अभियन्ताको नजरमा बागमती सफाइ महाअभियान

अभियन्ताको नजरमा बागमती सफाइ महाअभियान

बिहान उठ्नेबित्तिकै कुचो हातमा लिई घरआँगन, मझेरी, दलान सफा गर्ने चलन परम्परादेखि चल्दै आएको छ। खानपिनजत्तिकै सफाइलाई प्राथमिकतामा राखी मानव सभ्यता अगाडि बढेको छ। घर सफा–सुग्घरमा सबैको चासो भए पनि नदीनाला, सडक, मठमन्दिर, पाटीपौवा, सत्तलजस्ता सार्वजनिक स्थलहरूको नियमित सफाइमा पर्याप्त ध्यान पुग्न नसकेको हामी सबैले देख्दै र भोग्दै आएका छौं।

सार्वजनिक स्थलको दुर्गतिले मन कटक्क दुखेपछि केही संघसस्था र व्यक्तिहरूका पहलमा काठमाडौं उपत्यकाभित्र बहने बागमती नदी सफा गर्ने धेयले २०७० जेठ ५ गतेबाट बागमती सफाइ महाअभियान सुरु भएको हो। अभियान सुरु भएदेखि घामपानी, जाडोगर्मी, हावाहुरी, प्राकृतिक विपद्, भाइरस संक्रमण, लकडाउन, नाकाबन्दी, महान् चाडबाड जस्तोसुकै परिस्थितिमा पनि अभियान निरन्तर र अटुट रूपमा सञ्चालन भइरहेको छ, अभियानले विश्राम लिएको छैन।

व्यक्तिगत लाभको इच्छा नराखी निःस्वार्थ भावले सफाइमा संलग्न चप्पलमा आउने व्यक्ति हुन् वा करोडौंको गाडी चढेर आउने व्यक्ति हुन्; उद्योगपति वा मजदुर हुन्; निजामती कर्मचारी, संगठित संस्थामा काम गर्ने कर्मचारी वा सुरक्षा निकायमा कार्य गर्ने व्यक्ति हुन्; जुनसुकै धर्म, वर्ण, लिंग, जात, जाति, क्षेत्रका व्यक्ति हुन्; सरकारी ढुकुटीबाट सुविधा लिने व्यक्ति हुन् वा आफ्नो बन्द व्यापार, उद्योग, कृषिबाट जीवनयापन गर्ने व्यक्ति हुन्; समग्रमा राजादेखि रंकसम्म नदीमा आई एक दिन मात्र सफाइमा योगदान दिएका छन् भने पनि महाअभियानको नजरमा ती सबै अभियन्ता हुन्।

बिग्रेको वातावरण सुधार गर्ने सोच; सफाइको सुरु र अन्त्यमा हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? भन्ने जस्ता भनिने÷लगाइने नारा र शपथ, अभियानमा राष्ट्रियताले ओतप्रोत भएको समूहमा कार्य गर्ने माहोल, सांस्कृतिक र धार्मिक महत्व राख्ने नदी, अध्ययनको विषयवस्तुलाई लागू गर्ने कार्यस्थल, अभियन्ताबीच शालीन र आत्मीय व्यवहार, सबैलाई समान व्यवहार, समान हैसियत, पर्व, उत्सव, जात्रा झैं लाग्ने दृश्यजस्ता कडीले अभियन्तालाई निरन्तर अभियानमा डोर्‍याइरहेको छ। कहिल्यै नथाक्ने, कहिल्यै पनि लोभलालचमा नफस्ने, आफ्नै आत्मसन्तुष्टिका लागि निःस्वार्थ भावले देशका लागि केही गरौं भन्ने अभियन्ताकै संकल्पमा अभियान अटुट रूपमा अगाडि बढ्न सकेको छ।

यस अभियानमा प्रत्येक हप्ताको शनिबार बिहानको समयमा अभियन्तासहितको सफाइ समूह उत्साहका साथ सफाइमा संलग्न हुन्छन्। दुई घन्टाको सफाइ क्रममा नेपालको राष्ट्रिय गान, सफाइसम्बन्धी केही नारा, प्रतिबद्धता तथा शपथपश्चात् सफाइ सुरु हुने र अन्त्यमा राष्ट्रिय भावनाबाट ओतप्रोत भएका गीतमा नाचगान गरी हाम्रो अभियान जारी छ भन्ने प्रतिबद्धताका साथ सफाइ कार्यक्रम समापन हुने प्रचलन रहेको छ। धर्म, संस्कृति, सभ्यतासँग प्रत्यक्ष सरोकार राख्ने यो अभियानले २०७७ पुस २५ गते चार सय हप्ता पार गर्दै छ।

