महन्थको मनोमानी : पचास विघाभन्दा बढी जग्गा अतिक्रमण

महन्थको मनोमानी : पचास विघाभन्दा बढी जग्गा अतिक्रमण

जनकपुरधाम : गुठी संस्थानको तथ्यांकले जानकी मन्दिरको जग्गा १ सय ४५ बिघाभन्दा बढी रहेको देखाउँछ। तर, महन्थ रामतपेश्वर दास वैष्णवले फर्जी कागजात बनाएर व्यक्तिलाई जग्गा दिन थालेपछि ५० बिघाभन्दा बढी अतिक्रमणमा परेको देखिन्छ।

जनकपुरधाम उपमहानगरपालिका–१३ रानीबजारमा रहेको १८ बिघामध्ये १० कट्ठा अतिक्रमण भएको छ। २०४५ सालभन्दा पहिल्यै लालपुर्जा बनाएर जमिन बिक्री गरी २० वटाभन्दा बढी घरसमेत निर्माण गरिएको छ। जहाँ मनखप कागजका भरमा १३ परिवार घर बनाएर बसेका छन्। उनीहरूले एक कट्ठा जग्गाबापत एक मन (४० किलो) अनाज दिने सम्झौतामा मनखप कागज बनाएर जग्गा पाएको दाबी गरेका छन्। जहाँ डेढदेखि २ लाख रुपैयाँ धुरमा जग्गा खरिदबिक्री भइरहेको छ।

‘हामीलाई त महन्थज्यूले नै यो जग्गामा बस्न कागज बनाएर दिनुभएको हो। यसबापत प्रत्येक वर्ष हिसाबकिताब गरी ७ देखि ८ हजार रुपैयाँसम्म महन्थज्यूलाई बुझाउने गरेका छौं’, स्थानीय रामआश्रय राउतले भने, ‘जीवनभरिको कमाइबाट यहाँ घर बनाएको छु। अब कसैले खाली गर् भन्यो भने घर र जग्गा दुवैको मूल्यांकन गरेर रकम दिनुपर्छ।’

सीता फूलबारीमा निजी अस्पताल मन्दिरको पश्चिमतर्फ सीता फूलबारीमा १८ कट्ठा जग्गा छ। तर, महन्थ दासले रामजानकी हस्पिटल प्रालिलाई सिट नम्बर १३५५२३ कित्ता नम्बर ५२ को ०—१४—२—३ जग्गा लिजमा दिएका छन्। जग्गा लिजबापत प्रतिवर्ष मन्दिरलाई ६० हजार रुपैयाँ उपलब्ध गराउने गरी २१ वर्षका लागि अस्पतालसँग सम्झौता गरिएको हो।

महन्थ रामतपेश्वर दास वैष्णव (तल बायाँ) र मन्दिरबाट मनखप पाएको कागज देखाउँदै रामआश्रय राउत। तस्बिर : मनिका झा

२०७३ सालमा जग्गा लिजमा दिएर निजी अस्पताल निर्माण थालिएपछि स्थानीय युवाले विरोध गरेका थिए। मन्दिरको फूलबारीलाई ठेक्कामा दिएर हिन्दू धर्मावलम्बीको आस्थामा चोट पुर्‍याउने कार्य भएको भन्दै स्थानीय सुशील कर्णको अगुवाइमा तत्कालीन पुनरावेदन अदालत जनकपुरमा रिट दर्ता गरिएको थियो। अस्पताल निर्माण कार्य यथाशीघ्र रोक्नुपर्ने साथै सम्झौता बदर गर्नुपर्ने माग गरिएको थियो। तर, सरोकारवाला निकाय र स्थानीय प्रशासनले निर्माण रोक्न कुनै पहल नगरेपछि स्थानीय मौन भए।

