३३ वर्षसम्म प्रचण्ड आफैँ टिको लगाएर पार्टी अध्यक्ष बने : उर्जामन्त्री रायमाझी
सन्धिखर्क : नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले संसद पुनर्स्थापनाको सपना नदेख्न आग्रह गरेका छन्। उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनर्स्थापना हुन्छ भन्नु एउटै भएको भन्दै संसद पुनर्स्थापना दिवास्वप्न मात्र हुने दाबी गरे।
प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्याउने उद्देश्यले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले डिजाइन गरेपनि प्रधानमन्त्री ओलीले तुहाइदिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँ कमिटी अर्घाखाँचीको गाउँपालिका स्त्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई खनदहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रैबाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उनले विभिन्न कठिनाई र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गरे।
रायमाझीले प्रचण्ड-माधव समुहले बाह्य शक्तिको इसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै उनीहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको विकास र समृद्धिको निम्ति बाधक रहेको तर्क राख्दै जनताले समय आउँदा जवाफ दिने बताए।
३३ वर्षसम्म प्रचण्ड आफैँ टिको लगाएर पार्टी अध्यक्ष बनेको भन्दै उनले पार्टी लाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाए। नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्यले भारतका निर्देशन प्रचण्ड, माधव, झलनाथले पार्टी विभाजन गरेको आरोप लगाएका छन्।