पृथ्वीनारायणका आदर्श
गोरखाका राजा नरभूपाल शाहका पहिलो सन्तानका रूपमा १७७९ पुस २७ मा पृथ्वीनारायण शाहको जन्म भएको हो। उनकै नेतृत्वमा नेपाल निर्माणको बलियो जग तयार भयो। ३२ वर्षको अनवरत परिश्रमबाट विश्व मानचित्रमा नेपालको परिचय स्थापित गराउन सफल भए उनी। १८०१ सालको नुवाकोट विजयपछि एकीकरण प्रक्रियाले निरन्तरता पायो। विजयपुरको जितपश्चात् नेपालको पूर्वी सिमाना सिक्किमसम्म पुग्न सफल भयो। त्यसैगरी पश्चिमी सिमाना बढाउन लाग्दालाग्दै पृथ्वीनारायणको निधन भएकाले उनको बाँकी सपना उनकै छोरा बहादुर शाहले पुरा गरे।
पृथ्वीनारायणले नेपाल निर्माण गर्नुका साथै यो देश सम्पूर्ण नेपालीको साझा फूलबारी भएको सन्देश दिए। उत्तर र दक्षिणी छिमेकीबीच सन्तुलित कूटनीति अपनाएर देशलाई जोगाउने कामसमेत गरे। धार्मिक अन्धविश्वास र तत्कालीन अवस्थामा देखिएका सामाजिक कुरीति चिर्दै समयसापेक्ष प्रगतिको बाटो अपनाए। उनी रुढिवादीविरोधी र प्रगतिका पक्षपाती थिए। त्यतिबेलाका कैयन् घटना–परिघटनाले यसलाई प्रमाणित गरेको पाइन्छ। एकपटक काभ्रेमा गोरखाली सेना धोती फेरेर खाना खाइरहेका बेला एक्कासि काठमाडौंको फौजले आक्रमण गर्यो। त्यस्तोमा लुगा फेरेर प्रतिकार गर्न सम्भव थिएन।
त्यो घटनाले पृथ्वीलाई धार्मिक अन्धविश्वासमा परिमार्जन गर्दै लानुपर्छ भन्ने सोच पलायो। फलस्वरूप उनले लुगा लगाउँदा आफूलाई सजिलो हुने गरी लगाउने र सैनिकले धोती लाएर खानुपर्दैन भन्ने आदेश गरे।
पुर्खाको आदर्श पन्छाएर मुलुक बनाउँछु भन्ने भ्रम कसैले नपाल्दा हुन्छ। देश, काल र परिस्थिति बुझेर समयअनुकूल निर्णय लिन सक्ने व्यक्ति नै महान् बन्छन्। तिनै महापुरुषले बनाएको गौरवपूर्ण इतिहास आत्मसात गर्न सक्दा राजनीतिले सही मार्गदर्शन गर्छ। त्यसकारण इतिहासले भविष्य निर्धारण गर्छ भनिएको हो। यहाँको राजनीतिक परिदृश्यमा इतिहासबाट सिक्नुको साटो त्यसैलाई मेटाउने होडबाजी चलेको छ। विगत १५ वर्षदेखि पुर्खाको आदर्श लत्याउने काम भएको छ। जसले निर्माण गर्यो उसैलाई ध्वंस बनाई राष्ट्रद्रोहीको परिचय दिने कामसमेत केही तत्वबाट भएको छ। संसारको इतिहासमा देश बनाउने र त्यसलाई जोगाउने महामानवलाई श्रद्धाभाव राखिन्छ। उनीहरूलाई राज्यले सधैं स्मरण गर्छ। यहाँ त्यसो हुँदैन। नेपाल निर्माण गर्ने वीर सपूतको सालिक फुटाइन्छ। विदेशी नेताको तस्बिरमा पूजा गरिन्छ। यसरी खराब संस्कार हुर्किंदै जाँदा भावी पुस्ताले नेपाल चिन्ने अवसर कसरी पाउँछन् ?