यो विशुद्ध स्वयंसेवी, आम नागरिकलाई सरसफाइसम्बन्धी आत्मबोध गराउने अभियान हो। यो अभियान कुनै निकायमा दर्ता भएको छैन। अभियान सञ्चालनका लागि कुनै समिति छैन। आदेश दिने कुनै पदाधिकारी छैनन्। कुनै कार्यालय छैन। रकम कलमको कारोबार हुँदैन, गरिँदैन। चन्दा रकम स्वीकार गरिन्न। अभियानका नाममा बैंक खाता छैन। यो अभियान संसारमै निरन्तर र अविरलरूपमा चलेको लामो र गैरराजनीति अभियान हो। सफाइमा संलग्न सबै व्यक्ति समान हैसियतका अभियन्ता हुन्। स्वयंसेवी अभियन्ता स्वस्फूर्तरूपमा जोडिएको अभियान हो।

यस अभियानको पदचाप पछ्याउँदै काठमाडौं उपत्यकाका दर्जनौं स्थान र उपत्यकाबाहेक देशका सयौं स्थानमा सफाइ अभियान सञ्चालनमा छन्। यस अभियानको छाप देशको सिमानाभन्दा बाहिर पनि विस्तार भएको छ।

कोभिड– १९ कोरोना भाइरसको संक्रमणका समयमा पनि अभियान रोकिएन। यसको कार्यशैली भने केही परिवर्तन गरी ठूलो समूहमा हुने गरेको सफाइ अभियानलाई सामाजिक दूरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाई ससानो समूहमा गरिएको थियो।

देशमा सफाइ गर्नुपर्ने क्षेत्र धेरै भए पनि हाल यो अभियानले आफूलाई वातावरणसम्बन्धी जल, जमिन र आकाशको सफाइमा केन्द्रित गरेको छ। राजनीतिक परिवर्तनका लागि जसरी जनलहरको आवश्यकता पर्छ; त्यसरी नै सार्वजनिक सम्पत्ति संरक्षण एवं सफाइ अभियानमा पनि जनलहर जरुरत छ। सफाइ नहुँदाका असर र सफाइका सकारात्मक परिणामका बारेमा बुझाई स्थानीय निकायमार्फत घरघरमा जनचेतना जगाई सार्वजनिक सम्पत्तिको संरक्षण, प्रयोग एवं सफाइमा व्यक्तिगत सम्पत्तिसरहको अपनत्व जगाउन जरुरी भइसकेको छ।

यो अभियान देश सफा गर्ने सुरुवाती स्वयंसेवी कदम हो। फोहोरमैला गर्दा एक लाखसम्म जरिमाना र तीन महिनासम्म कैद सजाय हुने कानुनमा व्यवस्था हुँदा पनि फोहोरमैलाप्रति सर्वसाधारण सजक भएको पाइन्न। सरुवा रोगको मुख्य कारण फोहोर हो भन्ने जान्दाजान्दै पनि यसलाई वास्ता गरिएको छैन। हामीलाई निश्चित अन्तरालमा गाँस (खाना) खाए पुग्छ। तर क्षणक्षणमा नै फेरिने सास (अक्सिजन हावा) कस्तो छ भनेर कहिल्यै सोचिएन। फोक्सोका रोग, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघातको जड वायु प्रदूषण हो भन्ने विषय हामीले बुझ्न सकेनौं। त्यसैले यस कार्यका लागि तोकिएका निकायलाई जिम्मेवार बनाई प्रत्येक नागरिकले खबरदारी गर्न र आवश्यक परेको स्थानमा काँधमा काँध मिलाउनुपर्ने भएको छ।

प्रयोग गर फ्याक (युज एन्ड थ्रो) सिद्घान्तमा उत्पादित बस्तुले फोहोरको मात्रा बढ्दो छ। फोहोर संकलकबाट बेलगाम रकम असुल्ने, आफ्नै किसिमले फोहोर संकलन र मिल्काउने कार्य हुँदैछ। विभिन्न बहानामा फोहोर किन्छु, त्यसबाट मल बनाउँछु भन्ने कम्पनीलाई प्रवेश दिइएको छैन। आफू पनि नगर्ने र अरूलाई प्रवेश गर्न रोकी ओगटेर राख्ने प्रवृत्ति हावी भएको छ। फोहोरका लागि रकम तिरेपछि मेरो जिम्मेवारी पूरा भयो भन्ने मानसिकता आम नागरिकमा छ।

