बिसे नगर्ची : बिर्सिएका विभूति

बिसे नगर्ची : बिर्सिएका विभूति

के नेपालमा राजतन्त्रको अन्त्य भए पनि जाततन्त्र जिउँदै छ ?


नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहबारे बहुकोणीय चर्चा–परिचर्चा, बहस–पैरवी भइरहँदा महायज्ञका अन्य नायक र योद्धाहरूको नियोजित नामोनिसान किन हुन्छ भनेर छिटपुट सन्दर्भ–प्रसंग–सवाल उठाउने दुस्प्रयास जारी छ। नेपाली राजकीय सम्मानको सबैभन्दा ठूलो भारी बोकेका पृथ्वीनारायण नेपाली आधुनिक इतिहासमा सदावहार पढिने, तारिफ गरिने र देवत्वकरण गरिने पात्रहरूको अग्रसूचीमा अनवरत छँदैछन्। कतिपयले दानवीकरण गरे पनि। फरक तवरले प्रस्तुत गरे पनि अर्थात् अस्वीकार गरे पनि।

यो आलेख नेपाल एकीकरणको महायज्ञमा सरिक भएका नायक बिसे नगर्चीको उल्लेख्य योगदान हुँदाहुँदै कसरी दरबारियाका आँखामा परेनन् ? कसरी पञ्चहरूको इन्कारीमा परे, लोकतन्त्र र गणतन्त्रको ताप र रापमा पनि कसरी उपेक्षित हुनुपर्‍यो भन्ने विषयमा अलिबढी केन्द्रित हुनेछ।

बिसे नगर्ची, पृथ्वी सपना र गोरखा बिसे नगर्ची कथित ‘अछूत’ जसले नेपाल विस्तारको सपना बोकेका पृथ्वीनारायणलाई विपनामा रूपान्तरण गर्न कस्तो सल्लाह दिए ? उनको सल्लाह कसरी शिरोपर हुन सक्यो ? सल्लाहले साकार पाए पनि उनका सन्तान दरसन्तान जातीय विभेदको चक्रमा कसरी सधैं रुमलिन बाध्य पारियो, बहुत अन्वेषण र विश्लेषणको विषय हुँदै हो।

 विक्रम संवत् १८४६ को लालमोहरमा बिस्या नगर्ची उल्लेख गरिएका बिसे नगर्चीको खास नाम विश्वेश्वर नगर्ची रहेको योगी नरहरिनाथले लेखेका छन्। दमाई जातिको सम्मानसूचक पदवी नगर्ची पछिसम्मै कायम थियो परियारका रूपमा उदाउनुअघिसम्म।

बिसेको विराट् विशेषता भनेकै राजकीय सवालमा अत्यावश्यक र व्यावहारिक सल्लाह दिनु नै रहेको अन्वेषक रामशरण दर्नालले लिपिबद्ध गरिसकेका छन्।

गणतन्त्र दशक पार गरिसक्दा पनि हाम्रा शासकहरू ऐतिहासिक पात्र बिसे नगर्चीलाई एक थान हुलाक टिकट प्रकाशन गरेर राज्यको सम्मानको दायरामा ल्याउन किन हिच्किचाउँछन्।

२१ वर्षीय पृथ्वीनारायणभन्दा एक दर्जन बढी भोटो फटाएका बिसेको ख्यातिबारे गोरखा दरबार सूचितै थियो। जतिसुकै ख्याति कमाए पनि तत्कालीन ‘अछूत’ को बिल्ला भिर्नुपरेको नगर्चीको सल्लाह माग्नुपर्ने अवस्थामा पृथ्वीनारायण पुग्नुलाई उनको एकीकरणको सपना र जुनुननै सबैभन्दा ठूलो कडी थियो। जब उनले कान्तिपुर दखल गर्नका लागि पहिले नुवाकोट सर गर्न खोजे तर असमर्थ भएर फर्किए। तब हातहतियार गोलाबारुद संग्रहका लागि काशीतिर जाने सोच बनाए। त्यतिबेला उनी आर्थिक संकट बेहोरिरहेका थिए, राज्यकोषमा पनि पैसाको सञ्चिती थिएन। आफ्ना भाइभारदारसँगको परामर्शले उनलाई आँट आएन।

