आफ्नो सुरक्षा आफैं
कोरोना संक्रमणको क्रम नरोकिए पनि सरकारी तथा गैरसरकारी कार्यालय, निजी लगानीका शैक्षिक संस्था, व्यापारिक मलसहित लगभग सबै क्षेत्र खुल्न थालिसकेका छन्। तुलनात्मक रूपमा धेरै भीड हुने शैक्षिक संस्था, चलचित्र घर, जिमखानालगायतका कार्यालयलाई पनि पूर्ववत् अवस्थामै खोल्न दिने अन्तिम तयारीमा सरकार छ। अहिलेकै अवस्था रह्यो भने माघ पहिलो सातापछि सरकारी अनुमति लिएर सुचारु गर्नुपर्ने कुनै पनि क्षेत्र बाँकी रहँदैनन्। जोखिम कायमै रहे पनि चर्को आर्थिक अप्ठ्याराको सामना गर्न नसकेर मात्रै यी संस्था खुल्न लागेका हुन् भन्ने वास्तविकता कसैले पनि बिर्सनु हुँदैन। सोहीअनुसार पर्याप्त स्वास्थ्य होसियारी अपनाएर मात्रै दैनिक क्रियाकलापमा सरिक हुनुपर्छ।
यतिखेर कोरोना नियन्त्रणका लागि सरकारले लगाएका कुनै पनि बन्देज बाँकी छैन। यसले गर्दा गाउँ तथा सहरमा समेत मानिसको आवतजावत बाक्लिएको छ। कोरोनालाई खेलाँची ठान्ने प्रवृत्ति पनि उसैगरी बढेको छ। कोरोना भनेको सामान्य रहेछ र यो रोग लागे पनि सजिलै निको हुने रहेछ भन्ने आम मानिसको गलत बुझाइले जोखिम बढिरहेको छ। यस्तै प्रवृत्ति झाँगिरहेको अवस्थामा यसअघि बन्देज गरिएका क्षेत्रहरूसमेत खुल्न पाउने भएपछि संक्रमण फैलिने त्रास बढेको छ। कोरोना परीक्षणको दर घट्दै जानु र स्वास्थ्य सचेतनामा ध्यान नदिने प्रवृत्ति रोक्न सकिएन भने फेरि पनि संक्रमणले विकराल रूप लिँदैन भन्ने सकिँदैन। हरेकले आफ्नो स्वास्थ्यको आफैं ख्याल गर्नुपर्छ। सरकार वा अन्य कुनै पनि पक्षको मुख नताकी कोरोना नियन्त्रण गर्ने दायित्व मेरै हो भन्ने भावना हरेक नागरिकमा पलाउन जरुरी छ। सामूहिक पहल गरियो भने मात्रै अहिलेसम्म संक्रमणबाट जोगिन सफल भएका नागरिक सुरक्षित रहन सक्छन्, अन्यथा जुनसुकै व्यक्ति जतिबेला पनि संक्रमित हुन सक्छन्।
शैक्षिक क्षेत्र पनि सहज रूपमा सञ्चालन हुने भएपछि सबैभन्दा धेरै जोखिम पनि यही रहन्छ। धेरै मानिसको एकै ठाउँमा एकैपटक जमघट हुने भएकाले कोरोना संक्रमणको स्रोत यही ठाउँ नहोला भन्न सकिँदैन। साथै व्यक्तिगत सुरक्षाका लागि पर्याप्त होसियारी गर्न नसक्ने साना नानीबाबुलाई स्कुल पठाइयो भने कोरोना संक्रमणबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने चिन्ता पनि मुख्य रहेको छ। सरकारले अनुमति दिँदैमा सबै स्कुलले तल्ला कक्षाका विद्यार्थीलाई भौतिक उपस्थिति नै गराएर पढाउँछन् भन्ने त छैन; तर अनलाइन माध्यमको पढाइ प्रभावकारी बनाउन नसकेका स्कुलहरूले सरकारी अनुमति पाउनेबित्तिकै लालायित भएर विद्यार्थी बोलाइहाले पनि सुरक्षित साथ पढाउँछन् भन्नेमा शंका छ। अभिभावकमा रहेको शंका निवारणका लागि स्कुल सञ्चालकले सुरक्षित वातावरणमा पढाउने आधार तयार गर्नुपर्छ। विद्यार्थीसँग शुल्क उठाउन मात्रै विद्यालय बोलाउने र पढाइको सट्टा कोरोना संक्रमित भएर घर जानुपर्ने अवस्था आयो भने त्यसको प्रत्यक्ष असर स्वयं सञ्चालकलाई नै पर्छ। तसर्थ आफ्नो संंस्थाको दिगोपनाका लागि पनि विद्यालय तथा कलेज सञ्चालकहरू सतर्क रहन जरुरी छ।
शैक्षिक संस्था खोल्न पाउने अवस्था आइहाल्यो भने पनि सम्भव भएसम्म तल्ला तहका विद्यार्थीलाई तत्काल विद्यालय नबोलाउँदा उपयुक्त हुन्छ। पहिलो चरणमा आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्ने र माथिल्ला तहका विद्यार्थीलाई मात्रै बोलाएर पढाउँदा उपयुक्त हुन्छ। विद्यार्थीले पनि व्यक्तिगत सुरक्षाका लागि मास्क लगाउने, स्यानिटाइजर बोक्ने र स्कुल तथा कलेजमा भीडभाडबाट टाढै रहनुपर्छ। यसका लागि अभिभावकले पनि विशेष ध्यान दिनुपर्छ र स्वास्थ्य मापदण्ड पालना गराउने मुख्य भूमिका सम्बन्धि संस्थाले निर्वाह गर्नुपर्छ। हरेक व्यक्तिले आफूलाई बचाउन सक्यो भने अन्य व्यक्ति आफैं जोगिन्छन्। स्वास्थ्य सतर्कतालाई जस्तोसुकै कठिन परिस्थतिमा पनि कम गर्नुहुन्न।