माघे सङ्क्रान्तिका ती दिन

माघे सङ्क्रान्तिका ती दिन

माघ जाडोको महिना। पारिलो घामको महिना। शिशिर ऋतु सुरु हुने महिना। माघे सङ्क्रान्तिको उत्सव लिएर आउने महिना। घर–घरमा स्वस्थानी देवीको सभक्ति कथा गुञ्जिने महिना। घरतरुल, वनतरुल लगायत विभिन्न किसिमका कन्दमूलहरू खाने महिना।

ज्योतिषशास्त्र अनुसार माघ १ गतेबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी दक्षिणायनबाट उत्तरायणतर्फ लाग्दछन्। त्यसैले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। यसै सङ्क्रान्तिबाट रात छोटा हुँदै जान्छन्। दिन लम्बिंदै जान्छन्। चिसो मौसम क्रमशः हटी तापक्रममा पनि वृद्धि हुँदै जान्छ।

माघे सङ्क्रान्ति सबै नेपालीहरूको साझा संस्कृति र उमङ्गको पर्व। साउनदेखि चाडैचाडको ओइरो लाग्ने र किसानहरूको खेतबारीमा नयाँ अन्नबाली भर्खरै रोपी सकिने हुँदा ‘अब बाँचिन्छ’ भनेर साउने सङ्क्रान्ति मनाइने र माघदेखि झण्डै आधा वर्षसम्म त्यस्ता महत्वपूर्ण चाडवाडहरू नआउने र मङ्सिरमा भिœयाएको अन्नबाली पनि सकिने अवस्था आउने हुँदा ‘अब मरिन्छ’ भनेर माघे सङ्क्रान्ति मनाइन्छ भन्ने लोकोक्ति छ नेपाली समाजमा। साउने सङ्क्रान्तिमा जीवनबोध हुन्छ भने माघे सङ्क्रान्तिमा मृत्युबोध। मृत्युबोध भनेको जीवनको निस्सारता र क्षणभङ्गुरतालाई बुझ्नु हो। मृत्युचेत बिनाको जीवनबोधले मान्छेलाई जीवनका सौन्दर्यहरू मात्र सिकाउँदैन। यसले मान्छेभित्र अभिमान र सांसारिकताप्रतिको बढ्ता राग जगाउँछ भने मृत्युचेतले मान्छेलाई जीवन मूल्य र सांसारिकताप्रतिको मोह भङ्ग गराउँछ।

कृषि कर्मको आविष्कार अगाडि मानव पुर्खाहरूले जङ्गली जीवन बिताउँदा जीवन निर्वाह गर्न गिट्ठा, भ्याकुर, सुठुनी, वनतरुल, पिँडालु लगायतका वन्य कन्दमूलहरू खान्थे। जीवन पूरै प्राकृतिक थियो। वन्य कन्दमूल खाने, लहरामा उनेका रुखका पात र बोक्राका वस्त्र लाउने र ढुङ्गाका ओढारहरूमा बस्ने। कन्दमूल खन्ने हतियारहरू रूखका हाँगा र धारिला ढुङ्गाहरू हुन्थे। मानव पूर्खाले खाएका यिनै वन्य कन्दमूलमा औषधीय शक्ति छ। आरोग्य तत्व छ। ‘जीवेत शरदः शतम’ को जीवनदायिनी ऊर्जा छ। त्यसैले कृषि युगमा प्रवेश गरेपछि वनमा पाइने यी कन्दमूलहरूलाई पुर्खाहरूले बिस्तारै आफ्ना जग्गा–जमिनमा पनि रोप्न थाले। जस्तैः घरतरुल, सिमलतरुल, फूलतरुल, सखरखण्ड, पिँडालु आदि। तरुल रेशादार खाद्य पदार्थ भएको कारण यसको नियमित प्रयोगले कब्जियतबाट बच्न सकिन्छ।

