परिवर्तन र रुपान्तरणको कदमलाई खलबलिन नदिऔँ : पूर्वअध्यक्ष रेग्मी
काठमाडौं : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा प्रवेश गरेपनि आजको परिस्थितिको विश्लेषणबाट अघि बढने सन्दर्भमा व्यवस्थापन र रुपान्तरणमा अलमलिएको अवस्था रहेको बताएका छन्।
दी क्रिएटर्स ग्रुपद्वारा आज आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै उानले विगतदेखि दलभित्रको अन्तरविरोध, सरकार र पार्टीबीचको सम्बन्ध र समन्वय, हामीले अपनाएको शासन प्रणालीको चरित्र र अभ्यासलाई समुचितरुपले अघि बढाउन सकस भइरहेको अवस्थाको परिणाम आज देखिएको उल्लेख गरे। उनले भने, 'जिम्मेवार निकाय र क्षेत्रका सबैले सुझबुझका साथ सम्हाल्दै र व्यवस्थापन गर्दै अगाडि बढ्न नसक्ने हो र कित्ताकाट गर्दै आ–आफ्नै गतिमा हिँड्न खोज्ने हो भने गन्तव्य कता हो, पुगिने कता हो भन्ने ठेगान नहुन सक्छ।'
राजनीतिक दल र सरकारले राष्ट्र र जनतालाई सर्वोपरि राखेर सम्भाव्यताका साथ परिवर्तन र रुपान्तरणको कदमलाई खलबलिन नदिन उनले आह्वान गरे। सो अवसरमा माइती नेपालका सस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, डा सन्दुक रुइत, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल र सामाजिक अभियन्ता सपना मगरलाई नेशनल क्रिएटिभ्स अवार्ड–२०२० द्वारा सम्मान गरियो। -रासस