राज्य र समाजका नजरमा ‘अछूत’ नै मानिए पनि उद्यमशीलता र अब्बल सरसल्लाहमा ख्याति कमाएका बिसे नगर्चीको दैलो टेकेको नाटककार भीमनिधि तिवारीकृत ‘बिसे नगर्ची एकांकी नाटकमा उल्लेख छ।

के थियो बिसेको सामरिक सल्लाह ?
नरभूपाल शाहकै पालामा चर्चित बिसे नगर्चीबारे पृथ्वीनारायणको खास आशा बडेमान युद्ध कौशलतामा केही विशिष्ट सुझाव होला कि भन्ने थियो। जब बिसेको फरक धारको तर अति व्यावहारिक सल्लाह आयो; पृथ्वीनारायणको एकीकरण धोको सपनाबाट विपनामा रूपान्तरण हुन सजिलो भयो।

एकीकरण, विस्तार, युद्ध जे भने पनि सबैभन्दा पहिले प्रजाको सामूहिक सहभागिता चाहिन्छ र राज्य एक्लैले भन्दा पनि सारा प्रजाले राज्य ढुकुटीमा गच्छेअनुसारको सहयोग हुनैपर्छ। त्यसको सुरुवात कोही न कोहीबाट गर्नैपर्छ भन्दै एक रुपैयाँबाट मैले सुरु गरें भन्ने बिसेको त्यो अभियान पछि गोरखाको हरेक घरदैलोको साझा अभियान बन्यो।

यो मुलुकले अहिले सहकारीमा एउटा फट्को मारेको छ सहकारीको सुरुवाती अभ्यासको श्रेय बिसे नगर्चीलाई नै जान्छ।

‘राजाका भण्डार भन्याका रैतानहरू हुन्’, बिसेको विशिष्ट अवस्थामा आएको विशेष सुझावको जगमा नै पृथ्वीनारायणको यो दिव्योपदेश आएको इतिहासकारहरूको भनाइ छ। ‘बिसे नगर्ची’ एकांकी नाटकमा नाटककार तिवारीले अर्थसञ्चय र जनसहभागिताविना नेपाल विस्तार सम्भव छैन भनेर एक रुपैयाँ पृथ्वीनारायणलाई टक्र्याएपछि बिसे नबोलेको र पृथ्वीनारायण पनि रिसाएको प्रसंग बडो मार्मिकताका साथ पस्किएका छन्।

जब मैलेजस्तै एक रुपैयाँ गोरखाका हरेक घरधुरीले गच्छेअनुसार दिन्छन् कति धेरै हुन्छ, प्रजाको सहभागिता र अपनत्वको बेलिविस्तार लगाएपछि पृथ्वीनारायणको आँट र विश्वास बढेर जान्छ। त्यसैले नेपाल विस्तार सम्भव भयो।

हुलाक टिकटमा पनि अटेनन् बिसे नगर्ची
ऐतिहासिक पात्रहरूलाई चीरस्मरणीय बनाउन राज्यले त्यस्ता पात्रहरूको सालिक राख्ने, स्मृति प्रतिष्ठान बनाउने, पाठ्यक्रममा राख्ने, पुरस्कार तथा सम्मान स्थापना गर्ने, चलचित्र बनाउने, हुलाक टिकटमा अंकित गर्ने गर्छ। विडम्बना ऐतिहासिक पात्र बिसे नगर्चीको सम्मानार्थ राजतन्त्र, पञ्चायत, लोकतन्त्र र गणतन्त्रको दशक पार हुँदासमेत एक थान हुलाक टिकटमा समेत अंकित गरिएको छैन।

