दिनरातसँग टाढिए भैरव रिमाल

दिनरातसँग टाढिए भैरव रिमाल

काठमाडौं : ‘छन्दमा लेख्यो भने गीत हुन जान्छ, छन्द तोड्दियो भने कविता तर कविता भन्नु गीत हो’, गीत र कवितामाथि गहन विश्लेषण गर्ने भैरवनाथ रिमाल ‘कदम’ शनिबार यस संसारबाट बिदा भएका छन्। कानमा समस्या आएपछि जनसम्पर्क घटाउँदै लगेका उनलाई दसैंपछि अस्पताल भर्ना गरी चार दिन उपचार गरेर घर ल्याइएको थियो।

जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ, हुँ यात्री एउटा रुमल्ली हिँड्ने जंगली पाखामा, उदास मेरो जीवन कथा जस्ता गीतबाट चर्चा कमाएका वरिष्ठ गीतकार रिमालका पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन्। स्वरसम्राट् नारायणगोपालका प्रिय व्यक्ति रिमाल थिए भन्ने गीतसंगीत र कृतिबाट देखिन्छ। 

‘भैरवको व्यक्तित्व र कृतित्वबारे नारायणगोपालले सम्पादन गरेका थिए, उनको सम्पादनमा प्रकाशित यही एउटा कृति हो। भैरवका गीतहरूको संग्रह पनि २०३५ सालमा नारायणगोपालले नै प्रकाशन गरेबाट सम्बन्ध गहिरो थियो भन्ने प्रस्ट हुन्छ’, संगीतबार बुलु मुकारुङले अन्नपूर्णसँग भने।

कविका रूपमा समेत परिचित भैरवनाथ रिमाल गोपीनाथ र यमुनादेवीको कोखबाट १९९३ माघ २ गते काठमाडौंको ठमेलस्थित गल्कोपाखामा जन्मिएका थिए। चाबहिलनिवासी उनी टक्सार विभाग हुँदै सूचना विभागबाट २०४४ सालतिर सेवानिवृत्त भएका थिए। उनको पहिलो रचना २००८ सालको गोरखापत्रमा प्रकाशित भएको थियो भने पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य २०११ सालमा प्रकाशित भयो। करिब ६ दशकको साहित्यिक यात्रामा उनले रेडियो नेपाल, रत्न रेकर्डिङ संस्थान आदिबाट गीतमा प्रथम पुरस्कार पाएका थिए। रिमाल त्रिशक्ति पट्ट पाँचौं, जनसेवा पदक, दीर्घसेवा पदक, गोदवा पाँचौं, आदिबाट सम्मानित र छिन्नलता गीत पुरस्कारबाट पुरस्कृत भएका थिए।

गीतकार यादव खरेलले कुनै पनि गीत जनमनमा झुन्डिन शब्द, संगीत र स्वर तीनवटै पक्ष उत्तिकै सशक्त हुनुपर्ने बताउँदै रिमालका शब्द बेजोड भए पनि सबै गीतले चर्चा बटुल्न नपाएको बताए। उनले भने, ‘अन्तर्मुखी स्वाभावका रिमाल कान र अल्जाइमरको समस्याले पछिल्ला वर्ष ओझेलमा पर्नुभयो।’ भारत र भुटानको भ्रमण गरेका उनले २०११ सालमा भैचम्पा, २०३९ सालमा बिन्दु, सोही वर्ष भुइँको धुलो, २०३१ मा शून्य लीला, दर्शन र मेरो देश अनि म, २०३२ मा संकल्प र ने मुनिको सपना, २०२६ सालमा ढुंगाको मूर्ति र हिमालको झर्ना कृति प्रकाशन गरेका थिए। 

यसैगरी उनका २०२८ सालमा माटो रम्छ, २०२८ मा शैलजा, पत्थर हृदय र गिरिजा, २०३४ सालमा हरेक प्रहर अनेक लहर, भक्ति र समर्पण र २०५२ सालमा जिन्दगीका धुजाहरू गरी २६ कृति प्रकाशित छन्।

आफूले लेखेको गीत ‘दिनरात अब मदेखि टाढा भएर गइहाल्यो’ झैं रिमाल दिन र रातदेखि अब सधैंका लागि टाढिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.