भक्तपुर दरबार क्षेत्रभित्र स्कुल पुनर्निर्माणको साटो मन्दिर नै बनाउन जोड
भक्तपुर : जिल्लाको भक्तपुर नगरपालिका–२ यालाछेंस्थित भक्तपुर दरबार क्षेत्र परिसरमा शारदा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गर्न लागिएको भन्दै इतिहासविद् तथा संस्कृतिविद्सँगै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् ।
उनीहरुले भक्तपुर दरबार क्षेत्र परिसरका ९९ चोकमध्ये केही चोक रहेको उक्त क्षेत्रमा विद्यालय भवन पुनर्निर्माण स्वीकृति दिनु आपत्तिजनक भएको बताए । ‘भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने भन्दै आएको नगरपालिकाले शारदा माविलाई भवन पुनर्निर्माण गर्न स्वीकृति दिनु आश्चर्यको कुरा हो’, उनीहरुले भने, ‘पहिले त्यहाँ उत्खनन् गर्नुपर्छ, तत्काल भवन पुनर्निर्माण गर्न दिन हुन्न ।’
भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र परेका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, महानगरीय प्रहरी परिसर भक्तपुर, नेपाल स्काउट, भक्तपुर बारलगायतका भवनसमेत हटाउन पहल गर्नुपर्नेमा स्कुल भवन पुनर्निर्माण गर्न दिने निर्णय सच्याउनुपर्नेमा उनीहरुको जोड थियो ।
‘दरबार क्षेत्र उत्खनन् गर्ने भनेकाले जिल्ला अदालतले अन्तै नयाँ भवन बनाइसकेको छ’, उनीहरुले भने, ‘अरु सरकारी कार्यालयहरुलाई पनि स्थानान्तरण गर्दै लानुपर्छ तर अहिले स्कुल पुनर्निर्माण गर्न दिँदा ती कार्यालयहरु स्थानान्तरण भएर जान तयार हुँदैनन् ।’
भक्तपुर नगरपालिकाबाट ‘दबाब’ आउनसक्ने भन्दै ती इतिहासविद् तथा संस्कृतिविद्हरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका थिए ।
नारायण मन्दिरको जगमा स्कुल भवन !
शारदा माविको भवन बन्नुअघि त्यहाँ दुई तले प्यागोडा शैलीको नारायणको मन्दिर रहेको उनीहरु बताउँछन् । १९९० सालको भूकम्पमा उक्त मन्दिर भत्किएको थियो । धेरै वर्षसम्म पुनर्निर्माण नगरिएपछि मन्दिरको नारायणको मूर्तिलाई हनुमानघाटमा लगेर राखिएको उनीहरुको भनाइ छ ।
९० सालको भूकम्पमा भत्किएका तर पुनर्निर्माण नभएका धेरै मन्दिरका मूर्तिहरु अहिले पनि हनुमानघाट परिसरमा छन् । नारायणको मूर्ति पनि अझै हनुमानघाटमै छ । स्कुलको मुख्य प्रवेश द्वार नै त्यसबेला नारायण मन्दिरको प्रवेशद्वद्वार हो । अहिले पनि प्रवेशद्वद्वारको दायाँबायाँ एकजोडी सिंहका मूर्तिले पहरा दिइरहेका छन् । प्रवेशद्वद्वारको सामुन्ने लामो ढुंगे खम्बामा घुँडा टेकेर नमस्कार गरिरहेको गरुडको मूर्तिसमेत छ ।
यी सबै प्रमाणले स्कुल बन्नुअघि त्यहाँ नारायणको मन्दिर रहेको स्पष्ट हुँदाहुँदै भक्तपुर नगरपालिकाले करोडौं खर्चेर स्कुल भवन पुनर्निर्माण गर्न स्वीकृति दिएकोमा स्थानीय पुण्यराम सुवालले पनि आपत्ति जनाए ।
‘भग्नावशेषमाथि नै ०१३ सालमा शारदा माविको भवन ठड्याइएको थियो’, उनले थपे, ‘अहिले भवन पुनर्निर्माण गर्न जग खन्ने क्रममै पनि मन्दिरको भग्नावशेष फेला परेको छ । यी सबै प्रमाणलाई अनदेखा गरेर सम्पदा विलुप्त पार्न पाइँदैन । स्कुल भवन पुनर्निर्माण गर्न मिल्दैन ।’
नगरपालिकाले ०७२ सालको भूकम्पपछि भक्तपुर दरबार क्षेत्रभित्रको शारदा माविसँगै पद्म र विद्यार्थी निकेतन माविलाई अन्यत्र सार्ने भनेको थियो । उसले दरबार क्षेत्र उत्खनन् गर्नकै लागि यी तीनै स्कुललाई भूकम्पपछि भवन तथा संरचना बनाउन स्वीकृति दिएन । यी स्कुलले कक्षाकोठाको अभाव झेल्दै जेनतेन अध्यापन गराउँदै आएका थिए ।
