहल पनि गरे तर अंग्रेज आउने नै भयो। अब उनले दहचोक इन्द्रदहबाट थप फौज हरिहरपुर दरबार (गढी) र सिन्धुलीतर्फ पठाए। अंग्रेज फौज बागमती खोलैखोला हरिहरपुर हुँदै सिन्धुली हुँदै कान्तिपुर पुग्नेवाला थियो। अन्ततः सिन्धुलीमाढी, ढुंगेभञ्ज्याङ, पौवागढी, सिन्धुलीगढी, खुर्कोट हुँदै पनौती पुग्ने भए। यो खबर इन्द्रदह खलंगाम ै थाहा पाएपछि उनले अंग्रेजलाई प्रतिहमला (स्पोइलिङ अट्याक) गर्ने योजना बनाई थप फौजका साथ आफैं सिन्धुली डाँडाको खनियाँखर्क पुगी युद्ध मुख्यालय खडा गरे। सिन्धुली बजारको कमला नदी, सिन्धुलीमाडी–ग्वाङ खोला– ढुंगेभन्ज्याङ–पौवागढी–सिन्धुलीगढीमा फौज तैनाती गराई थुप्रै धराप (मल्टिपल एम्बुस) थापे।
पृथ्वीनारायणको योजनाअनुसार अंग्रेज फौज विभिन्न धरापमा परे। ७ सयभन्दा बढी मरे तर ११ सय मरेको भनी लेखिएको छ। ४ सय नालभन्दा बढी हतियार, गोलीगट्ठा हात पारे। १९२४ असोज ९ गते भएको पहिलो नेपाल–अंग्रेज युद्ध थियो यो। विजयपछि उनले ढुंगेभञ्ज्याङमा रहेको भद्रकाली मन्दिरमा दर्शन गरी गुठी–पैसा दानसमेत गरेका थिए।
यो युद्धले नेपालीलाई युरोपमै बहादुर भनी चिनायो। वास्तवमा पृथ्वीनारायणकै साहस र दृढताले यो युद्ध सफल भएको थियो।
मुगल र अंग्रेज फौजलाई हराई उच्च मनोबल भएका गोर्खाली फौजले अब काठमाडौं उपत्यका छिरेर कान्तिपुर हमला गर्ने योजना बनायो। यतिखेरसम्म कीर्तिपुर गोर्खालीले कब्जा गरिसकेका थिए। थोरै फौज कीर्तिपुरमा र धेरै फौज इन्द्रदह, दहचोकमै थिए। दुवैतिरको फौज एकत्रित गरी कान्तिपुरमाथि टँुडिखेलको महांकाल–नरदेवी र भीमसेनस्थान (परोपकारनेर) गरी तीनतिरबाट एकैपटक (मल्टी डाइरेक्सनल) हमला गर्ने योजना बन्यो। भीमेसनस्थान मोहडाको मुख्य हमलाको नेतृत्व उनी आफैंले गरे। अन्य मोहोडामा उनका भाइहरू थिए। १८२५ सालको इन्द्रजात्राका दिन कान्तिपुर राज्य गोर्खामा विलय भयो। त्यसपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले विजय गरेको सबै भूभागलाई नेपाल भने। यो उनको महानता
र नेपाल एकीकरण गर्ने मनले गर्दा नै हो। आज नेपालको सट्टा गोर्खा हुन सक्ने विकल्पमा कुनै शंका छैन।
कान्तिपुरपछिका युद्धहरूमा पृथ्वीनारायण उपस्थित रहेको प्रमाण लेखकसँग छैन। पाठकवर्गले थपिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु। त्यसपछि पाटन र १८२६ सालमा भक्तपुरमाथि विजय हासिल गरे। त्यसपछि सुनकोसीपूर्वका टिष्टा–मोरङका युद्धहरूमा उनलाई फौज खटाउन युद्ध सामग्री जुटाउन धौ–धौ पर्यो। सिक्किमसँग युद्ध गर्नु पर्यो चैनपुर, संखुवासभामा। बाँकी ५ वर्षमा उनले नेपालको सीमा टिष्टा पुर्याए। चौबिसे राज्यमाथि थुप्रै असफल हमला सञ्चालन गराए। दुखैदुःखमा १८३१ माघ १ गते उनले वीरगती पाए। यहाँनेर इतिहासकार विद्वान्हरूले मनन गर्नैपर्छ, उनी राजा थिए कि युद्धभूमिका सिपाही ?
अन्त्यमा, छुटाउनै नहुने कुरो भनेको पृथ्वीनारायणले कीर्तिपुरेको नाक काटे भनी उनको जन्मजयन्तीको दिन त्यही नाकको कहानीमा वर्षैपिच्छे शोध लेख्ने विद्वान्हरूलाई लेखकको आग्रह के छ भने त्यो समयमा मुगल साम्राज्य, चीन, युरोप, मंगोलियालगायतमा किन नाक काट्ने सजायको प्रचलन थियो ? अनि काठमाडौं उपत्यकामा मल्ल राजाहरूले सैनिकलाई
नाक–कान काट्ने ज्यान मार्ने सजाय किन दिन्थे ? नेपाल–अंग्रेज युद्ध १८७३ सालमा मलाउमा नाक कान काटिएका तथा अन्तिम नेपाल–भोट युद्ध १९११ सालमा नाक कान काटिएका नेपाली फौजका दस्तावेजहरू लेखकसँग सुरक्षित छन्।
त्यो जमानामा धोकाधारी–युद्धबाट भाग्ने नामर्द तथा समाजमा इज्जत फ्याँक्ने व्यक्तिको नाक कान काटिन्थ्यो। युद्धभूमिमा लड्ने दुस्मनलाई गोली वा अरू हतियारबाट मार हानिन्थ्यो।
नाक कान काटिन्नथ्यो। अनि विगतको १० वर्षे आतंककारी युद्धमा नेपालभित्रै कति शिक्षक, आमनागरिकको गर्दन–छाला–शिर काटिए ? त्यस बर्बरतालाई टाउकोमा बोकेर केही ठेकेदार विद्वान्ले पृथ्वीलाई मात्र खेदो खनेको देख्दा पंक्तिकारलाई प्राज्ञिक दया लाग्छ। बडामहाराजा पृथ्वीनारायण शाह पक्कै पनि युद्धभूमिका सिपाही र त्यसपछि मात्र राजा थिए। उनी आधुनिक नेपालका निर्माता र नेपालको राष्ट्रिय एकताका प्रतीक हुन्। उनको जन्मजयन्तीमा नमन
र सैनिक सलामी अर्पण गर्दछु।
लेखक सैनिक इतिहासका विद्यावारिधि हुन्।