जनकपुरधाम–१९ बेंगासिहपुरमा जानकी मन्दिरकै २० बिघाभन्दा बढी प्लटिङ गरी बिक्री गरेको जनाइएको छ। जहाँ दर्जनौं पक्की घर निर्माण भइसकेका छन्। तीन वर्ष पहिलासम्म खाली रहेको १७ कट्ठामा अहिले बस्ती बसेको छ।
‘जानकी मन्दिरलाई कुतबापतको रकम बुझाएर जग्गा खरिद गरेको देखिएको छ’, वडाध्यक्ष जगदीश यादवले भने, ‘त्यहाँ बस्ती बनाएर बसेकाहरू भोगचलनको सिफारिस लेखेर दिन मकहाँ आएका थिए तर मैले दिन मानिनँ।’

जनकपुरधाम–१३ स्थित सीताराम फूलबारीमा सञ्चालित निजी अस्पताल। 

वडाध्यक्ष यादवले मन्दिरको अर्को १६ कट्ठा जग्गा भोला साहले खरिद गरी सर्वसाधारणलाई बिक्री गरेको बताए। ‘अर्को डेढ बिघा स्थानीय किशोरी साहले अतिक्रमण गरी पर्खाल लगाउन थालेपछि मैले रोक्न लगाएको छु। त्यसैगरी वडामा पर्ने नहरनजिकै मन्दिरकै ९ बिघा जग्गामा निर्माण थालिएपछि त्यसलाई पनि रोक्न लगाएँ’, उनले भने, ‘महन्थकै मिलेमतोमा कागज बनाएर मन्दिरको जग्गा अतिक्रमण गरी अहिले पक्की घरहरू बनाइएको छ। सबै बाहुबलीहरू छन्, यस्तोमा कसरी मन्दिरको जग्गा खाली गराउने ? यो हाम्रो आँटले मात्रै हुने कुरा होइन।’

मनखपको कागजमै झेल

सहरीकरण नभएका बेला मठमन्दिरमा काम गर्ने र साधुसन्तको सेवा गर्ने व्यक्तिलाई जीवनयापनका लागि मन्दिरकै जग्गा मनखप दिने चलन थियो। त्यसबापत मन्दिरलाई अन्नपात कुत बुझाउनुपथ्र्यो। यसबाट मन्दिरको व्यवस्थापकीय गर्जो टारिन्थ्यो। तर, पछि सोही व्यवस्थालाई महन्थहरूले आफूअनुकूल बनाएर मनमौजी तवरले सम्पत्ति बिक्री गर्ने माध्यम बनाए।

मनखप दिएबापत अनाज लिनुको साटो रकमै लिन थाले। जानकी मन्दिरबाट मनखप जमिन पाएको दाबी गर्नेहरू महन्थ रामतपेश्वर दास वैष्णवका गुरु पूर्वमहन्थ रामशरण दासबाट उक्त कागज पाएको देखाउँछन्। हालसालमा अतिक्रमण गरिएका जग्गामा पनि मनखपको कागज पुरानै महन्थको छापबाट दिएको देखिन्छ। वर्तमान महन्थले गुरुको नामबाट छाप बनाएर राखेको र सोही छाप लगाएर हालसम्म पनि जग्गाजमिन मनखप दिएर बिक्री गर्ने गरेको स्रोत बताउँछ।

महन्थ दासले भने मन्दिर अधीनस्त कुनै पनि जग्गा बिक्री भएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार हुने प्रतिक्रिया दिएका छन्। ‘पहिला त जनकपुरमा बस्ती नै थिएन। हामीले भारतबाट धेरै जनालाई यहाँ ल्याएर बसायौं। यस्तोमा मन्दिरका जग्गाहरू पनि दिइयो। तर, ती जग्गा बिक्री भएका छैनन्’, महन्थ दासले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अहिले त जग्गाको मूल्य आकाशिएको छ तर पहिला त कोही बस्न मान्दैनथ्यो। जानकी मन्दिरबाट कसैलाई पनि जग्गा बिक्री गरिएको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.