नगरपालिकाले स्वीकृति नदिँदा यी विद्यालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विदेशी दातृ निकाय तथा विभिन्न संस्थाले भवन पुनर्निर्माण गरिदिन्छु भन्दा पनि सहयोग लिन पाएनन् । यसबाट स्थानीय, इतिहास तथा संस्कृतिविद्मा दरबार क्षेत्रको उत्खनन् हुनेमा ढुक्क भएका थिए तर हालै शारदा माविलाई भवन पुनर्निर्माण स्वीकृति दिएपछि निराश भएको उनीहरुले सुनाए ।
‘शारदा माविको भवन बन्नुअघि मन्दिर रहेको स्पष्टै छ । त्यसमा दुविधै छैन’, सम्पदा संरक्षण अभियन्ता एवं अधिवक्ता राजकुमार सुवालले भने, ‘त्यहाँ मल्लकालीन बौद्ध चैत्य अहिलेसम्म छ । यस्तोमा नगरपालिकाले स्कुलहरु अन्यत्रै सार्नुपर्छ ।’
यसअघि पुरातत्व विभागले पद्म माविमा उत्खनन् गर्दा मल्लकालीन दरबारको अवशेष फेला परेको थियो । त्यहाँ साततले बसन्तपुर दरबार रहेको थियो । जुन १८९० सालको भूकम्पमा भत्किएको थियो ।
‘तर शारदा मावि परिसरमा मन्दिरका सबै भाग नै बाँकी छन् । अहिले मन्दिरको भग्नावशेष नै फेला परेको छ’, अधिवक्ता सुवालले भने, ‘त्यसैले पहिले भने जस्तै नगरपालिकाले स्कुल अन्तै सार्नुपर्छ ।’
स्थानीयले भूकम्पमा क्षतिग्रस्त स्कुल भवनको अवलोकन गरेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अध्यक्ष नारायणमान बिजुक्छेलगायतले स्कुल सारेर दरबार क्षेत्र उत्खनन् गर्ने भनेको सुनाए । तर अहिले त्यही नेमकिपाबाट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु पार्टी अध्यक्षकै अभिव्यक्ति झूटो साबित गर्न लागिपरेको गुनासो गरे । उल्टै स्कुल भवन पुनर्निर्माण गर्न नेमकिपाकै संघीय सांसद र प्रदेश सांसदले सांसद विकास कोषबाट बजेट दिएको भन्दै उनले आक्रोश पोखे ।
‘नगरपालिकाले गल्ती गरे रोक्नुपर्ने प्रदेश र संघीय सांसदले नै सम्पदा क्षेत्रमा स्कुल पुनर्निर्माण गर्न बजेट दिए’, उनले थपे, ‘के नगरपालिका, संघीय र प्रदेश सांसदहरु नै सम्पदा मास्न उद्यत भएका हुन् ?’
शारदा माविको पुनर्निर्माण गर्न सांसद प्रेम सुवालले सांसद विकास कोषबाट २५ लाख रुपैयाँ दिएका छन् । प्रदेश सांसद सुरेन्द्रराज गोसार्इंले ४० लाख रुपैयाँ दिएका छन् । सांसद सुवालले नै पुनर्निर्माणको शिलान्यास गरिसकेका छन् । शिलान्यासमा प्रदेश सांसद गोसाईंसमेत सहभागी थिए ।
नगरपालिकाकी उपमेयर रजनी जोशी, वडा अध्यक्षहरु प्रेमगोपाल कर्माचार्य र हरिप्रसाद बासुकला पनि शिलान्यासमा सहभागी थिए । उनीहरुले आवश्यक परे पुन:भत्काउने सर्तमा भवन पुनर्निर्माण गर्न दिइएको दाबी गरे । तर स्थानीयले आवश्यक परे भत्काइने भवन करिब ३ करोड रुपैयाँ खर्चेर पुनर्निर्माण गर्न नहुने भन्दै आएका छन् ।
नगरपालिकाले विकल्प दिनुपर्छ : नकर्मी
पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मीले शारदा मावि परिसर भक्तपुर दरबार क्षेत्रकै भाग भएको स्पष्ट पार्दै नगरपालिकाले स्कुललाई विकल्प दिनुपर्ने बताइन् ।
नगरपालिकाले आवश्यक परे भत्काउने सर्तमा पुनर्निर्माण गर्न दिने स्पष्टीकरणसहित नक्सा पेस गरेपछि विभागबाट स्वीकृति दिइएको उनले जानकारी दिइन् । ‘शारदा मावि परिसर दरबार क्षेत्रकै भाग हो’, उनले भनिन्, ‘दरबार क्षेत्र उत्खनन् गर्ने हो भने नगरपालिकाले त्यहाँ पुनर्निर्माण गर्न दिनुहुन्न । विकल्प दिनुपर्छ ।’
