गौतम पार्टी एकता अभियानमा

गौतम पार्टी एकता अभियानमा

काठमाडौं : नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्। 

पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाएका छन्। ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस्। यसो गर्नुभयो भने प्रिय कमरेडहरू हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरूलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनर्एकीकरण गर्न सकिनेछ’, गौतमले वक्तव्यमा भनेका छन्।

सरकारले एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको वक्तव्यमा उल्लेख छ। गौतमले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा रहेको पार्टी पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक भएको जनाएका छन्। उनले विभाजन रोक्न नसके नेपाली जनताले कहिल्यै माफी नदिने चेतावनी दिएका छन्।

‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्’, उनले भनेका छन्।

उनले दुवै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न आग्रह गरेका छन्। ‘एकअर्कालाई दोष दिँदै, सामान्य मानमर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गर्नुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं’, व्यक्तव्यमा लेखिएको छ, ‘ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरूप सम्मानजनक ढंगबाट हल गरौं।’

उनले पार्टीका नेता–कार्यकर्तालाई जो जहाँ जुन अवस्थामा रहे पनि नेकपा एकता अभियानको नाममा संगठन खडा गर्न र विभाजनमा ढल्केकाहरूलाई सम्झाउन आग्रह गरेका छन्। ‘घरमा आउने कमरेडहरूलाई आफूसक्दो सहयोग गर्नुहोस्। सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस्’, वक्तव्यमा छ।
शीर्ष नेताहरूको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले व्यहोर्न पर्ने अवस्था आएको गौतमको ठहर छ। पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना हुनु राष्ट्रकै निम्ति पीडादायी अवस्था भएको उनको भनाइ छ।

 ‘पार्टीभित्र उत्पन्न उपर्युक्त समस्या समाधान गर्नुको बदला एकीकरणपछिको यो एक वर्ष नेतृत्वको धु्रवीकरणमा बित्यो। पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले व्यहोर्नुपरेको छ’, गौतमले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.