माघे सङ्क्रान्तिमा तरुलका साथै तिल, चाकु, खिचडी र तोरीको तेलको पनि विशेष महत्व छ। तिलको सेवनले शरीरले पोषण तत्व प्राप्त गर्ने, जाडो हटी शरीरमा तापक्रम बढ्ने र शरीरका विभिन्न रोगहरू निको हुने मान्यता छ। तिलको लड्डु सेवन, तिलको दान र तिलबाट गरिने पूजाले भगवान् खुसी भई मानव जीवनमा पुण्य प्राप्त हुने विश्वास पनि छ।

माघे सङ्क्रान्तिमा घाममा बसेर तोरीको तेल घस्ने चलन पनि हाम्रो समाजमा व्यापक छ। तोरीको तेल शरीरमा घस्दा रक्त सञ्चार प्रणाली प्रभावकारी हुने, दम रोगका बिरामीलाई सास फेर्न सहज बनाउने, मस्तिष्कको कार्यक्षमता बढाउने, दाँत सेतो पार्ने, छाला सुख्खा हुन नदिई स्वस्थ बनाउने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने, नवजात शिशुलाई तोरीको तेलले मालिस गर्दा शरीर बलियो हुने र स्वास्थ्य राम्रो हुने जस्ता फाइदाहरू तोरीको तेलमा अन्तर्निहित छन्। 

उखुको रसलाई आगोमा खारेर चाकु बनाइन्छ। चाकु तथा सख्खर खाँदा शरीरमा चाहिने विभिन्न खनिज पदार्थ र भिटामिनहरूको पूर्ति गर्छ। घिउले आवश्यक चिल्लो प्रदान गरी शरीरलाई बलियो बनाउँछ। 

मासको दाल, चामल र घिउको मिश्रणबाट बनेको खिचडी शरीरले छिट्टै पचाउन सक्ने हुँदा यो बालक, रोगी र वृद्धवृद्धाहरू सबैको लागि उपयोगी हुन्छ। खिचडीको सेवनले शरीरमा आवश्यक तापक्रम र भिटामिनहरूको आपूर्ति गर्ने हुँदा जाडो याममा यसको विशेष महत्व छ।

यसरी माघे सङ्क्रान्तिमा खाइने तरुल, घिउ, चाकु, सख्खर र तिलको लड्डुले शरीरलाई शक्ति प्रदान गर्छन्। शरीरलाई भित्रैबाट न्यानो बनाउँछन्। चिसोको कारण शरीरमा लाग्ने रोगसँग लड्न सक्ने क्षमताको विकास गर्न मद्दत पुर्‍याउँछन्। 

अतः मौसम अनुकूल शरीरलार्ई चुस्त र दुरुस्त बनाउनको लागि खानपानको विशेष भूमिका हुन्छ। यसै कुरालाई विचार गरेर हाम्रा पुर्खाहरूले खानेकुराको महत्व स्थापित गर्न विभिन्न परम्परा, पर्व र उत्सवको चलन चलाएका हुन्। यी खानेकुराहरूले मानव शरीरमा बल, वीर्य र बुद्धि बढाउँछन्। आरोग्य र आयु वृद्धि गर्छन्।

माघे सङ्क्रान्तिको अर्को विशेषता भनेको उज्यालो नहुँदै माघी नुहाउनु हो। यस पर्वलाई नुहाउने पर्वको रूपमा पनि लिइन्छ। यस दिन ठाउँ विशेषका खोलानालाहरू, दोभान र त्रिवेणीहरू अर्थात् विभिन्न जलाशयहरूमा माघ स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्छ। महाभारतका अनुसार शरशैयामा रहेका भिष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले यही दिन गङ्गालाई स्वर्गबाट पृथ्वीमा झारेर सागरमा मिलाएका थिए। त्यसैले प्रयाग र गङ्गामा यस दिन गरिने स्नानलाई महास्नान भन्ने गरिएको छ। बिहान उठेर कोहीसँग नबोली माघ स्नान गर्दा छालामा भएका विभिन्न रोगहरू निको हुने र मान्छेले गरेका पाप कर्म पखालिएर पुण्य प्राप्त हुने विश्वास रहेको छ।

