कृषि फार्म र होमस्टे सञ्चालन गर्दै सहकारी
काठमाडौं : सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले आधुनिक कृषिफर्म र होमस्टे सञ्चालन गर्ने भएको छ। बहुउद्देश्यीय परियोजना अनुरुप कृषि र पर्यटनमा उच्च प्राथमिकता दिएको अध्यक्ष केदार मानन्धरले बताए।
आर्थिक वर्ष ०७६/०७७ को प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै सहकारीले कृषकका लागि शितगृहका साथै नेट टिभी सम्बन्धी समेत कार्य गर्ने बताए। आधुनिक कृषिफर्म सञ्चालन गर्न ५० रोपनी जग्गा खरिद गर्न लागिएको उनले बताए।
होम स्टेको लागि पहिलो चरणमा नागार्जुन नगरपालिका वडा नं. ८ मा रहेको भिमढुंगाको थाप्ले गाउंलाई आन्तरिक पर्यटन केन्द्रको रुपमा बिकास गर्न १ रोपनी १३ आना जग्गामा होम स्टे प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ। त्यस्तै परम्परागतशैलीबाट घर निर्माण गरि होम स्टे सञ्चालन गर्ने र तामाङ बस्तीमा निर्माण हुने नयाँ घरहरुलाई पनि होम स्टेको रुपमा परिणत संस्थाले योजना अघि सारेको छ।
सहकारीले खाद्यान्न तथा उपभोग्य वस्तुहरुको प्रशोधन तथा बजारीकरण गर्न उपभोक्ता सहकारी बजार, भण्डारण र चिस्यान केन्द्र सञ्चालन गर्न परियोजना तयार गरि सञ्चालन गर्ने लक्ष्यलिएको अध्यक्ष मानन्धरले बताए।
संस्थाले एटिएम सेवा, रकम ट्रान्सफर सेवा विद्युतीय कारोबार गर्दै आएको छ।। चन्द्रागिरी र नागार्जुन नगरपालिकासँग समन्वय गरि लघुवित्त कार्यक्रममा आबद्ध महिला सदस्यहरुको बीमा, जेष्ठ नागरिकहरुको बीमाखर्च व्यहोर्ने गरि बीमा गरिएको अध्यक्ष मानन्धरले बताए।
संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा शेयर सदस्य ७ हजार४ सय र लघुवित्त महिला समुह केन्द्र ९० समूह पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा निक्षेप १ अर्ब १० करोड र शेयर पूँजी ७ करोड ४० लाख संकलन गर्ने योजना बनाएको छ । उक्त समयमा १ अर्ब ५ करोड कर्जा लगानी गर्ने सहकारीको योजना छ।