महिलाको हत्या आरोपित युवक थुनामा
राजविराज: पोखरीमा माछा मारेको विषयमा उत्पन्न विवादपछि हत्या गरेको आरोपमा २२ वर्षीय युवक कारगारमा थुनामा परेका छन् ।
सप्तरी जिल्ला अदालतको आदेशमा बोदे बर्साइन नगरपालिका–३ कुश्महारका २२ वर्षीय रबितकुमार मण्डल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।
पक्राउ परेका अन्य आरोपितहरु सोही ठाउँका शिवचरण मण्डल, सुरेन्द्र मण्डल विजय मण्डल जनही ५० हजार धरौटी राखी तारेखमा रिहा भएका छन् । आरोपितमध्ये घटना लगत्तै पक्राउ परेका थिए ।
नगरपालिकाले टेण्डर लगाएको सार्वजनिक पोखरीमा माछा मारेको विषयमा मङ्सिर २८ गते राति भएको झडपमा कुश्महारकी ४० वर्षीया गंगीयादेबी मण्डलको मृत्यु भएको थियो ।
आरोपितहरुसहित समतलाल चौधरी, रामदेव मण्डल, देवकुमार मण्डल, सत्यनारायण मण्डल र रामअशिष मण्डलले हत्या गरेको भन्दै मृतकका जेठाजु जोगिन्द्र मण्डलले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गरेका छन् ।
पक्राउ नपरेका समत, रामदेव, देवकुमार, सत्यनारायण र रामअशिषका हकमा अदालतले वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको छ ।
जोगिन्द्रका अनुसार लाठी, कोदालो र धारिलो घरेलु हतियारसहित आएका आरोपित समूहले आक्रमण गरी हत्या गरेका हुन् । बीचबचाउ गर्न गएका मृतक पक्षका जयनारायण मण्डल, धिरज मण्डल, सोबिन्द्र मण्डल र जोगिन्द्र स्वयम घाइते भएको उनले बताए । शवको पोस्टमार्टम मङ्सिर २९ गते रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा भयो ।