अन्तरजातीय प्रेम : अनि, झोसे बुवाआमाले आगो

अन्तरजातीय प्रेम : अनि, झोसे बुवाआमाले आगो

 वीरगन्ज : कक्षा ९ मा पढ्दै गरेकी मानाकुमारी साह १५औं वसन्त पार गरेर १६औं वर्षमा लागेकी थिइन्। पढेलेखेर आफैंले रोजेको जीवनसाथीसँग हाँसीखुसी जीवन बिताउने रहर थियो उनको। तर, त्यही रहर उनको जीवनलीला सिध्याउने कारण बन्यो। कथित तल्लो जातको केटासँग नजिकिएको आशंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै जलाएर बीभत्स हत्या गरेको रहस्य खुलेको छ। 

पर्साको बहुदरामाई नगरपालिका—८ रामनगरी गाउँका मनबोध साहको घरमा गत कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागी भयो। आगलागीमा जलेको घरभित्र मानाकुमारीको शव पनि जलेको अवस्थामा भेटिएको थियो। त्यसबेला बुवाआमाले छोरी निदाएकै अवस्थामा घरमा आगो लागेकाले बचाउन नसकेको  बताएका थिए। तर, घटनास्थलमा पुगेका प्रहरी अधिकृतले घरमा भएको आगलागी र मानाकुमारीको शवको प्रृकति शंकास्पद देखेपछि अनुसन्धान अगाडि बढाएका थिए। 

अनुसन्धानका क्रममा आफूहरूले मन नपराएको गाउँकै युवकसँग सम्बन्ध बनाएको निहुँमा बुवाअमाले नै छोरी मानाकुमारीलाई घरभित्रै जलाएर हत्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दीपक थापाले बताए। थापाका अनुसार, अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको तर, छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेको थियो। 

त्यसपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा उक्त रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए। थापाले भने, ‘घटनास्थलमा पुगेर हेर्दा खाटमात्रै जलेको देखियो। फुसका घरका खम्बाहरू हेर्दा माथिबाट आगो लागेजस्तो देखिन्थ्यो। घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु गर्‍यौं। छोरीसँगै सुत्ने गरेकी आमा लालमतीदेवी सकुशल थिइन्, छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो।’

मृतक मानाकी भाउजू मनीषा देवीले पनि नन्दलाई सासू लालमतीले आगोमा जलाएर फुसको छानामा समेत आगो लगाई झुटो नाटक गरेको बयान प्रहरीलाई एक महिनापछि दिएकी थिइन् । हत्याको आरोपितमध्येकी लालमतीलाई पक्राउ गरी थप अनुसन्धान गर्दा अन्तरजातीय केटासँग नजिकिएकाले श्रीमाने मनबोधसँग रायसल्लाह गरेरै छोरीलाई जलाएको लालमतीले स्वीकारेको प्रहरी निरीक्षक थापाले  बताए।

हत्याका आरोपित मृतकका बुवा मनबोध भने फरार छन्। घटनाको अनुसन्धानमा परेका अन्य व्यक्तिहरू प्नि फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। मानाकुमारी, रामनगरी गाउँकै बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्थिन्। उनलाई त्यही बोर्डिङमा पढाउने शिक्षक रामबाबु चमारले घरमा आएर ट्युसन पढाउने गर्थे। छिमेकका युवक नगिना साह मानाकुमारीको घरमा दिनहुँ भैंसीको दूध लिन आउँथे। 

केही दिनदेखि मानाकुमारी कसैलाई थाहा नदिई रातिको समयमा घरबाट सुटुक्क निस्किन थालेकी थिइन्। आमा लालमतीले छोरी रातिराति खुसुक्क निस्कने गरेको कुरा थाहा पाइन्। उनलाई छोरीको यो गतिविधि पटक्कै मन परेको थिएन। छिमेकको नगिना र ट्युसन पढाउन घरमा आउने रामबाबुसँग छोरीको केही न केही गलत सम्बन्ध छ भन्ने उनलाई शंका भएको थियो।

कात्तिक २७ गते धनतेरशका दिन किनमेल गर्न भन्दै मानाकुमारी आमासँग एक हजार रुपैयाँ मागेर पोखरिया बजार गएकी थिइन्। बजारबाट फर्किंदा मानाकुमारीले लुगा कपडा, शृंगारका सामानहरू किनेर ल्याएको देख्दा आमा लालमतीले एक हजारमा यति धेरै सामान कसरी किनिस् भनेर प्रश्न गरेकी थिइन्। जवाफमा उनले छिमेकी नगिनासँगै आफू बजार गएको र उनैसँग एक हजार सापटी मागेर सामानहरू किनेको आमालाई बताएकी थिइन्। 

त्यसैको निहुँमा आमाबुवा दुवैले छोरीलाई कुटपिट गरेका थिए। गत कात्तिक २९ गते बेलुकी  ६ बजेतिर परिवारका सबै जना घरमा लक्ष्मीपूजा र दीपावली गरी खाना खाएर करिब ८ बजे सुत्न आआफ्नो बिछ्यौनामा गएका थिए। 

मानाकुमारी पनि निदाइन्। त्यहीबेला आमा लालमती र बुवा मनबोधले छोरीले परिवारको इज्जतसँग खेलवाड गरेर समाजमा मुख देखाउन नसक्ने अवस्था आएको भन्दै आगो लगाएर मारिदिने सल्लाह गरे। त्यसपछि आमा लालमतीले निदाइसकेकी छोरीको लुगाकपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन्। आमा लालमतीले घरमा आगो लागेजस्तो देखाउन फुसको छानामा समेत आगो लगाइन्। त्यसपछि आफूहरू बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको प्रहरीको बयानमा स्वयं आमा लालमतीले बताएकी छन्।

बुहारी मनीषाले आगो निभाउन खोज्दा लालमतीले गाली गरेर धपाइदिएकी थिइन्। छिमेकबाट नगिना आएर आगो निभाउन खोज्दा आफूले बाँसको भाटाले उनको टाउकोमा हानेर आगो निभाउन नदिएको बयान पनि लालमतीले दिएकी छन्। पछि भने छिमेका अरू मानिसहरू आएर घरमा लागेको आगो निभाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.