राजनीतिका अगुवाले यति पनि बुझ्न सक्दैनन् ? यतिबेला यो प्रश्नको निरूपणमा नागरिक स्वयं अग्रसर हुनुपर्ने खाँचो देखिएको छ।
हाम्रा राष्ट्रिय विभूतिहरूले देखाएको मार्ग परित्याग गर्दा यहाँको राजनीति झन्झन् कलुषित भएको छ। सिद्धान्ततः जो लोकतन्त्र मान्दैन; जसले मानवतावादी चरित्रभन्दा सर्वसत्तावादमा रमाउँछ; आज तिनीहरू नै लोकतन्त्रका नायक कहलिएका छन्। जसले लोकतन्त्रका लागि अधिनायकवादविरुद्ध संघर्ष गर्यो उसैलाई चौतर्फी प्रहार गरिएको छ। प्रतिनिधिसभामा हारेका पात्रलाई जनचाहनाविपरीत राष्ट्रियसभामा लैजाँदा संविधानअनुकूल हुने प्रधानमन्त्रीले विशेष अधिकार प्रयोग गरी संसद् विघठन गर्दा संविधानविरोधी हुने यो कस्तो गाईजात्रा हो ? प्रजातन्त्र समाप्त पार्न हजारौं नागरिकलाई बलिवेदीमा होम्ने प्रवृत्ति र पात्रबाट लोकतन्त्रको रक्षा हुन्छ भन्ने ठान्नु लोकतन्त्रप्रति नै घोर उपहास हुन जान्छ।
पृथ्वीनारायण नेपाल एकीकरणका महान् नायक त थिए नै; उनी सफल कूटनीतिज्ञ एवं कुशल प्रशासक पनि थिए। जुनसुकै युद्ध मोर्चामा उनले युद्ध कौशलको अद्भुत परिचय देखाएका छन्। कमभन्दा कम मानवीय क्षति होस् भन्नेमा उनी बढी नै सजग हुन्थे। एकातिर देशभित्रकै षड्यन्त्रकारीबाट राजनीति जोगाउनु थियो भने अर्कातर्फ अंगे्रजी साम्राज्यको नेपाल निल्ने रणनीति विफल तुल्याउनु पनि थियो। यी दुवै देशका लागि घातक थिए। उनले दुवै षड्यन्त्रलाई विफल बनाए। सिन्धुली युद्धमा अंग्रेजको नराम्रो पराजयपछि वर्षौंसम्म नेपालसामु इस्ट–इन्डिया कम्पनी सरकारले टाउको उठाउन सकेन। अंग्रेज सेनापति किनलोक भागेर कलकत्ता पुगे। त्यसपछि अंग्रेजले बल्ल आफ्नो नीतिमा परिवर्तन गर्यो। युद्धमा भन्दा फकाएर काम लिन सकिन्छ भन्ने ठान्यो उसले। यता पृथ्वीले अंग्रजेसँग मित्रता पनि नगर्ने शत्रुभाव पनि नराख्ने नीतिलाई व्यवहारमा उतारे। यसले गर्दा अंग्रेजको रणनीति यहाँ पनि सफल हुन सकेन।
पृथ्वीनारायण परिवर्तनकारी एवं लोकतन्त्रवादी राजा थिए। उदाहरणका लागि कुनै निर्णय गर्नुपर्दा आफ्ना भाइभन्दा भारदार तथा नागरिकको राय तथा सुझाव लिई निर्णय गर्थे भन्ने तथ्य ऐतिहासिक दस्ताबेजले पुष्टि गरेको छ। कतिपयले उनलाई नश्लवादी तथा जातिवादी भनी मनोगत धारणा बनाई नागरिकमा भ्रमको पर्दा हाल्ने गर्छन्। यथार्थमा उनी न नश्लवादी थिए न त जातिवादी नै। उनी त मानवतावादी एवं राष्ट्रवादी चिन्तक थिए। स्वयं क्षेत्री भए पनि उनले पूर्व र पश्चिमका खस तथा ब्राह्मणलाई दरबार पस्न नदिनू, उनीहरूको भरोसा छैन भनी राज्यलाई सतर्क गराएको पाइन्छ। जुनसुकै जात र भाषाप्रति उनको समान दृष्टिकोण रहेको देखिन्छ। नागरिकका सल्लाह र सुझाव नै राष्ट्रको निर्णय हुने गर्थ्यो।