मौसम अनुसार माघ महिना जाडोको समय भएकोले सङ्क्रान्तिको दिन घिउ, कम्बल र तील दान गर्दा मोक्ष प्राप्त हुने विश्वास रहिआएकोले हुने खाने अर्थात् उदारमना व्यक्तिहरूले यी कुराहरू दान गरी सामाजिक सद्भाव प्रकट गर्दछन्।

थारूहरूले माघे सङ्क्रान्तिलाई नयाँ वर्ष शुरु हुने दिनको रूपमा धुमधामसँग मनाउँछन्। उनीहरूको समाजमा पुस मसान्तसम्ममा गत सालको सबै कारोवारको अन्त्य गरी माघ १ गतेदेखि नयाँ कारोवारको शुरुवात गर्ने तथा गाउँभरिका व्यक्तिहरू भेला भई गाउँको नेतृत्वकर्ता छनौट गर्ने प्रचलन रहेको छ। 

माघे सङ्क्रान्तिका ती दिन

माघे सङ्क्रान्ति कहिले आउँछ भनेर पुस लागेदेखि नै हामी केटाकेटी औंला भाँच्थ्यौं। केटाकेटीलाई त खानेकुरै ठूलो हो। माघे सङ्क्रान्तिको लागि भनेर घर नजिकै करेसाबारीमा घरतरुल रोपिएको हुन्थ्यो। बारीहुँदी सिमलतरुल, फूलतरुल र सुठुनी (सखरखण्ड) पनि रोपिएका हुन्थे। सङ्क्रान्ति आउनुभन्दा केही दिन अगाडि बाहरू खन्ती, झम्पल र कुटो बोकेर वनतरुल खन्न टाढा जङ्गलतिर जान्थे। सङ्क्रान्तिको एक–दुई दिन अगाडि करेसाबारीमा पसेर तिनै हतियारले घरतरुल खन्थे। स्कुस (गाउँमा करेला भनिन्थ्यो) का जरा खन्थे। सिमलतरुल र फूलतरुल पनि खन्थे। सुठुनी (सखरखण्ड) कात्तिक–मङ्सिरदेखि नै खान शुरु गरिन्थ्यो। बाहरू तरुल खन्थे। हामी केटाकेटी खुसी हुँदै छेउमा टुक्रुक्क बसेर खनेको हेथ्र्यौं। नभाँचीकनै सिङ्गै तरुल निकालेको हेर्न त झन् कति मज्जा आउँथ्यो। थोरै भए डालामा र धेरै भए डोकामा हालेर घरमा भिœयाइन्थ्यो तरुल। कसका तरुल कति र कत्रा फले ? करेलाका जरा कति निक्ले ? गाउँभरि कुरा गर्ने विषय बन्थ्यो। आमाहरू अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन बेलुका तरुल उसिन्थे। त्यसैले तरुललाई पुसमा पकाएर माघमा खाने (पुसमा पाके माघमा जाके) भनिन्थ्यो।

गाउँमा चाकु र लड्डुहरू त कहाँ हुनु ? सखर हुन्थ्यो। खिचडी पाक्थ्यो। च्वाइँ (सेल) रोटी पाक्थे। घाम झुल्केपछि पुरेतबा घर–घरमा तिलक लिएर आउँथे र माझी औंलाले नाकको फेदमा दह्रो गरी लाइदिन्थे। आमाहरूले सिदामा पैसा हालेर बाउनलाई दिन्थे। कति घरमा सङ्क्रान्तिको दिन सत्य नारायणको पूजा लाउँथे। प्रसाद बाँड्थें। दर्जी र विश्वकर्माहरू काँधमा बोरा बोकेर सङ्क्रान्तिको भाग लिन आउँथे। आमाहरूले तरुल, चामल, रोटी आदि घरमा तयार भए अनुसारका खानेकुराहरू टपरामा हालेर दिन्थे।     