उत्खनन्मा हाम्रो आपत्ति छैन : तुईतुई
शारदा माविका प्रधानाध्यापक रोशनराज तुईतुईले धेरै संघर्षपछि मात्र पुनर्निर्माण स्वीकृति पाएको सुनाए । उनले सम्पदा क्षेत्र भनेर स्कुल प्रष्ट भए पनि आफूहरुसँग अरु विकल्प नभएको बताए ।
‘भूकम्पपछि ५ वर्ष हामी भवनविहीन रह्यौं । धेरै संघर्षपछि अहिले पुनर्निर्माण हुने अवस्था आएको हो’, उनले भने, ‘तैपनि उत्खनन् गर्ने नै हो भने हामीलाई आपत्ति छैन । तर पुनर्निर्माण सुरु गर्नुअघि नै हुनुपर्यो ।’ उनले साबिक ठाउँमा बनाउन नदिने भए विकल्प दिन पटकपटक नगरपालिकाको ध्यानाकर्षण गरिएको सुनाए ।
तत्कालीन बडामहारानी रत्नले शिलान्यास गरेकी थिइन् भवन
उनका अनुसार २००९ सालमा स्थापित शारदा माविले ०१६ सालमा मात्र अहिले पुनर्निर्माण हुन लागेको भवन पाएको थियो । उनले उक्त भवनको शिलान्यास तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी शाहले ०१३ सालमा गरेको बताए । निर्माण सकिएपछि शाहले नै ०१९ सालमा उद्घाटन पनि गरेको उनले जानकारी दिए ।
‘स्थापनाकालमा भक्तपुर दरबार क्षेत्रमै रहेको पद्म हाइस्कुलमा कक्षा सञ्चालन गरिएको थियो’, प्रअ तुईतुईले भने, ‘०१९ सालमा मात्र स्कुलले भवन पाएको थियो । जुन ०७२ सालको भूकम्पमा क्षतिग्रस्त भयो ।’ विद्यालयले नेपाली मौलिक एवं परम्परागत शैलीअनुसार माटो जोडाइमा भवन पुनर्निर्माण गर्न लागेको हो ।
मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने तयारी
प्रअ तुईतुईले स्कुल भवन मल्लकालीन शैलीमा बनाउने स्पष्ट पारे । उनका अनुसार पुनर्निर्माण गर्न करिब एक करोड रुपैयाँ सहयोग गर्ने दाताहरु स्कुलसँग छन् । त्यसमाथि सांसद सुवाल र गोसार्इंले समेत रकम दिएपछि पुनर्निर्माण गर्न आफूहरु उत्साहित भएको उनी सुनाउँछन् ।
तीनतले भवनमा १४ कोठा हुनेछन् । तीमध्ये १० वटा जति कोठा अध्यापनका लागि र बाँकी कार्यालय, पुस्तकालय, प्रयोगशाला तथा लेखाका लागि प्रयोग गरिनेछ ।
स्कुलमा २ सय ५० विद्यार्थी छन् । तीन जना निजी स्रोतका सहित २५ जना शिक्षक रहेका छन् । कक्षा १२ सम्म पढाइ हुने स्कुलमा कक्षा ११ र १२ तर्फ मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायको अध्यापन हुँदै आएको छ ।
नगरपालिकाले स्कुल पुनर्निर्माणको स्वीकृति दिएसँगै भक्तपुर दरबार क्षेत्रमै रहेको पद्म र विद्यार्थी निकेतन माविले पनि पुनर्निर्माण प्रक्रिया अघि बढाएका छन् ।
भूकम्पले भत्काउनुअघिको शारदा माविको मुख्य भवन । तस्बिर :अन्नपूर्ण
मल्लकालीन शैलीमा पुनर्निर्माण हुने शारदा मावि भवनको डिजाइन । तस्बिर :अन्नपूर्ण
भूकम्पले भत्काएको विद्यालय शिलान्यास गर्न जग खन्दा भेटिएको मन्दिरको भग्नावशेष । तस्बिर :ईश्वरकाजी खाइजू
भक्तपुर शारदा मावि)
भक्तपुर शारदा मावि १)
भक्तपुर शारदा मावि २) शारदा मावि जाने मुख्य प्रवेशद्वार र द्वारको सामुन्ने रहेको ढुंगे स्तम्भमाथि गरुड तथा एकजोडी ढुंगाको सिंह । तस्बिर :ईश्वरकाजी खाइजू
भक्तपुर शारदा मावि ३) विद्यालय भवन बन्नुअघिको मन्दिरभित्र रहेको नारायण देवताको मूर्ति । हाल उक्त मूर्ति हनुमानघाटमा रहेको छ । तस्बिर :ईश्वरकाजी खाइजू
भक्तपुर शारदा मावि ४)
भक्तपुर शारदा मावि ५)
भक्तपुर शारदा मावि ६)