तीन करोड नेपाली एवं विदेशी पाहुनाले उत्पादन गरेको फोहोरमैला थोरै निकायले व्यवस्थापन गर्नैपर्छ। मेरो केही पनि जिम्मेवारी छैन भन्नु त्यति जायज हो जस्तो लाग्दैन। फोहोरमैला व्यवस्थापनका लागि सम्बन्धित निकायलाई जिम्मेवार तोके पनि यसको समुचित व्यवस्थापनका लागि नागरिकको पनि त्यत्तिकै जिम्मेवारी छ।

गाउँमा भएका फोहोरलाई न्यूनतम विन्दुमा राख्न र नगरमा भएको फोहोरलाई व्यवस्थापन गर्न चुनौती छ। प्रत्येक फोहोर पुनः प्रयोग गर्न मिल्ने अथवा उद्योगको कच्चा पदार्थ हुन सक्छ। फोहोरलाई उद्गमस्थलमै वर्गीकरण गरियो र फोहोर संकलकले पनि वर्गीकरणअनुसारको फोहोरलाई समुचित व्यवस्थापन गर्न सके सार्वजनिक स्थलसम्म फोहोरको पहुँच नै हँुदैन भने अर्कातर्पm फोहोर थुपार्ने स्थान (डम्पिङ साइड) मा जाने फोहोर एकदुई प्रतिशत पनि हुन्न। ‘मेरो वासस्थानवरिपरिको सार्वजनिक स्थल म आफैं सफा राख्छु’ भनी प्रत्येक नागरिकले प्रण गर्ने हो भने फोहोर समस्याको रूपमा रहने छैन। सार्वजनिक स्थलमा फोहोर गर्दिनँ, फाल्दिनँ भनी प्रण गरौं। आफूले आफैंलाई अनुशासनमा राखौं। सफाइ मामलामा विदेशमा रहँदा सजग हुने व्यक्ति स्वदेशमा आएपछि किन छाडा ? सोचनीय छ।

मेसिनको युगमा हातले फोहोर टिपेर हुन्छ, यो त हुट्ट्यिाउँले आकाश थाम्छु भनेजस्तै भयो भनी आलोचना गर्ने आलोचकहरूको पनि कमी छैन। यी आलोचनालाई मनन गर्दै सुधार गर्नुपर्ने आनीबानीमा सुधार गर्दै स्वयंसेवी अभियन्ता हात्तीको लम्काइ झैं आफ्नो लक्ष्य पछ्याउँदै अघि बढिरहेका छन्।

जिम्मेवार निकायबीच समन्वय, समझदारी, सहकार्य र खबरदारी गर्दै आम नागरिक, सरकारी निकाय, संघसस्था, स्वयंसेवी अभियन्ता सबैको सत्प्रयासमा वातावरण सफाइलाई मूर्तरूप दिनुपर्ने छ।

विदेशी ऋण सहयोगमा बागमती नदी किनारामा सौन्दर्यीकरण (ब्युटिफिकेसन) को कार्य भइरहेको छ। काठमाडौं उपत्यकामा बहने नदी किनारामा भीरजस्ता अग्ला–अग्ला पर्खाल लगाइएको छ। ती पर्खालले नदीहरू नाला, कुलोका रूपमा बहन बाध्य छन्। ती पर्खालले गर्दा पवित्र नदीसम्मको पहुँचमा अवरोध उत्पन्न भएको छ। पर्खाल स्पर्शमैत्री र आवागमनमैत्रीविपरीत छ। पर्याप्त घाटको व्यवस्था हुन सकेन। ढल व्यवस्थापन सन्तोषजनक छैन। नदीको अधिकार क्षेत्रलाई बेवास्ता गरिएको छ। नदीको प्राकृतिक बहाबलाई अवरोध गरिँदा प्राकृतिक विपद्को पर्खाइमा रहनुपरेको छ।

अभियानले वातावरण सफा राख्नुपर्छ भन्ने चेतना गाउँगाउँसम्म पुग्न सकेको छ। प्रायः मृत भइसकेका नदीहरूमा जलचर चलमल गर्न लागेका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण सरकारले मात्र होइन; मैले पनि गर्नुपर्छ भन्ने भावना जागृत भएको छ। सफाइ अभियान देशैभरि विस्तार हुँदैछ। देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, संवैधानिक अंगका प्रमुख, उच्चपदस्थ अधिकारी, विदेशी विशिष्ट पाहुना, लाखौं स्वदेशी तथा विदेशी नागरिकलाई अभियानले नै नदीसँग साक्षात्कार हुने अवसर मिलेको छ। यो अभियानले नयाँ पुस्ताका लागि विस्मृतिमा गइसकेको पूर्वीय सभ्यताको एउटा अभिन्न पाटो स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको छ।