हामी दिउँसो घाममा बसेर तोरीको तेल घस्थ्यौं। कानमा तेल हाल्थ्यौं। 
कतै–कतै खसी पनि काट्थे। बाहरू केराका दाम्चामा बोडी, आठपोल, बिसौली, धार्नी मासु बोकेर आउँथे। 

माघे सङ्क्रान्तिको दिन बिहानै चिसो पानीमा नुहाउने कुरो बहुत चुनौतीपूर्ण हुन्थ्यो। गाउँमा ऊबेला त्यसै त शरीर चिलाएर उखपात भएपछि नुहाइन्थ्यो। लुगामा जुम्रा परेपछि धोइन्थ्यो। जाडोको महिना त्यसमाथि एकाबिहानै चिसो पानीमा नुहाउने कुराले जिउमा अघिल्लो दिनबाटै काँडा उम्रिन थाल्थे। तैपनि बहादुर देखिनको लागि हामी नुहाउने आँट गथ्र्यौं। 

सङ्क्रान्ति नुहाउने सन्दर्भमा एउटा घटना अहिले पनि आँखा अगाडि झल्झली आउँछ। हिउँदको समय बारीमा गोठ राख्ने चलन थियो गाउँमा। गोठमा बाहरू सुत्थे। बाहरू नभए हामी केटाकेटी सुत्थ्यौं। गोठमा सुत्न साथीहरू भेला गरिन्थ्यो। कहिलेकाहीं अरूको गोठको दूध चोरेर खीर पकाइन्थ्यो। रातैभरि भूतका कुरा, बोक्सीका कुरा, दन्त्य कथा र गाउँ खाने कथाहरू भनिन्थ्यो। त्यसैले पनि गोठमा सुत्न खुब मज्जा आउँथ्यो। हाम्रो घरमुनि पाडरीको गरामा माथ्लाघरकाले गोठ राख्थे। नवराज र गोपालले रुङ्ने गोठमा प्रायः म पनि सुत्न जान्थें। कहिलेकाहीं त निकै जना भइन्थ्यो। एकचोटि माघे सङ्क्रान्तिको अघिल्लो दिन माथ्लाघर गोपाल, तीनतले छवि, मतानको काजी, पल्लाघरका राम्जी र म बिहान उज्यालो नहुँदै नबोलीकन नुहाउन जाने सल्लाह गरेर सुत्यौं। बिहान पहिला उठ्नेले निदाएकालाई चिमोटेर व्युँझाउने सल्लाह भयो। पहिला गोपाल उठ्यो। त्यसपछि छबि, म र मतानको काजी उठ्यौं। तर, पल्लाघरका राम्जी जति घच्घच्याउँदा पनि उठेनन्। रिसले मैले उनका चाकमा दह्रो गरी चिमोटिदिएँ। उनी त बेलुकाको कुरा बिर्सिएर ‘को हो मलाई चिमोट्ने  मा.....मु.......’ गर्दै पो उठे। हामी पनि हिजोको सबै कुरा बिर्सिएर मरी–मरी हाँस्न थाल्यौं। त्यसपछि भने जाडोले सिउसिउ गर्दै नीलकमल साबुन बोकेर तिर्पालीका धारातिर नुहाउन हिंड्यौं।

यसरी माघे सङ्क्रान्ति हाम्रो जीवनसँग गहिरो गरी जोडिएको छ। विभिन्न नेपाली जातजातिगत संस्कृतिको अभिन्न अङ्ग भएर बाँचेको छ। तरुल, चाकु, घिउ, लड्डु, सेलरोटी, खिचडी आदि थरिथरिका खाने परिकारभित्रको मीठो स्वाद र सुगन्धमा निराकार भएर लुकेको छ। हाम्रा घर–आँगन, धारा–पँधेरा, धार्मिक, सांस्कृतिक महत्व बोकेका नदीका किनार, दोभान, त्रिवेणीधाम र अनेक देवालयहरूमा भक्ति, पुण्य र उत्सवको महिमा बोकेर सामाजिक एकता र सद्भावका साथ प्रकट हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.