कालाबजारियाको परिचय बनाएका कतिपय व्यापारीको समेत संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरिएको छ। नेता, बिचौलिया र कर्मचारीको मिलेमतोमा प्रकाशन भएका यस्ता हुलाक टिकटले बिसे नगर्चीहरूको योगदान गिज्याइरहेको छ। के कथित ‘अछूत’ समुदायमा जन्म हुँदा तत्कालीन अवस्थामा बिसे नगर्चीको सामरिक सल्लाह शिरोपर गर्ने पृथ्वीनारायणका सन्तानहरूले उनको योगदानबारे सिन्का भाँचे ? दरबारका भाइभारदार, पुरोहित कसैले पनि किन सोचेनन्। न पञ्चायतमा उनी सम्झनायोग्य पात्र बने, न त ६२÷६३ सालको आन्दोलनअघि सम्म उनको कुनै योगदानबारे सालिक राख्ने बहस चल्यो। महाराजाको भक्तिगान, प्रशस्ति र देवत्वकरण गर्ने लेखकहरूका आँखामा पर्ने त कुरै भएन।

जनआन्दोलनमा बिसे ‘नगर्चीको बयान’
सात दल र तत्कालीन माओवादीको राजतन्त्रविरुद्धको आन्दोलनमा नेपाली मिडियाले काँध थापेको थियो। नागरिक अगुवा, अधिकारकर्मी र कवि–कलाकार अग्रमोर्चामै रहेर सत्ताविरुद्ध देखा परेका थिए। आन्दोलनको आगो दन्काउन कवि श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ झिल्को हुँदै मसालका रूपमा फैलियो।

मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहुँ खोज्दोरहेछ
अढाइ सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे–
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक !
यस माटोको इतिहाससँगै म हजुरको
राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु–
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ–
कहाँनिर छ बिसे नगर्ची–
मालिक ! म बौलाएँ।

 

कविवरले त्यतिबेला खुब स्याबासी पाए। आन्दोलन चर्कियो र सफल पनि भयो। कविवरलाई पुरस्कार र सम्मानको ओइरो लाग्यो। सम्भवतः कवि दिनेश अधिकारीपछि पुरस्कार पाउनेमा उनी दर्ज भए। प्रज्ञा प्रतिष्ठानको बाटो पनि खुल्यो।

कविको दायरा जे थियो पूरा भयो। कुरो राज्यको हो, कुरो सोचको हो। गणतन्त्र दशक पार गरिसक्दा पनि हाम्रा शासकहरू ऐतिहासिक पात्र बिसे नगर्चीलाई एक थान हुलाक टिकट प्रकाशन गरेर राज्यको सम्मानको दायरामा ल्याउन किन हिच्किचाउँछन् ? 
विडम्बना ! बिसे नगर्चीका सन्तान–दरसन्तान कथित ‘शूद्र’, ‘अछूत’ हुँदै ‘दलित’ समुदायको पछिल्लो परिभाषामा आफ्ना योगदानको क्षतिपूर्ति माग्न राज्यलाई झीनो स्वरमा भए पनि खबरदारी गरिरहेका छन्।

तर राजाका ठाउँमा जनताका छोराछोरी पुग्दा पनि पहुँचविहीन, आवाजविहीन, राज्यबाट तिरस्कृत, समाजबाट अपहेलित, धर्मबाट बहिष्कृत विगतमा कानुन बनाएरै दोहन गरिएका समुदायको सम्मान, संस्मरण र योगदानको कदरलाई रैती, रंक र प्रजाभन्दा पनि निम्नकोटीले उपेक्षा गरिरहनु नेपालको विकास र समतामूलक समृद्धिको तगारोसिवाय केही हुन सक्दैन। यो सवालले राज्यले कसरी सीमान्तकृत समुदायको उच्च योगदानलाई कौडीमा पनि सम्बोधन गरिरहेको छैन भन्ने प्रश्नसँगै आउने मूल प्रश्न, राज्यको नेतृत्व कसले गरिरहेको छ, कस्ता मानिस कसरी त्यहाँ पुगिरहेका छन् र पुर्‍याइन्छन्, उनीहरू केबाट निर्देशित छन् ? किन अझै समयानुकूल चल्न चाहँदैनन् ? गम्भीर प्रश्न छ। के नेपालमा राजतन्त्रको अन्त्य भए पनि जाततन्त्र जिउँदै छ ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.