क्षेत्री बेल्जियमका जनप्रतिनिधि
ब्रसेल्स : युरोपको राजधानीका रूपमा परिचित बेल्जियमको लुभेन नगरपालिकामा पहिलो पटक नेपाली मूलका नागरिक नगर सदस्यमा चयन भएका छन्। बेल्जियमको राजनीतिमा पहुँच राख्दै स्थानीय निकायमा प्रतिनिधित्व गर्ने अवसर पाउने पहिलो नेपाली कृष्णसगुन क्षेत्री हुन्।
विगतमा पनि नेपालीले संघीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवारी दिएका थिए। तर, नेपालीहरू निर्वाचित हुन सकेका थिएनन्। बेल्जियममा करिब तीन दशकदेखि नेपालीहरूको बसोबास सुरु भएको हो। नेपालमा पर्वतको जलजला गाउँपालिकामा जन्मिएका क्षेत्री सन् २००४ मा विदेश लागेका थिए। १० वर्ष नेदरल्यान्डमा रहेका उनी सन् २०१४ देखि बेल्जियमको ब्रसेल्ससँगै जोडिएको लुभेन नगरपालिकामा बस्दै आएका छन्। नेपालमा प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा लिएका क्षेत्री फ्ल्यान्डरेन क्षेत्रमा बोलिने डच भाषामा पोख्त छन्।
उनी श्रीमती सगुन केसी, छोरा अभियान र छोरी आर्यानासहित लुभेन नगरमा बस्छन्। उनी लुभेनका रेस्टुरेन्ट व्यवसायी हुन्। गत स्थानीय निर्वाचनमा बेल्जियमको राष्ट्रवादी पार्टीको रूपमा परिचित एनभीआबाट उम्मेदवार रहेका क्षेत्री सो पार्टीको उम्मेदवार सूचीमा सातौँ नम्बरमा थिए। एनभीआले ४७ सदस्यीय नगरपालिका परिषद्मा ११ सिट जितेको थियो।
पार्टीले ११ सिट जिते पनि उम्मेदवार सूचीको सातांै नम्बरमा रहेका क्षेत्री समानुपातिक चयन प्रक्रियामा वैकल्पिक सूचीमा एक नम्बरमा परेका थिए। सोसलिस्ट पार्टीहरूको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभीआ प्रमुख प्रतिपक्षीको भूमिकामा छ। उनको पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छाडेपछि क्षेत्री वैकल्पिकबाट स्वतः नगरपालिका सदस्य भएका हुन्। आगामी २५ जनवरीमा शपथग्रहण गरेपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गर्ने बताइएको छ।
क्याथोलिक विश्वविद्यालयमा प्रसिद्ध रहेको लुभेन नगरपालिका संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र हो। २ हजारभन्दा बढी नेपाली समुदायको स्थायी बसोबास रहेको यो क्षेत्र ज्ञान, विज्ञान र कला क्षेत्रमा युरोपको केन्द्र मानिएको छ। पछिल्लो पटक हरेक राजनीतिक पार्टीमा नेपालीले पकड जमाउन थालेका छन्।
गत निर्वाचनमा स्थानीय र प्रदेशसभातर्फ १२ जना नेपाली मूलका नागरिकले विभिन्न दलबाट उम्मेदवारी दिएका थिए। निर्वाचनमा क्षेत्री केवल १९ मतले पराजित थिए। एस्पीआबाट सूर्य ढकाल र पिभिढीआबाट वीरमान मगर झन्डै जितनजिक पुगेका थिए।