चुनावमा जाऔं- देउवा, पौडेल भन्छन्- आन्दोलन गरौँ  !

चुनावमा जाऔं- देउवा, पौडेल भन्छन्- आन्दोलन गरौँ  !

काठमाडौं : संसद विघटन गर्ने सरकारी कदमविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा छ। देशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा  विरोध प्रदर्शन गरिसकेको कांग्रेसले अर्को साता ७५३ वटै पालिका हुँदै सबै वडा तहसम्म आन्दोलनका कार्यक्रम गर्दैछ। सरकारी कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्श निकाल्दै कांग्रेस केन्द्रीय समितिले एकमतले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 

आन्दोलनमा जाने निर्णय सर्वसम्मत भएपनि आन्दोलनलाई सशक्त बनाउने कि आन्दोलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने भन्नेमा भने कांग्रेसको शीर्ष तहमै तीब्र मतान्तर छ। 

पार्टी सभापति शेरबहादुर देउवा अदालतले निर्वाचनका पक्षमा फैसला गरे चुनावमा जानुपर्ने मत राख्छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संविधानविपरीत गरिएको संसद विघटनको कदम सच्याउन कांग्रेस सडक संघर्षलाई थप सशक्त बनाउनुपर्ने पक्षमा छन्। दुई नेताबीचको फरक मत आइतबार एक कार्यक्रममा पनि प्रष्ट देखियो। 

‘सबैभन्दा ठूलो अदालत त जनता हो नि,’ आइतबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले भने, ‘अदालतले निर्वाचनका पक्षमा फैसला गरे हामी किन चुनावबाट भाग्ने ?’ प्रजातान्त्रिक विचार समाजले प्रकाशित गरेको कांग्रेस संस्थापक नेता सूर्यप्रसाद उपाध्यायको जीवनीमा आधारित पुस्तक विमोचन गर्दै देउवाले अदालतले निर्वाचनमै जानुपर्ने आशय व्यक्त गरे। कार्यक्रममा पार्टी वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसीलगायत उपस्थित थिए।

कांग्रेस सभापति देउवाले शनिबार आयोजित पार्टी कार्यक्रममा  पनि चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले प्रधानमन्त्री ओलीको पार्टी चुनावी अभियानमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताएका थिए। सभापति देउवा सर्वोच्च अदालतको फैसला अनुसार अगाडि बढ्ने मनशायमा छन्।

तर वरिष्ठ नेता पौडेलले भने पञ्चायतकालमा बीपी कोइरालाले पनि निर्वाचन बहिष्कार गरेको प्रसंग उल्लेख गर्दै सरकारको असंवैधानिक कदमलाई बल पुग्ने गरी कांग्रेस निर्वाचनमा जान नहुने अडान राखे।

 

चुनाव त पञ्चायतमा पनि हुन्थ्यो नि। तर बीपीले पञ्चायतले गरेको चुनाव बहिष्कार गर्नुभएको थियो,’ देउवातिर संकेत गर्दै उनले भने, ‘चुनाव भन्नेबित्तिकै सबै छाडेर गइहाल्ने होइन, कांग्रेस आन्दोलनमा जान्छ।’ पौडेलले सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जानुपर्ने मत राखे।  

नेता पौडेलले मुलुक थप संकटतर्फ जान सक्ने सम्भावना औंल्याए। उनले मुलुकलाई थप भूमरीमा पर्न नदिन कांग्रेसले स्पष्ट नीति लिएर नेतृत्व गर्नुपर्नेतर्फ देउवाको ध्यानाकर्षण गराए। ‘कांग्रेसले कस्तो नीति लिन्छ भनेर आज सबैको दृष्टि कांग्रेसतिर छ,’ उनले भने, ‘यस्तो अवस्थामा कांग्रेस ढुलमुल हुने होइन। सही नेतृत्व र स्पष्ट दिशा।’

बरिष्ठ नेता पौडेलले संसद पुनस्र्थापना हुनै सक्दैन भनेर प्रधानमन्त्रीले अदातललाई प्रभावित पार्न खोजेको र पूर्वप्रधानन्यायाशीलाई समेत धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाए। तर सभापति देउवाले भने अदालतलाई कसैले पनि प्रभावमा पार्न नहुने र अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्ने धारणा राखे। नेता पौडेलले संविधानमा प्रतिनिधि सभा विघटनको प्रावधान नरहेको जीकिर गरे। ‘संविधान बनाउने हामी हो, हामी ज्यूँदै छौं’ पौडेलले धारणा राखिरहेका बेला छेवैमा रहेका सभापति देउवा बीचमै बोले। उनले भने, ‘संविधान बनाएका बेला म पनि थिएँ। म पनि ज्युँदैछु।’

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन रहे। उनले कांग्रेस संस्थापक नेता उपाध्यायको योगदानको पार्टीले कदर गर्ने बताए।  कांग्रेस नेता केसीले पार्टीले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीजयन्ती मनाउनुपर्नेमा जोड दिए। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले स्व. उपाध्यायलाई पार्टीले सम्मान गर्न नसकेको धारणा राखेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.