ढल पाइपबाट फोहोर नबगाएसम्म र ठाउँठाउँमा फोहोर प्रशोधन केन्द्र निर्माण भई सञ्चालन नभएसम्म नदीको पानी सफा नहुने नै भयो। बागमती नदीमा हिउँदमा पनि निश्चित लेभलसम्म पानीको बहाब कायम गर्न सरकारी स्तरमा बर्खाको पानी संकलन गर्ने प्रयोजनका लागि निर्मित धाप ड्यामको कार्य सम्पन्न हुन लागेको र नागमती ड्याम निर्माण चरणमा रहेकाले यी आयोजना पूरा भएपछि नदीमा पानीको मात्रा बढ्ने आशा पलाएको छ।

लामो अवधिसम्म सक्रिय रूपमा सहभागी भइरहँदासमेत नदीमा सधैं फोहोर पानी नै बगिरहेको देख्दा, अस्थिर सरकार, सरकारको सुस्त कार्य गराइ, ठेकेदारको आलटाल, सम्बन्धित निकायबीच समन्वयको कमी, सर्वसाधारणले बुझेर पनि बुझ पचाइदिने बानीले अभियन्ताको मन कँुडिने नै भयो। देश सफाइमा चाहेजस्तो परिणाम आइ नसके पनि अभियन्ताले हरेस भने खाएका छैनन्।

नदीको सरसफाइलाई आफ्नो कर्तव्य ठानी सरसफाइमा अग्रसरता लिन समुदायलाई उत्प्रेरित गर्नु, उनीहरूलाई साधनस्रोत र अधिकारले सम्पन्न बनाउनु, नदी संरक्षणबाट प्राप्त लाभमा समुदायका सबै नागरिकको हिस्सेदारी हुने अवस्था सृजना गर्नु, ठूला पूर्वाधार निर्माण तथा जोखिमयुक्त फोहोर प्रशोधनमा सरकारी निकायलाई सक्षम र जिम्मेवार बनाउनु तथा नदी अतिक्रमण हटाउनु अभियानका प्रमुख चुनौती छन्।

अभियानको पचासौं हप्ताको कार्यक्रममा उपस्थिति भई गुह्येश्वरीमा बागमती नदीको जलले राष्ट्रपतिले शिरमा अभिसिञ्चन गर्नुभएको र समाजका विशिष्ट व्यक्तिले स्नान गर्नुभएको थियो। यसले समाजमा सकारात्मक सन्देश प्रवाह भएको थियो।

अभियानको सय हप्ताको कार्यक्रममा बागमती नदीको सुन्दरीजलदेखि सुन्दरीघाटसम्म २८ किलोमिटरका दुवै किरानाको ५६ किलोमिटरमा सवा लाखभन्दा बढी व्यक्ति उपस्थित भई मानव सांग्लो बनाई बागमती नदीमा फोहोर गर्दिनँ, फोहोर गर्न दिँदैनौं भनी प्रतिबद्धता जनाएका थिए।

वातावरणप्रेमीका बलमा अभियानको दुई सयऔं हप्तामा तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा दसबँुदे सफाइ घोषणा पत्र जारी भयो। सफाइप्रति जिम्मेवार हुन दबाब सृजना गर्न देशका सयौं विशिष्ट व्यक्तिहरूको हस्ताक्षर संकलन भई सोही हस्ताक्षरको बलमा तत्कालीन प्रधानमन्त्रीबाट देशैभरि सफाइ गर्ने उद्देश्यका साथ २०७५ साललाई सरसफाइ वर्ष घोषणा गरियो। यी घोषणाले सम्पूर्ण नेपाललाई सफासुग्घर राख्ने संकल्प लिएको थियो। अभियानको तीन सय हप्ताको अवसरमा स्थानीय तहलाई सफाइमा जिम्मेवार बनाउन नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, २०७५ (नमुना) तयार गरियो।

वातावरण सफाइमा केही चुनौती छन्। त्यसैले जिम्मेवार निकायबीच समन्वय, समझदारी, सहकार्य र खबरदारी गर्दै आम नागरिक, सरकारी निकाय, संघसस्था, स्वयंसेवी अभियन्ता सबैको सत्प्रयासमा वातावरण सफाइलाई मूर्तरूप दिनुपर्ने भएको छ।

बालबालिकालाई जसरी सफा–सुग्घर राख्छौं। त्यसरी नै प्रकृति मातालाई पनि दागरहित सफा राखौं। नेपालको सफाइलाई देखेर विदेशीले ‘अहा बागमती !’ भन्दा गर्भले हाम्रो छाती ढक्क फुलोस्। जय बागमती !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.