जातीय छुवाछुत मुद्दामा फरार दुई जना ९ वर्षपछि पक्राउ
दैलेख : दैलेख जिल्ला अदालतले जातीय छुवाछुत तथा भेदभाव मुद्दामा कैद र जरिवाना सजाय सुनाएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको भगवतीमाई गाउँपालिका ४ जगनाथका ५४ वर्षीय चक्रबहादुर शाही र सोही ठाउँका ३१ वर्षीय केशवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई ९ वर्षपछि पक्राउ गरिएको हो । दैलेख जिल्ला अदालतको २०६८ मंसिर १४ गतेको फैसला अनुसार उनीहरुलाई जातीय छुवाछुत तथा भेदभाव मुद्दामा ८ महिना कैद र जरिवाना सजाय तोकिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका दुई जनालाई कैद र जरिवाना भुक्तानीका लागि अदालतमा पेश गरिएको छ ।