त्यसैगरी काले सार्की, धार्ने कामी, मणिराम गाइने, बनादार दमाई, विशे नगर्ची आदिसँगको उनको प्रगाढ मित्रताले पनि उनी नश्लवादी नभएर मानवतावादी भएको पुष्टि गर्छ।
पछिल्लो समयमा अग्रगमनका नाममा राष्ट्रिय विभूतिमाथि प्रहार गर्ने काम भएको छ। पृथ्वीनारायणको प्रतिमा फुटाउँदासमेत लोकतन्त्र नामधारी राज्यसत्ता मौन बसेको हुन्छ। अन्याय गर्नेभन्दा अन्याय सहने दोषी हुन्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ। त्यसैले पृथ्वीनारायण एवं हाम्रा गौरवपूर्ण अतीतबारेमा अपव्याख्या गर्नु भनेको राष्ट्रद्रोह हो भन्ने आम धारणा बनेको छ। सरकारले त्यस प्रकारका आपराधिक कार्यलाई छुट दिनु हँुदैन। नागरिक स्वयंले सडकबाट दण्ड दिने परिस्थिति निर्माण नहोस्। बेलैमा सरकारी तवरबाट जनसरोकारका प्रश्नमा निरूपण भइदियोस् भन्नेसमेत नागरिक चाहना रहेको छ।
स्वार्थी मानिस सधैं दिग्भ्रमित हुन्छ। उसले आफूबाहेक अरू सबै खराब हुन् भन्ने ठान्छ। महाभारत युद्धमा सैन्य दृष्टिले दुर्योधनका अगाडि युधिष्ठिर कमजोर देखिन्थे। आखिर जित पाण्डवकै भयो। त्यसको मूल कारण थियो– सत्य।
पाण्डवमा सत्य थियो। कौरवमा छलकपट र अहंकार मात्र थियो। त्यसैले कपटले भरिएको झूटो राजनीतिले मुलुकको भलो गर्दैन।
पृथ्वीनारायणले देखाएको बाटो अवलम्बन गरी निष्ठाको जगमा राजनीतिलाई लान सक्दा मात्र लोकतन्त्रले पूर्णता प्राप्त गर्छ।
पृथ्वीनारायणभन्दा पहिले पनि एकीकरण अभियान नचलाइएको होइन; तर उनीहरू सफल हुन सकेनन्। उनकै पुर्खा द्रव्य शाहले एकीकरण योजना बनाएका थिए। राम शाहका पालामा काठमाडौं र ललितपुरका केही भागसम्म गोरखा राज्य पुगेको थियो। नरभूपाल शाहले नुवाकोट आक्रमणमा पराजय बेहोरिसकेका थिए। गोरखाबाहेक अन्य राज्यले पनि काठमाडौं कब्जा गर्ने उद्देश्य राखेका थिए तर उनीहरू पनि असफल नै रहे। उनीहरू काठमाडौं जितेर सम्पत्ति आर्जन गर्ने मात्र चाहन्थे। पृथ्वीको उद्देश्य पवित्र थियो। उनमा स्वार्थ थिएन। उनको एक मात्र लक्ष्य देश बलियो होस् र विदेशीले नेपालमाथि आक्रमण गर्न नसकून् भन्ने मात्र रह्यो। सबै देशवासीको अपनत्व प्राप्त भइरहोस्। नागरिक एकता सदैव अक्षुण्ण रहोस् भन्नेसमेत आकांक्षा थियो उनको।
पृथ्वीनारायणको आदर्शलाई पछ्याई उनले देखाएको बाटो अवलम्बन गर्न सक्दा अहिले पनि मुलुकमा अस्थिरता हटेर जाने प्रबल सम्भावना रहेको छ। विदेशी नेताका ठेली पढ्न क्रान्तिकारी नेताहरूले एकपटक पृथ्वीनारायणको दिव्योपदेश मनन गर्दा निश्चय नै लोकतन्त्रको गन्तव्य पहिलिने छ। यही नै आज आम धारणा रहेको छ, पाइन्छ।