खोटोले फैलियो डढेलो

खोटोले फैलियो डढेलो

पोखरा : मनाङको जंगलमा लागेको डढेलो डेढ महिनासम्म निभेको छैन। मानव बस्तीसम्म नआउने गरी नियन्त्रण भने गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए।

‘गाउँतिर आगो आउन नदिन फायरल्यान्ड बनायौं’, लामिछानेले भने, ‘तल मस्र्याङ्दी नदी र माथि भीर भएको हुँदा आगो नफैलिएला भन्ठानेका छौं।’ लामिछानेका अनुसार डढेलो लागेको गाउँ चामे र नासों गाउँपालिकामा पर्छ, जुन अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हो।

एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार गुगल अर्थबाट गरिएको अनुमानअनुसार ७ सयभन्दा बढी हेक्टर जंगलमा आगो फैलिएको छ। चामे गाउँपालिकाको थानचोकबाट मंसिर ११ गते आगलागी भएको गौतमको अनुमान छ।

‘सुरुमा भुइँ सतहमा आगो लाग्यो। विस्तारै फैलिँदै गयो’, गौतमले भने, ‘सल्लोको जंगल हो। सल्लोको खोटो पेट्रोलझैं बल्छ। खोटो हुनाले नै डढेलो फैलिएको अनुमान गरेका छौं।’ उनले पातपतिंगर र जमिनमुनिको प्रांगारिक तत्वमा पनि आगलागी भएको सुनाए।

पछिल्ला ३–४ दिनमा सुरक्षाकर्मी, एक्यापकर्मी र स्थानीयको सक्रियतामा फायरल्यान्ड बनाएर गाउँतिर आगो जानबाट रोकिएको लामिछानेले बताए। उनका अनुसार नासों गाउँपालिकाको ताचै गाउँछेउ फायरल्यान्ड बनाएर उक्त गाउँ जोगाइएको हो। १ किमि लम्बाइ र १० मिटर चौडाइको फायरल्यान्ड बनाइएको छ। पातपतिंगर हटाई माटो खोतलेर फायरल्यान्ड बनाइएको उनले सुनाए। आगो लाग्ने चिजबिज हटाइएकाले अब गाउँतिर आगो आउन नसक्ने उनको भनाइ छ।

‘आगो निभिसकेको होइन, नियन्त्रण गरेर गाउँतिर आउन नसक्ने भएको हो’, एक्याप प्रमुख गौतमले भने, ‘तलतिर मस्र्याङ्दी नदी र माथिपट्टि भीर भएकाले आगो निभ्ला भन्ने आशा गरेका छौं।’ उनका अनुसार आगलागी भएको ठाउँ भीर र अग्लो ठाउँ हो। ‘आगो निभाउने अन्तिम विकल्प त हेलिकोप्टरै होला’, उनले भने।

आगलागीको कारण खुलेको छैन। घाँस–दाउराका लागि आगो लगाइएको हुन सक्ने लामिछानेले बताए। एक्याप प्रमुख गौतमका अनुसार पनि सिकार गर्न वा घाँसका लागि आगलागी गराइएको अनुमान छ। ‘तर अहिलेसम्म आगलागीबाट के कति जीवजन्तु मारिए भन्ने थाहा छैन’, उनले भने, ‘आगोले मरेका चराचुरुंगी वा जीवजन्तु पनि भेटिएका छैनन्।’ आगलागी भएको भाग जडीबुटी प्रशस्त पाइने ठाउँसमेत हो।

गौतमका अनुसार सल्लो र पातपतिंगर भएको जंगली इलाका झारल, घोरल, कस्तुरी मृग, हिउँ चितुवा र डाँफेलगायतको वासस्थान हो। तिनै जीवजन्तु सिकार गर्न कसैले आगो लगाएको हुन सक्ने अनुमान भए पनि अरु केही भेउ नपाइएको उनले सुनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.